बुधबार, भाद्र ३ गते २०८३

लामोसाँघु साकोसले गर्याे सदस्यकै प्रतिफल बचत खातामा लाभांश जम्मा


कार्तिक १८, २०८२ मंगलबार
लामोसाँघु साकोसले गर्याे सदस्यकै प्रतिफल बचत खातामा लाभांश जम्मा

 

बलेफी गाउँपालिका–८ सिन्धुपाल्चोकमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको प्रतिफल बचत खातामा नै लाभांश जम्मा गरेको छ । संस्थाको १६ औं बार्षिक साधारण सभाबाट पारित भएको आर्थिक बर्ष २०८१/८२ को नगद लाभांश सेयर सदस्यहरुकै खातामा जम्मा गरेको संस्थाले जनाएको छ । संस्थाले गत आर्थिक बर्षको खुद बचतबाट सदस्यहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव हालै सम्पन्न साधारण सभाले पारित गरेको थियो । 

संस्थाले सदस्यहरुको सहजतालाई ध्यानमा राखेर क्षेत्रगत रुपमा साधारण सभाको आयोजना गरेको थियो । सदस्यहरुले दिएको सल्लाह सुझावालाई आधार बनाई यस आर्थिक बर्षको नीति तथा कार्यक्रम तयार गरी प्रमाणीकरण सभाबाट पारित गरेको संस्थाले जनाएको छ । 

संस्थाका अध्यक्ष पूर्णचन्द्र ढकालले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै करिव ४ हजार सदस्यको मन जित्न सफल भएका् बताए । उनले सदस्यहरुलाई बचत ऋणका साथै सामाजिक संस्कार खर्च, विपत राहत खर्च, सुत्केरी शिशु स्याहार खर्च र सदस्यहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको बताए । त्यसका साथै सदस्यहरुलाई सहकारीको महत्वको बारेमा जानकारी दिने उदेश्यले सदस्य अभिमुखिकरण जस्ता कार्यक्रम समेत आयोजना गरी सदस्यहरुलाई प्रशिक्षित गर्ने गरेको उनको भनाई छ । 

संस्थाले सदस्यहरुलाई आधुनिक प्रविधिको प्रयोग गरी वित्तीय सेवा प्रदान गर्ने उदेश्यले मोबाइल बैकिङ्ग,फन्ड ट्रान्सफर जस्ता सेवा समेत दिँदै आएको उनको भनाई छ । सञ्चालक र कर्मचारीको क्षमता विकास गर्ने उदेश्यले सहकारीका संघहरुले आयोजना गर्ने विभिन्न तालिमहरुमा संस्थाबाट सहभागी भई सीप विकासको कार्य पनि संस्था अगाडि रहेको उनले जानकारी दिए । संस्थाले ४ बर्षे रणनीतिक योजना तयार गरी अगाडि बढेको र संस्थागत लक्ष्य प्राप्तिमा संस्था लागि परेको उनको भनाई छ ।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी १ करोड ३२ लाख, संस्थागत पुँजी १ करोड ३९ लाख, बचत संकलन १७ करोड ३४ लाख ७९ हजार र ऋण लगानी १५ करोड ३९ लाख ऋण लगानी पुगेको अध्यक्ष ढकालले बताए । संस्थाले गत आ.ब.मा कुल सम्पत्तिमा २६.२९ प्रतिशतले वृद्धि गरी २१ करोड ५७ लाख पु¥याउन सफल भएको उनले जनाए । ऋणको समितिको तर्फबाट संयोजक कृष्ण बहादुर पराजुलीले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उत्पादनमुलक तर्फ कृषि तथा पशुपालन, समुहगत, वैदेशिक रोजगार, लघु उद्यम, औद्योगिक, लघुवित्त, व्यवसायिक र शैक्षिक क्षेत्रमा ऋण लगानी गर्दै आएको जनाए । त्यसैगरी अनुत्पादक क्षेत्र जस्तै आवास, घरजग्गा खरिद, खरखाँचो, हायर पर्चेज, कर्मचारी ऋण, आवधिक, सक्रिय र आकस्मिक ऋण शीर्षकमा लगानी गर्दै आएको उनले जानकारी दिए। 

लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संयोजक सरला सुवेदीले ऋण लगानी पूर्व सदस्यहरुलाई अधिकतम परामर्श दिन र भाखा नाघेको ऋणलाई न्युनिकरण गर्न सुझाइन् । त्यसका साथै युवा सदस्यहरुलाई लक्षित गरी संस्थाको बारेमा जानकारी दिन र संस्थाले सञ्चालनमा ल्याएको प्रविधिहरुको बारेमा समेत जानकारी दिन वित्तीय साक्षरता कार्यक्रमहरुलाई अगाडि बढाउन सुझाव दिइन् । 

lamo sagu 2.jpg