आइतबार, आश्विन १८ गते २०८३

जेनजी आन्दोलनले बागमतीमा ८९ करोडको क्षति


आश्विन २७, २०८२ सोमबार
जेनजी आन्दोलनले बागमतीमा ८९ करोडको क्षति

बागमती प्रदेशको प्रशासनिक राजधानी हेटौंडामा जेनजी आन्दोलनको एक महिना बितिसक्दा पनि जलेर खरानी भएका सरकारी भवन, सवारीसाधन र कार्यालय सामग्री अझै पनि यथावत अवस्थामा रहेका छन्।

आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूको पुनःस्थापनामा प्रदेश सरकारले अझै स्पष्ट रणनीति बनाउन सकेको छैन। मुख्यमन्त्री कार्यालयदेखि प्रदेशका विभिन्न मन्त्रालयहरू रहेको हेटौंडा–१ र २ स्थित भवनहरू अहिले सुनसान छन्। चोकबाट झ्यालबाट नियाल्ने सर्वसाधारणबाहेक, कर्मचारी र सेवाग्राहीको उपस्थिति देखिँदैन।

चौकीटोलको पाँचतले भवन, प्रदेशसभा हल, सामाजिक विकास मन्त्रालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवनहरू अहिले खरानी र भग्नावशेषमा परिणत भएका छन्।आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार आन्दोलनका क्रममा बागमती प्रदेशभर ८९ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जसमा ६० वटा सरकारी भवन, १९५ वटा सवारीसाधन र कार्यालयका सामग्रीहरू ध्वस्त भएका छन्  । मकवानपुर जिल्लामात्रै ४० सरकारी संरचनामा क्षति पुगेको छ, जसमध्ये १७ वटा पूर्णरूपमा नष्ट भएका छन्।