बुधबार, भाद्र ३ गते २०८३

क्वान्टम थ्योरी : सम्भावना र अनिश्चितताको राजनीतिक दर्शन


कार्तिक ११, २०८२ मंगलबार
क्वान्टम थ्योरी : सम्भावना र अनिश्चितताको राजनीतिक दर्शन

✍️ महादीप पोखरेल 

विश्व राजनीतिक दर्शनले अब विज्ञान र दर्शनबीचको सीमारेखालाई पुनर्विचार गर्न थालेको छ।भौतिकशास्त्रको क्वान्टम सिद्धान्तले देखाएको संसार, जहाँ सबथोक सम्भावनाको तरङ्गमा नाचिरहेको छ, अब केवल विज्ञानको कुरा रहेन। यो सोच अब दर्शन, समाजशास्त्र र राजनीति भित्रसम्म प्रवेश गरेको छ।
यस सन्दर्भमा, क्वान्टम थ्योरी वा मार्क्सवाद सम्म भन्न सकिने नयाँ दृष्टिकोण बारे बहस छ।नेपालमा बिशेशगरि नेत्र बिक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी ,नेपालले यो बहस सतहमा ल्याएको छ। 
जहाँ मार्क्सवादको ऐतिहासिक भौतिकवाद र क्वान्टमको अनिश्चितता र सम्भावनाको दृष्टि बारे छलफल गरिन्छ।
निर्धारणवादको जरो माथि प्रश्न :- 

मार्क्सवादी दर्शनले समाजको रूपान्तरणलाई “ऐतिहासिक आवश्यकता”का रूपमा व्याख्या गर्छ।
वर्गसंघर्ष, उत्पादन सम्बन्ध र शक्तिको सन्तुलनले समाजवाद र साम्यवादको बाटो खोल्छ भन्ने धारणा त्यसको केन्द्र हो।
तर यही निर्धारणवादी सोच कहिलेकाहीँ कठोर र अपरिबर्तनिय  लाइन जस्तो बनेको छ। जसले परिवर्तनलाई अनिवार्य “क्रम”को रूपमा बुझ्छ,तर सम्भावनाको “तरङ्ग”का रूपमा होइन।इतिहासले भने भन्छ भने , क्रान्ति कहिल्यै सीधो रेखामा हिँड्दैन।
कहिले अगाडी ,कहिले पछाडी ,दायाँबायाँ ,सानो-ठुलो घटना, कहिले फुट र एकता , कहिले सांस्कृतिक पुनर्जागरण आदि-इत्यादी ।यिनै “अनिश्चित” तर अनिवार्य शृङ्खला  बीचबाट नयाँ यथार्थ जन्मिन्छ। 

क्वान्टम दृष्टिकोण र राजनीतिक रूपान्तरण 

क्वान्टम सिद्धान्त भन्छ - कुनै पनि वस्तु तबसम्म निश्चित हुँदैन जबसम्म त्यसलाई मापन गरिँदैन। कणहरू एकैपटक धेरै सम्भाव्य अवस्थाहरूमा रहन्छन्,र परिस्थिति अनुसार ती सम्भावनामध्ये एउटा मात्र वास्तविक बन्छ।
राजनीति पनि त्यस्तै हो, कुनै आन्दोलन वा विचार एकैपटक धेरै सम्भावित बाटोमा रहन्छ।संसदीय उपयोग वा संघर्ष , सडक आन्दोलन, सांस्कृतिक पुनर्जागरण, वा सशस्त्र संघर्ष। परिस्थिति, वर्गसंघर्ष  र जनचेतनाको "मापन" पछि कुन साधन उपयुक्त हुन्छ,कार्यान्वयन हुनुपर्छ । 

संसदीय बाटो : सम्भावना र अनिश्चयको बाटो ??
कम्युनिस्ट आन्दोलन भित्र कहिलेकाही यस्तो प्रश्न उठाइन्छ, के संसदीय बाटोबाट समाजवादमा पुग्न सकिन्छ ? प्राय गरेर कम्युनिस्टहरुले यथास्थितिको भण्डाफोर गर्न संसदको उपयोग गर्छन, तर अहिले नेपालमा यही नै मूलबाटो हो कि झै गरिएको छ।
मार्क्सवाद भन्छ — संसदीय बाटो “सुधारवाद” हो, जसले वर्गीय सत्ता ढाल्न सक्दैन।तर क्वान्टम दृष्टिले भन्छ, राजनीतिमा पनि वास्तविकता स्थिर होइन, सम्भावनाको क्षेत्रमै  रहन्छ। 

एउटा उदाहरण द्वारा अलिक स्पष्ट गर्न चाहन्छु । जस्तै पानी, जसको रासायनिक संरचना H₂O नै रहन्छ,तर तापक्रम अनुसार याे बरफ, तरल वा बाफ बन्न सक्छ — त्यस्तै समाजवादी उद्देश्य स्थिर रहँदै पनि, त्यसमा पुग्ने बाटो समय, स्थान र सन्दर्भ अनुसार रूपान्तरण हुनसक्छ।पानीको स्वरुप के हुने भन्ने बारे सम्भावना र अनिश्चयका दुबै पाटा छन। तर अणु भित्र हाइड्रोजनको दुईवटा परमाणु र अक्सिजनको एउटा परमाणुको संयोजन भएर मात्र पानीको एउटा अणु बन्ने प्रक्रिया निश्चित छ,अरु कुनै सम्भावना नै छैन।
यही ठाउँमा सावधानी पनि जरुरी छ। संसदीय बाटोलाई केवल “संभावना” र "अनिश्चय "भनेर मान्दा ठहरिँदा, वर्गीय सत्ताको मूल द्वन्द्व बिर्सिने हुन्छ र त्यही नै मार्ग वा मूलबाटाे जस्तो लाग्छ। अन्ततोगत्वा क्रान्तिको दिशा निश्चित रुपमा हराउँछ। संसदीय बाटो बाटै समाजबाद भन्दा एमाले र माके (प्रचण्ड ) हराएका छन भने त्यस्मा कम्युनिस्ट पार्टी ,नेपाल ( बिप्लब ) पनि हराउने सम्भावना दह्रो भएर आएको छ। वहाँहरुको क्वान्टम राजनीतिको बुझाई र अभ्यास गलत छ भन्ने लागेको छ।जसरी पानीको  रासायनिक संरचना H₂O भन्दा बाहिर बाट यस्को सृष्टि हुनसक्दैन,केवल यस्को अवस्था अनिश्चित ( तरल,ग्यास ,ठोस) हुन्छ।त्यस्तै आन्दोलनको स्वरुप कहिलेकाही संसद ,शान्तिपूर्ण सडक संघर्ष हुनसक्छन् ,तर संसदीय प्रणाली समाजबादमा पुग्ने बाटो हुनसक्दैन। 

निष्कर्श :-
क्वान्टम सोचले राजनीति कार्यनीति लचिलो र खुला राख्न सघाउँछ, आन्दोलनको बहुस्वरुप अपनाउन बाटो दिन्छ, यो सकारात्मक हो। सँगसँगै यसले निश्चित र सुस्पष्ट राजनीतिक दृष्टि (clarity) हराउने सम्भावना पनि बोकेको छ। अनिश्चितता र सम्भावनाबीचको द्वन्द्वमा ।
यसमा हामीले कुन सम्भावना “सक्रिय गर्ने” भन्ने जिम्मा राजनीतिक चेतनाले लिनुपर्छ। रणनैतिक उद्देश्य बिर्सन हुदैन र असक्षमताको बहाना बनाउनु हुदैन। यस्लाई  मार्क्सवादी दर्शनकै बिकासक्रमको रूपमा ग्रहण गर्न सकिन्छ र गर्नुपर्दछ।