बुधबार, भाद्र ३ गते २०८३

न्यायाधिकरणद्वारा सहकारी संघसंस्थाको कर्जा असुली प्रक्रिया शुरू, के के चाहिन्छ कागजात

कार्तिक १७, २०८२ सोमबार
न्यायाधिकरणद्वारा सहकारी संघसंस्थाको कर्जा असुली प्रक्रिया शुरू, के के चाहिन्छ कागजात

सहकारी संघसंस्थाहरूको ऋण असुलीका लागि गठन भएको कर्जा असुली न्यायाधिकरणले आफ्नो काम थालनी गरेको छ । गत असार महिनामा काठमाण्डौको नयाँ बानेश्वरस्थित सहकारी विभाग परिसरमा स्थापना भएको न्यायाधिकरणले सहकारी संस्थाहरुको ऋण असुलीका लागि संरचनागत व्यवस्था गरी अगाडि बढेको हो । सहकारी संघसंस्थाहरुले पटकपटक प्रयास गर्दासमेत ऋणीबाट ऋण असुली गर्न नसकेको खण्डमा सो कार्यालयले असुलीका लागि सघाउने छ । 

कार्यालयको स्थापनासँगै सहकारी संघसंस्थाहरुले राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा ऐनले तोकेको राजश्व जम्मा गरी निवेदन दर्ता गर्न सक्नेछन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा कर्जा असुलि न्यायाधिकरण गठन गर्ने व्यवस्था गरिएको थियो । ऐनमा भएको व्यवस्था अनुसार गठित उक्त न्यायाधिकरण सहकारी संघ संस्थाले मागदावीको शुण्य दशमलब २५ प्रतिशतले हुन आउने रकम दाखिला गरी कार्यालयमा निवेदन दिन सक्नेछन् । सहकारी संघसंस्थाहरुले ऋण असुलीमा समस्या झेलिरहेको अवस्थामा न्यायाधिकरणको स्थापनासँगै ऋण असुलीमा सहयोग पुग्ने भएको छ । 

सहकारी संस्थाकाे तर्फबाट निवेदकले उजुरी निवेदन मुद्दा दर्ता गर्दा पुर्याउनुपर्ने प्रक्रियाः

  • सहकारी संस्थाले ऋणीलाई मुद्धा चलाउने सम्बन्धमा गरेको निर्णयको प्रतिलिपि,
  • मुद्दा दर्ता गर्न संचालक समितिबाट अख्तियारी दिएको निर्णयको प्रतिलिपि,
  • निवेदन / उजुरी कर्जाको म्यादको भाखा / म्याद नाघको १ वर्षपछिको चार वर्षभित्र दिनुपर्ने,
  • सहकारी संस्थाले उठाउन गरेको देखिने कागजातहरु जस्तैः पत्राचार गरेको र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेको हुनुपर्ने,
  • कर्जा लगानी गर्नु भन्दा अघि गरेको निवेदन, कर्जा आवेदन फाराम, कर्जा लगानी गरेको स्टेटमेन्ट लगायतका कागजातहरुको स्पष्ट बुझिने छायाँप्रति (फोटो कपी) र ऋण वा व्यक्तिगत जमानीकर्ताको नागरिकताको छायाँप्रति,
  • उजुरी निवेदनको ढाँचा अदालती ढाँचामा वा कर्जा असुली न्यायाधीकरणले तोकेको ढाँचामा हुनुपर्नेछ,
  • उजुरी निवेदनको सफ्ट कपीको फन्ट यूनिकोडमा भएको हुनुपर्ने र सफ्ट कपी को प्रति यस न्यायाधीकरणको कम्प्युटर अपरेटर शाखामा अनिवार्य दर्ता गराउनु पर्नेछ,
  • उजुरी निवेदन दर्ता गर्दा माग दावी गरेको रकमको ०.२५% (शुन्ना दशमलव दुई पाँच प्रतिशत) ले हुन आउने रकम कर्जा असुली शुल्क बापत अग्रिम रुपमा बुझाउनु पर्नेछ ।
  • सहकारी संस्था दर्ताको प्रमाण पत्रको छायाँ कपी र अन्य आवश्यक कागजातहरु ।