शुक्रबार, कार्तिक ७ गते २०८३

यो रुम्जाटारको कोदाको पिठो निर्गुनको दाउन / धर्म र कर्म गुरूङ्ले गरे छक्परे बाहुन


कार्तिक १३, २०८२ बिहीबार
यो रुम्जाटारको कोदाको पिठो निर्गुनको दाउन / धर्म र कर्म गुरूङ्ले गरे छक्परे बाहुन
सन्त ज्ञानदिल दास (बि.सं. १८७८–१९४०) जंगबहादुर कालिन नेपालका जोसमनी मतका चर्चित साधु, कवि, लेखक एवं सामाजिक जागरणका अभियन्ता थिए । कथित ‘तल्लोजात’ प्रति उनको विशेष सहानुभूति थियो। जोसमनी मत कर्मकाण्डको विरोध गर्ने, जातपात नमान्ने र मूर्ती पूजाको निन्दक निर्गुण ब्रम्ह' पन्थ हो । 'निर्गुण' अर्थात 'निर्गुण ब्रम्ह' भनेको निराकार इश्वर हो ।
 
फिक्कल–इलामको ब्राम्हण परिवारमा जन्मेका यिनको जन्मको नाम श्रीकृष्ण लामिछाने थियो । यिनले आफ्ना रचनाहरूद्वारा त्यो बेलाको जातिभेद, लैंगिक हिंसाजस्ता विकृतिको निन्दा र विरोध गरेका थिए । यिनका सबैजसो रचनाहरू झ्याउरे लयमा छन् । करिब ५७ वटा भजन, श्लोक आदि सबै कृति तत्कालीन समाजमा जागरण भर्ने खालका छन् । सन्त ज्ञानदिल दास यिनै भजन र श्लोक गाएर गाउँगाउँ पुग्थे।
 
बि.सं. १९३४ मा दार्जिलिङ्गमा रचना गरेको उनको ‘उदयलहरी’ पुरातन नेपाली समाजमा निकै लोकप्रिय सामाजिक जागरणको काब्य थियो । वेद र पुराणजस्ता धर्मग्रन्थहरूको पनि यिनलाई गहिरो ज्ञान थियो । समाजको अन्याय र अत्याचारका बिरूद्ध जागरण फैलाएको आरोपमा यिनलाई राणा शासनले रुम्जाटारबाट गिरफ्तार गरी काठमाडौँको जमलमा छः महिना बन्दी बनायो । तत्कालीन शासकलाई त्यही कालमा पश्चिम गोरखामा चलेको लखन थापाको विद्रोहसँग यी सन्तको कुनै साँठगाँठ छ कि भन्ने आशंका थियो ।
 
त्यस्तो कुनै प्रमाण भेटिएन । उल्टै पक्राउका कारण जनतामा झन् ठूलो हलचल मच्चिएको थाहा पाएपछि यिनलाई हात लिन जंगबहादुरले विर्ताको प्रलोभन देखाए । तर उनले, “हामीजस्ता फकीरका लागि विर्ताको के काम ? साधुका लागि सम्पूर्ण संसार नै विर्ता हो” भनेर विर्ता अस्विकार गरिदिए र भने “यदि सरकारलाई केही दिने इच्छा छ भने म नेपाल राज्यमा निर्विघ्न जोसमनी मतको प्रचार गर्न पाऊँ ।” जङ्गबहादुरले उनलाई सेतो ध्वजा निशान र नगरा सहित सेनाको एक टुकडी समेत लगाएर काभ्रेको साँगासम्म पुर्र्याउन लगाए ।
 
उनले रुम्जाटारको गुरूङ् गाउँमा आफ्नो आश्रम राखेका थिए । तर उनको निधन १९४० कार्तिक २५ गते भारतको सिक्किमस्थित गेजिङ्गमा भयो । यिनको सामाजिक जागरण अभियान त्यो बेलाको निकै ठूलो विद्रोह मानिन्थ्यो।
 
उपरोक्त श्लोक ज्ञानदिलजीको ‘उदयलहरी’ बाट लिइएको हो :
"यो रुम्जाटारको कोदाको पिठो निर्गुनको दाउन ।
धर्म र कर्म गुरूङ्ले गरे छक्परे बाहुन ।
हिराकाे दर्वार सुनगरिपरवर छक्परे बाहुन ।।"