बुधबार, भाद्र ३ गते २०८३

बढ्दो बाह्य हस्तक्षेप र राष्ट्रिय संकट अन्त्यको बिकल्प


आश्विन १७, २०८२ शुक्रबार
बढ्दो बाह्य हस्तक्षेप र राष्ट्रिय संकट अन्त्यको  बिकल्प

पृष्ठभूमि

हाम्रो देश नेपाल, हिमालयको काखमा अवस्थित प्रत्यक्ष उपनिवेशमा जानु नपरेको एक स्वतन्त्र राष्ट्र रहँदै आएको प्राचीन देश हो । यद्यपि हाम्रो यो देश पनि अर्ध उपनिवेश र नब उपनिवेशनको शिकार हुनबाट भने जोगिन सकेन । त्यसैले अहिले एक्कासों शताब्दीमा पुगेर यो देश नब उपनिवेशबादी पिजडामा परेर छटपटाइरहेको छ ।  यथार्थतः आजको यथार्थमा नेपाल ती ढुंगाबीच च्यापिएको तरुल मात्र नभई, ती ढुंगाहरूको दबाबका अतिरिक्त अझ परको राष्ट्रको प्रभूत्व र हस्तक्षेका कारण चुँडिन लागेको राष्ट्रझैं देखिन्छ। पछिल्लो राष्ट्रिय परिघटनाले पन िबाह्य शक्तिहरूको बढ्दो हस्तक्षेप र नेपाली शासकहरूको आत्मसमर्पणबादी प्रवृत्तिले गर्दा देशको अस्तित्व र स्वाधीनता नै समाप्तिको संघारमा पुर्याएको अत्यन्तै गम्भीर अबस्था छ।

बाह्य हस्तक्षेपको स्वरूप

नेपालको भूराजनीतिक तथा महत्वपूर्ण रणनीतिक अवस्थितिले यो देशलाई सधैं शक्तिशाली राष्ट्रहरूको चासोको केन्द्र बनाएको छ। भारत, चीन तथा अमेरिका लगायतका पश्चिमा राष्ट्रहरूले नेपालमा आफ्नो प्रभाव विस्तार गर्न विभिन्न माध्यम अपनाएका छन्—सहयोग, परियोजना, सन्धि, र रणनीतिक साझेदारी जस्ता कुरा यसका उदाहरणहरू हुन् । भारतसँगको १९५० को सन्धिले नेपाललाई परनिर्भर बनाएको छ। खुला सीमा, असमान व्यापार सम्झौता, र सांस्कृतिक अतिक्रमणले नेपालमा भारतीय प्रभाव गहिरो बनाएको छ। चीनले पनि बेल्ट एण्ड रोड इनिसिएटिभ (द्यच्क्ष्) मार्फत नेपालमा आफ्नो रणनीतिक पकड बनाउँदैछ। अमेरिका, इण्डो–प्यासिफिक रणनीति र एमसीसी परियोजनामार्फत नेपाललाई चीन बिरूद्ध आफ्नो रणनीतिक कित्तामा उभ्याउने प्रयासमा जोडतोडले लागेको छ ।

यी परिदृष्यहरू केवल आर्थिक वा विकासका नाममा सीमित छैनन्; तिनीहरूले नेपालको नीति निर्माण, सुरक्षा रणनीति, र राष्ट्रिय पहिचनमा समेत प्रभाव पारिरहेका छन्। विदेशी दूतावासहरूको परोक्ष प्रत्यक्ष सक्रियता, विदेशी संस्थाहरूको नीति निर्माणमा संलग्नता, र विदेशी लगानीको नाममा राष्ट्रिय सम्पत्तिको दोहनले नेपाललाई एक परनिर्भर राष्ट्र बनाउँदै लगेको छ। यस सन्दर्भमा कुन देशको सहयोगले नेपाललाई के कस्तो प्रभाव पारेको छ ? परनिर्भरततिर धकेलेको छ कि आत्मनिर्भर बन्न मद्दत गरेको छ गहिरो गरी केलाउनु पर्ने आबश्यकता छ ।

सत्ताका लागि नेपाली शासकहरूको आत्मसमर्पण

बाह्य हस्तक्षेपको मूल कारण आन्तरिकरूपमा नेपाली नेतृत्वको लम्पसारवादी चरित्र हो भने बाह्य रूपमा उनिनवेशबादी नब उपनिवेशबादी शक्ति राष्ट्रहरूका स्वार्थ हो । सत्तामा पुग्न र पुग्ने बित्तिकै नेताहरू राष्ट्रिय हित बिपरीत विदेशी शक्तिप्रति झुकाव राख्छन्। उनीहरूको प्राथमिकता राष्ट्र होइन, सत्ताको संरक्षण र व्यक्तिगत लाभ हुने गरेको सत्य कतै लेकेको छैन । बाह्य सम्वन्धको मूल आधार राष्ट्रिय हित र बिकास सहयोगी बातावरण बनाउनका लागि केन्द्रित हुनु पर्ने हो र हुनुपर्दछ । तर त्यसो भइरहेको छैन । कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता अतिक्रमित भूभागमा भारतले नक्सा जारी गर्दा पनि सरकार मौन रहन्छ।राष्ट्रियता र स्वाधीनताको पक्षमा आवाज उठाउने जनतालाई ‘अराजक’ भनिन्छ, तर विदेशी दबाबमा राष्ट्रघाती सन्धिहरूमा हस्ताक्षर गर्न हिचकिचाइँ गरिँदैन। नागरिकता विधेयकमार्फत गैरनेपालीलाई नागरिकता दिने प्रयास, विदेशी परियोजनाहरूलाई बिना छानबिन स्वीकृति दिने प्रवृत्ति, र राष्ट्रिय मुद्दामा मौनता—यी सबै आत्मसमर्पणका उदाहरण हुन्। शासकहरू राष्ट्रको पहरेदार होइन, विदेशी स्वार्थका प्रतिनिधि झैं व्यवहार गरिरहेका छन्। यी सबै कारणाले नेपालका शासकहरूको राष्ट्रिय चरित्र नै सन्दगध्द र अबिश्वसनीय बन्दै गएको र राष्ट्र कमजोर भएर गएको छ ।

अस्तित्व र स्वाधीनतामा संकट

यस प्रकारको परनिर्भर र अकुशल सन्दिग्ध चरित्रले गर्दा नेपालको अस्तित्व र स्वाधीनता नै गम्भीर संकटमा छ । यो  केवल भौगोलिक सीमामा मात्र सीमित छैन; यसको पहिचान, संस्कृति, भाषा, र आत्मसम्मानका आधारहरूसम्म पनि यो फैलिएको छ। त्यसले गर्दा  आज ती सबै पक्षहरू संकटमा छन्। यसरी हाम्रो राष्ट्रिय अस्तित्व र स्वाधीनतामाथि ठूलो खतरा मडारिइरहेको छ ।

विदेशी संस्कृतिको अन्धानुकरणले नेपाली भाषा, पोशाक, र परम्परा ओझेलमा परेका छन्। शिक्षा प्रणालीमा विदेशी पाठ्यक्रमको प्रभाव, मिडियामा विदेशी सामग्रीको वर्चस्व, र सामाजिक सञ्जालमा विदेशी नब उपनिवेशबादी विचारधाराको प्रचार प्रसारले नेपाली पहिचान कमजोर बनाउँदै आएको यथार्थ छ ।

आर्थिक पक्षमा पनि नेपाल विदेशी ऋण, अनुदान, र परियोजनामा निर्भर हुँदै गएको छ। स्वदेशी उत्पादनको उपेक्षा, आयातमा निर्भरता, र बढ्दा दलाल पूँजीवादको विस्तारले आर्थिक आत्मनिर्भरता समाप्त पार्दैछ।

यसका अतिरिक्त सुरक्षा पक्षमा खुला सीमा, विदेशी बसोबास, र अबाञ्छित धार्मिक–साम्प्रदायिक गतिविधिहरूले समेत चुनौती उत्पन्न गरेका छन्। यसरी राष्ट्रिय सुरक्षामा डरलाग्दो र बहुआयामिक विदेशी हस्तक्षेपको गम्भीर सम्भावना बढिसकेको या बढिरहेको छ।

nepalkonaksa.png

समाधानका ठोस र महत्वपूर्ण उपायहरू

नेपालको अस्तित्व र स्वाधीनताको रक्षा गर्न तथा यसलाई सही दिशामा अघि बढाउन निम्न सार्थक र गम्भीर महत्वका उपायहरू अवलम्बन गर्न अत्यावश्यक छ । अन्यथा पराधीनताको धरापमा परेर छटपटाइरहेको अबस्थाबाट हामी मुक्त हुन सकिने छैन । यहाँ केही महत्व उपायहरूको सामान्य चर्चा गरिएको छ :

१. सही जनचेतना र राष्ट्रप्रेमको विकासः शिक्षा, सञ्चार र सामाजिक सञ्जालमार्फत राष्ट्रप्रेम, स्वाभिमान, र स्वाधीनको सचेतना फैलाउनु जरुरी छ। सबै जंगी, निजामति कर्मचारी तथा राष्ट्रको जिम्मेवार पद सम्हाल्नेहरूको चिन्त, चरित्र र ब्यवहार  देशभक्तिको भावनाले सुसज्जित हुनु सर्बोपरी शर्त हुनु पर्दछ । अनि  जनताले राष्ट्रघाती र जन हित बिपरीत तथा जनतालाई बिभाजन गर्ने खालका सबै प्रवृत्तिको विरोध गर्न सक्ने चेतना विकास निरन्तरको सर्बोपरी जरूरी कुरा हुनु पर्दछ र जनताका बीचको सामाजिक एकता र सद्भावलाई अक्षुण्ण राख्ने कुरामा हरहमेशा जोड दिदै तदनुकूलको बातावरण बनाइनु पर्दछ ।

२. सन्धि सम्झौताहरूको पुनरावलोकन र अनाक्रमण सन्धि ः असमान सन्धिहरू खारेज गरी समानताको आधारमा नयाँ सम्झौता गर्नुपर्छ। शक्तिशाली छिमेकी राष्ट्रहरूसँग अनाक्रण सन्धि गरिनु पर्दछ र  जलस्रोत, व्यापार, र सुरक्षा सम्बन्धी सम्झौतामा राष्ट्रिय हितलाई रक्षा र सम्बर्धन गर्ने कुरालाई सर्बेपरी प्राथमिकता दिनुपर्छ।

३. सीमा व्यवस्थापन र सुरक्षा सुदृढीकरणः खुला सीमालाई नियमन गर्न प्रविधि र जनशक्ति प्रयोग गर्नुपर्छ। सीमा क्षेत्रमा सुरक्षा चौकी, निगरानी प्रणाली, र जनसंख्या अभिलेख राख्नुपर्छ।

४. नागरिकता नीति सुधारः नागरिकता वितरणमा कडाइ गर्नुपर्छ। नागरिकता पाउनयोग्य सबै नेपालीलाई नियमितरूपमा नागरीकता प्रदान गर्ने उपयुक्त ब्यवस्था गरिनु पर्दछ । छानबिन आयोग गठन गरी अनियमितताको छानबिन गरी नागरिकता रद्द गर्ने र अनियमिततालाई  कडाइकासाथ रोक्नुपर्छ। अबाञ्छितरूपमा जनसंख्या अतिक्रमण निम्त्याइनु हुन्न । कुनै पनि शरणार्थीहरूलाई नेपाली नागरिकता प्रदान गर्ने गलत नीति अंगीकार गरिनु हुन्न ।

५. आर्थिक आत्मनिर्भरताः राष्ट्रिय उद्योग, कृषि, र पर्यटनलाई प्रवद्र्धन गरी विदेशी निर्भरता घटाउनुपर्छ। स्वदेशी पूँजीको विकास गर्नुपर्छ। हाम्रा तमाम जैबिक बिबिधतालाई अधिकतम उपयोग गर्ने प्रष्ट नीति अबलम्बन गरिनु पर्दछ । तिनलाई बिदेशी शक्तिलाई सुम्पने राष्ट्रिय हित बिपरीत कुनै पनि कदम चालिनु हुँदैन ।

६. परराष्ट्र नीति पुनःसंरचनाः  पञ्चशील र असंलग्नता सिद्धान्त तथा संयुक्त राष्ट्र संघको बडापत्र(चार्टर)का आधारमा परराष्ट्र नीति निर्माण गर्नुपर्छ। समानतामा आधारित र सन्तुलित नीतिका आधारमा शक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्दै राष्ट्रिय हितको रक्षा र सम्बर्धनमा परराष्ट्र नितिलाई केन्द्रित गर्नुपर्छ।

निष्कर्श

नेपालको स्वाधीनता र अस्तित्व आज गम्भीर संकटमा छ। बाह्य हस्तक्षेप र शासकहरूको आत्मसमर्पण प्रवृत्तिले देशलाई समाप्तिको संघारमा पुर्याएको छ। तर यो संकट अपरिहार्य होइन। जनताको जागरण, नेतृत्वको दूरदर्शिता, र सशक्त नीति निर्माणले नेपाललाई पुनः स्वाभिमानी राष्ट्र बनाउने सम्भावना जीवित छ। समयमै सचेत भइ कदम चालिएन भने, नेपालको स्वतन्त्रता इतिहासको पानामा सीमित हुने खतरा पनि उत्तकै छ। राष्ट्रप्रेमी क्रान्तिकारी कम्युनिष्ट, बामपन्थी अनि क्रान्तिकारी लोकतान्त्रिक एबं देशभक्त शक्तिहरू सबैले समय छँदै यस नाजुक र गम्भीर स्थतिप्रति गहिरो चिन्ता र चासो लिउन् र यसरी देश तथा जनताको सुरक्षित र सनिश्चित अक्षुण्ण भबिष्यको बिकल्पप्रति पहिले कहिल्यैभन्दा बढी संबेदशील र सर्बाधिक एकताबध्द बनुन् ।