बुधबार, भाद्र ३ गते २०८३

जेनजी आन्दोलन प्रभावित व्यवसायीलाई आयकर र भ्याट कट्टी सुविधा दिइने

आश्विन २३, २०८२ बिहीबार
जेनजी आन्दोलन प्रभावित व्यवसायीलाई आयकर र भ्याट कट्टी सुविधा दिइने

 आन्तरिक राजस्व विभागले जेनजी आन्दोलनका क्रममा   प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूलाई कर सहुलियत र सुविधा दिने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी गरेको निर्णय राजपत्रमा प्रकाशित गरेपछि विभागले यो जानकारी गराएको हो।

सरकारले करदाताहरूलाई विशेष गरी राष्ट्रिय पुनःनिर्माण कोषमा योगदानमा खर्च कट्टी र नोक्सान भएको व्यापार मौज्दातमा कर कट्टी गरी दुई प्रकारका कर सहुलियतहरू उपलब्ध गराएको छ । विभागका अनुसार कुनै पनि व्यक्तिले आर्थिक वर्ष २०८२/०८३ मा नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय पुनःनिर्माण कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न दिइनेछ। 

त्यसैगरी जेनजी आन्दोलनका क्रममा क्षति पुगेका वा नोक्सान भएका उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूको व्यापार मौज्दातको बीमा नभएको हकमा विशेष सहुलियत दिइएको छ। प्रभावित करदाता स्वयंले सर्जमिन मुचुल्का सहितको मूल्याङ्कनको आधारमा नोक्सान भएको मौज्दातलाई सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा जानकारी गराई खर्च कट्टी गर्न पाउनेछन्। यो नोक्सानलाई आयकर ऐन, २०५८ बमोजिम व्यापार मौज्दातको लागत खर्च कट्टी र मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम कर कट्टी लिन सकिने सुविधा उपलब्ध गराइएको छ।