बुधबार, भाद्र ३ गते २०८३

चक्रिय कोष स्थापना गरी सरकारले पीडित बचतकर्तालाई रकम फिर्ता गर्ने


कार्तिक १९, २०८२ बुधबार
चक्रिय कोष स्थापना गरी सरकारले पीडित बचतकर्तालाई रकम फिर्ता गर्ने

सरकारले सहकारी संस्थाका पीडित बचतकर्ताहरुलाई स सानो बचत फिर्ता गर्ने उदेश्यले चक्रिय कोष स्थापना गर्ने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत चक्रिय कोष स्थापना गर्ने तयारी सरकारले गरेको छ । त्यसका लागि अर्थ मन्त्रालयले केहि रकम ऋणको रुपमा प्राधिकरणमा जम्मा गरिदिने र साना बचतकर्ताहरुलाई उक्त कोषबाट रकम फिर्ता दिने गरी प्रक्रिया अगाडि बढाउन लागिएको समस्याग्रस्त व्यवस्थापन समितिको कार्यालयका अध्यक्ष श्रीमण कुमार गौतमले जानकारी दिए । उनले एक ÷दुई लाखसम्मको बचत भएका सदस्यहरुलाई तत्कालको लागि राहत स्वरुप प्रदान गर्ने उदेश्यले उक्त कोष खडा गर्न लागिएको बताए ।

समस्याग्रस्त घोषणा  भएका सहकारी संस्थाहरुको सम्पत्ति विक्रि पश्चात उक्त कोषमा रकम जम्मा गरी सरकारलाई फिर्ता गर्ने गरी काम अगाडि बढाउने उनको भनाई छ । यसका लागि सरकारले समस्याग्रस्त व्यवस्थापन समिति र सहकारी प्राधिकरणसँग छलफल गरेको भन्दै उनले  अर्थले १ अर्ब ८० करोडको हारहारीमा ऋणको रुपमा दिने गरी प्रक्रिया अगाडि बढेको उल्लेख गरे । संघीय सरकारले समस्याग्रस्त घोषणा गरेको २३ सहकारी संस्थाका ३४ हजार सदस्यलाई उक्त कोषबाट स सानो रकम भुक्तानी दिन सकिने उनको भनाई छ । काठमाडौं आज भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले २३ मध्ये ३ वटा सहकारी संस्थाको बचत फरफारक गरी सकेको बताए । त्यसैगरी २० वटा सहकारी संस्थाका ७४ हजार सदस्यको ४४ अर्ब माग दावी रहेको उनको भनाई छ ।

गत बर्ष करिब ३ अर्ब ३४ करोड रुपैयाँ मिलान र बचत फिर्ता  गरिसकेको उनको भनाई छ ।  कार्यालयले ५६ हजार बचतकर्तालाई आंशिक रुपमा बचत फिर्ताको  प्रक्रिया अगाडि बढाएको छ । गत बर्ष ६ हजार बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गरिसकेको कार्यालयले जनाएको छ । अहिले भएको काननुमा तत्काल संशोधन गर्न आवश्यक रहेको भन्दै उनले त्यसको मस्यौदा तयार गरी मन्त्रालयलाई बुझाएको उल्लेख गरे । समस्याग्रस्त कार्यालयसम्म ममस्याग्रस्त घोषित सहकारी आइपुग्दा कंकाल मात्र आइपुग्ने गरेको उनले बताए । उनले सहकारीका सञ्चालकहरुले सम्पत्ति अन्य व्यक्तिको नाममा लुकाएको र कतिपय सम्पत्ति बैक तथा वित्तीय संस्थामा धितोको रुपमा राखेको हुनाले पीडित बचतकर्ताहरुलाई बचत फिर्ता गर्न स्रोतका अभाव भएको बताए । बचतकर्ताको रकम पूर्ति गर्न सक्ने गरी लिलामाको प्रक्रिया अगाडि बढाउन वित्तीय संस्थाहरुलाई आफुहरुले आग्रह गरेको उनले जानकारी दिए ।

यसका लागि अध्यादेशको रुपमा भए पनि सहकारी ऐन ल्याएर सदस्यहरुको बचत फिर्ता गर्ने वातावरण बनाइदिन उनको माग छ । कतिपय सहकारीका सञ्चालकहरुले श्रीमतिसँग सम्बन्ध विच्छेद गरेको र एका घरको परिवारसँग छुट्टि सकेका कारण उनीहरु अहिलेको कानुनको दायरा भित्र नरहेकाले सम्पत्ति तथा जायजेथा भेट्याउन नसेको उनले जनाए । उनले भने,‘ कानुन संसोधन गरी तीन पुस्ताको सम्पत्ति समेत कानुनको दायरभित्र ल्याउन सक्ने र डिभोर्स तथा  एकघरबाट छुट्टि भिन्दु भएकाहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ भनेर ऐनको मस्यौदा तययार गरी मन्त्रालयमा पठाएका छौं ।’