रामेछापकाे मन्थलीमा रहेकाे नवजागरण बचत तथा ऋण सहकारी संस्थाले २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ईकाइगत रुपमा साधारण सभा गरी संस्थाले आज प्रमाणिकरण सभा सम्पन्न गरेको हो ।
सभामा अध्यक्ष सोमेश थापाले विभिन्न आरोह अवरोह पार गर्दै संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि निर्माण गर्न संस्था सफल भएको जनाए । २०५५ सालमा टेकनपुर कार्यक्षेत्र राखेर स्थापना भएको संस्थाले अहिले कार्यक्षेत्र विस्तार गरी सदय र समुदायको आर्थिक, सामाजिक र साँकृतिक अवस्था रुपान्तरणमा टेवा पुर्याइरहेको उनले बताए ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव नारायणबहादुर कार्कीले आर्थिक वर्ष २०८१–८२ सम्ममा संस्थामा ९ हजार ८७ जना सदस्य पुगेको जानकारी दिए । आगामी वर्ष सदस्यता १० हजार माथि, शेयरपुँजी ५ करोड, बचत ६० करोड र ऋण लगानी ५० करोड पुर्याउने लक्ष्य रहेको उनले बताए ।
संस्थाका कोषाध्यक्ष भीमसेन थापाले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै गत आ.व.का असार मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड ३० लाख, बचत संकलन ५४ करोड १३ लाख तथा ऋण लगानी ३ करोड ५३ लाख रहेको जानकारी दिए । त्यस अवधिमा संस्थाले २४ लाख ६७ हजार मुनाफा आर्जन गरेको छ ।
संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक तारानिधि सुवेदीले समितिको प्रतिवेदन प्रस्तुत गर्दै नियमनकारी निकायहरुबाट जारी निर्देशन अनसार संस्थाको विनियम संशोधन गर्न, पल्र्स सूचकमा सुधार गर्न, ऋण लगानी वृद्धि गर्न सुझाव दिए ।
संस्थाले नियमित कारोबार गर्ने सदस्य तथा ज्येष्ठ सदस्यलाई सम्मान, सदस्यहरुलाई वित्तीय सेवाका साथै साक्षरता कक्षा, सहकारी अध्ययन भ्रमण, शेयर सदस्यका छोराछोरीलाई प्रोत्साहन गर्न छात्रवृत्ति तथा सामग्री वितरण लगायतका कार्य गर्दै आएको छ ।


नेपालपत्र संवाददाता