बुधबार, भाद्र ३ गते २०८३

प्रतिष्ठाबिना स्वतन्त्रता हुँदैन,न्यायबिना प्रतिष्ठा पाईँदैन र स्वतन्त्रताबिना कोही मुक्त मानव हुनसक्दैन : प्याट्रिस लुमुम्बा


आश्विन २२, २०८२ बुधबार
प्रतिष्ठाबिना स्वतन्त्रता हुँदैन,न्यायबिना प्रतिष्ठा पाईँदैन र स्वतन्त्रताबिना कोही मुक्त मानव हुनसक्दैन : प्याट्रिस लुमुम्बा
प्याट्रिस एमरी लुमुम्बा (१९२५–१९६१) अफ्रिकी मुलुक कङ्गोका स्वतन्त्रता नायक र पहिलो निर्वाचित सरकारप्रमुख हुन् । कंगोलाई बेल्जियमबाट स्वाधीन गराउनमा लुमुम्बाको सर्बोच्च भूमिका थियो । तर १९६० मा कंगोले स्वाधीनता हासिल गरेको ३ महिना नबित्दै कंगो संकटले नामुद अवधिमा लुमुम्बाको सरकारलाई काटाङ्गन पृथकतावादी विद्रोहीहरूबाट अपदस्थ गरियो । लुमुम्बाले सोभियत संघको सहयोगका लागि गुहार मागेका थिए । यसले गर्दा राष्ट्रपति जोसेफ कासाबुबु र प्रधानसेनापति जोसेफ डिजाएरे मोबुतुसँग पनि सम्बन्ध टाढियो । अन्तःत लुमुम्बालाई गिरफ्तार गरी फाँसी दिइयो ।
 
प्याट्रिस लुमुम्बाको सम्झनामा तत्कालीन सोभियत संघले मास्कोमा उनकै नामको विश्वविद्यालय नै स्थापना गर्यो । मैले पहिलोपटक उनको नाम सुनेको धेरै वर्षअघि इटहरी चोकैमा काठको चारतले घरमा एउटा रेस्टुरेन्ट थियो "योरुपा होटल" । त्यसमा एउटा क्याराम बोर्डमा पेन्टरलाई लेखाएर "प्याट्रिस लुमुम्बालाई पत्र" शीर्षकमा चिठीलाई मार्मिक कविताको रुपमा टाँगिएको थियो । सबै कविता त बिर्सिइयो, त्यसको पहिलो हरफ मा लेखिएको थियो, "मेरो रगतले कांगो देश नै ब्युँझिन्छ भने / म किन कासा बुबुसँग क्षमा मागुँ ? / मेरो समर्पणमा साथीहरु मर्न तयार छन् भने / म कसरी बेइमानी गरुँ......" इत्यादि । कविता, धरानका कवि मानबहादुर शाक्यले रचेका रहेछन् । पछि मेरा आदरणीय काका नारायण गौतमले रुसबाट इन्जिनियरिंग पढेर आएपछि लुमुम्बाको बारेमा धेरै कुरा थाहा भयो ।
 
उक्त भनाई लुमुम्बाले बन्दी अवस्थामा आफ्नी पत्नीलाई लेखेको पत्रमा उल्लेखित छ । उक्त पत्र ‘उपनिवेशवादीहरूको राक्षसी अपराधबारेको सत्य’ (Patrice Lumumba, The Truth about a Monstrous Crime of the Colonialists) नामक पुस्तकको पृ. २३०–३१ मा उल्लेखित छ, जुन पुस्तक मास्कोको विदेशी भाषा प्रकाशन गृहद्वारा १९६१ प्रकाशित भएको थियो । यो संसार हल्लाएको पत्र थियो त्यो–
" Without dignity there is no liberty, without justice there is no dignity, and without independence there are no free men."