शुक्रबार, कार्तिक ७ गते २०८३

सीटीसी मलका सरोकारवालालाई ३० दिनभित्र सम्पर्कमा आउन समितिको आग्रह


कार्तिक १२, २०८२ बुधबार
सीटीसी मलका सरोकारवालालाई ३० दिनभित्र सम्पर्कमा आउन समितिको आग्रह

काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गत सहकारी तथा गरिबी निवारण मन्त्रालयको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिबिल स्टेट्स प्रा.लि. (सीटीसी मल) मा व्यापारव्यवसाय गर्ने र कर्जा लगानी गरेका सरोकारवालालाई ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।

समितिले बुधबार प्रकाशित सार्वजनिक सूचनामार्फत सिभिल स्टेट्ससँग सम्बन्धित सम्पत्तिको व्यवस्थापन र भुक्तानी सुनिश्चितता प्रक्रियाका लागि सरोकारवालाहरुलाई निर्धारित समयसीमाभित्र आफ्नो हकहित सम्बन्धी विवरण पेश गर्न अनुरोध गरेको हो।

बागमती प्रदेश सहकारी ऐन, २०७६ को दफा ७१ को उपदफा (३) बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सम्पत्ति, दायित्व तथा शेष व्यवस्थापनका लागि सिभिल स्टेट्स प्रा.लि.को नाममा दर्ता रहेको व्यापारिक भवनसम्बन्धी  विवरणसमेत सार्वजनिक गरेको छ।

६ राेपनी क्षेत्रफलमा निर्माण भएकाे ११ तले भवनमा विभिन्न प्रकृतिका कार्यालय र व्यवसाय रहेका छन् । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक तथा परिवारका सदस्यले बचतकर्ताकाे रकम दुरूपयाेग गरी विभिन्न व्यवसायमा लगानी गरेकाे पाइएकाे छ । समितिले साे भवनबाट प्राप्त हुने रकम बचतकर्ताकाे बचत फिर्ता गर्न प्रयाेग हुने भएकाले सहयाेग गरिदिन सम्बन्धितसँग अपील गरेकाे छ। 

सूचनामा भनिएको छ, “सिभिल स्टेट्स प्रा.लि.मा व्यवसाय गर्ने वा कर्जा लगानी गरेका सबै व्यक्तिहरूले आफ्नो कारोबार, लगानी र भुक्तानी सम्बन्धी सम्पूर्ण विवरणसहित ३० दिनभित्र समितिसँग सम्पर्क गरी आवश्यक प्रमाण पेश गर्नुपर्नेछ।”