आइतबार, आश्विन १८ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा शुभकामन आदान–प्रदान देश र जनताको स्थितिप्रति ठूलो  चिन्ता र निकासको खोजी


आश्विन १४, २०८२ मंगलबार
नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा शुभकामन आदान–प्रदान देश र जनताको स्थितिप्रति ठूलो  चिन्ता र निकासको खोजी

काठमाडा । क. पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको घोषणा भएको ऐतिहासिक दिन भाद्र ३० (१५ सेप्टेम्बर) को ऐतिहासिक अवसरमा नेपालका संसदवाद विरोधी दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रमशः लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नारायण शर्मा नेतृत्वको अखिल नेपाल कम्युनिस्ट पार्टी एकताबद्ध भई बनेको नेपाल कम्युनिस्ट पार्टीले यही असोज १३ गते काठमाण्डौ, कोटेश्वरमा शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न गरेको छ ।

chadparbabanner.jpeg
दसैं, तिहार, ११४६औं नेपाल सम्बत र छठ लगायतका नेपाली जनताका सामाजिक–सांस्कृतिक र ऐतिहासिक महत्वका चाडपर्वहरुका सन्दर्भमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको निम्ति आयोजित उक्त कार्यक्रममा नेपालका संसदबाहिरका अर्थात् सडकका विभिन्न कम्युनिस्ट क्रान्तिकारी पार्टी, वामपन्थी समूह, संघसंस्था, नागरिक आन्दोलन र अभियानलगायत स्वतन्त्र व्यक्ति–व्यक्तित्वहरुलाई मात्र अतिथिको रुपमा आमन्तृत गरिएको थियो । उक्त कार्यक्रमको शुरुमा नेपालको राष्ट्रियता (लबतष्यलबष्तिथ) र जनवाद (मझयअचबअथ) को निम्ति भएका सशस्त्र वा शान्तिपूर्ण आन्दोलनहरुमा शहादत प्राप्त गर्नु भएका सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरुको  स्मरण र उच्च सम्मानस्वरुप एकमिनेट मौनधारण गरिएको थियो । 

Narayan.jpg
पार्टीका संयोजक एवं वरिष्ठ वामपन्थी नेता क. लोकनारायण सुवेदीले कार्यक्रम सञ्चालन गर्नको लागि पार्टीका सचिवालय सदस्य नारायण शर्मालाई जिम्मेवारी दिएपछि शर्माले उपस्थित सबैलाई सम्बोधन र अभिवादन गरी कार्यक्रमको उद्देश्य, आवश्यकता र औचित्यमाथि प्रकाश पार्नु हुँदै उहाँले एउटा सिद्धान्तनिष्ठ, एकीकृत, ध्रुवीकृत र पुनर्गठित सबल क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा संचालित संयुक्त र सशक्त आन्दोलनले मात्र देश र जनताका तमाम समस्या हल गर्ने सही आधार तयार गर्न सक्ने हुनाले त्यस्तो पार्टीको टड्कारो आवश्यकता भएकोमा जोड दिनुभयो । साथै उहाँले आज सबैजसो चाडपर्वहरुको सम्बन्ध कतै न कतैबाट धार्मिक अन्धविश्वाससँग जोडिएको भए पनि तिनको जन्म मानवजातिको ऐतिहासिक विकासक्रममा सामाजिक व्यवहारका दौरानमा भएको र तिनले साँस्कृतिक रुप लिएकोले तिनको सामाजिक महत्वसँगै धार्मिक रुप पनि बढ्दै गएकोले तिनको बैज्ञानिकरण गर्ने र वैकल्पिक जनसंस्कृतिको निर्माण गर्ने आवश्यकता झन्झन् बढ्दै गएको औंल्याउँदै जनताका चाडपर्वहरुलाई आज जनतासँग सम्बन्ध गाँस्ने र जनतालाई नै सचेत र संगठित तुल्याउँदै जनआन्दोलनको विकास र विस्तार गर्न सदुपयोग गर्नु आवश्यक छ भन्ने कुरामा जोड दिई आसन्न चाडपर्वहरुले आपसी अन्तर्घुलन, सामाजिक सद्भाव र राष्ट्रिय एकता समेत वृद्धि गर्न सकून् भन्ने शुभकामना पनि दिनुभयो । 

The audience.jpg
कार्यक्रममा सबै वक्ताहरुले देशमा भदौ २३ गतेको जेन जेड पुस्ताका युवा विद्यार्थीहरुको स्वतन्त्र र सामान्य मागहरुलाई लिएर गरिएको आन्दोलनलाई नियोजित रुपमा प्रयोग गर्दै तिनमाथि निर्मम दमन गरी ६ दर्जनभन्दा बढी यूवा–विद्यार्थीहरुको वीभत्स हत्या गरिएकोप्रति निन्दा र चिन्ता व्यक्त गरे । साथै, त्यस प्ररकारको निर्मम हत्याकाण्डबाट आक्रोशित र आक्रामक भएको जनताको भावना, मनोबिज्ञान र शक्तिलाई भदौ २४ गते सुनियोजित रुपमा दुरुपयोग गरेर बिध्वंशकारी आगजनी, तोडफोड र लूटपाट गरिएकोले यसमा साम्राज्यवादी–विस्तारवादीहरुद्वारा ठूलो  षडयन्त्र अन्तर्गत भएको बाह्य हस्तक्षेपप्रति सामन्तवाद र साम्राज्यवाद परस्त दलाल तथा नोकरशाही पुँजीपति वर्गको शासनसत्ता र त्यसका नाइकेहरु नै प्रयोग हुनाले र उनीहरुले आत्मसमर्पण गरी रमिते बन्नाले देश र जनताको स्थिति आज इतिहासकै सबैभन्दा नाजुक र अत्यन्तै खतरनाक स्थितिबाट गुज्रिरहेको औंल्याउँदै अत्यन्तै गम्भीर चिन्ता व्यक्त गरे । यससँगै यो नाजुक, तरल, अन्यौलपूर्ण र भयावह स्थितिबाट मुक्त हुन  नेपाली जनताका सबै तह र तप्काका जनता र  तिनलाई प्रतिनिधित्व गर्ने देश र जनताको सर्बोपरी हित तथा प्रतिष्ठाप्रति समर्पित निष्ठाबान क्रान्तिकारी कम्युनिष्टहरु, सच्चा लोकतान्त्रिक र राष्ट्रप्रेमी शक्तिहरु पहिलेभन्दा बढी सचेत, संवेदनशील, संगठित र संयुक्त भै सशक्त संघर्षमा उत्रिएर निरन्तर जोडदार खबरदारी गर्नपर्ने कुरामा जोड दिए ।

Shahisamman.jpg
देसमा भैरहेको चरम भ्रष्टाचार र कुशासनका बीच सामाजिक सञ्जालको नियमन र अनुगमनको साटो विद्यार्थी युवाहरुको जीबिकालाई ठूलो असर गर्ने गरी प्रतिबन्ध लगाउनेजस्तो अलोकतान्त्रिक र अविवेकी कदमका विरुद्ध जुर्मुराएको विद्यार्थी युवाहरुको शान्तिपूर्ण र न्यायपूर्ण आन्दोलनलाई सम्बोधन नगरेर उल्टै बाह्य शक्तिकेन्द्रको योजना र निर्देशनमा होनहार युवाहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरी निर्मम हत्या गर्ने तर कुनै पनि अवस्थामा सुरक्षित रहनु पर्ने र रहँदै आएका राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत लगायतका संवेदशील ऐतिहासिक धरोहरुमा आगजनी र विध्वंस मच्चाउने गर्दा समेत हात खडागरी मूकदर्शक बन्ने स्वदेसी नामका विदेसी पिठ्यु बनेका शासकहरुका कारण यस घोर त्रासदीपूर्ण र भयावह काण्ड २७ घण्टाका बीचमा मच्चाइएबाट हाम्रो देश नेपाल र नेपाली जनता आज अत्यन्तै विदीर्ण अवस्थाबाट गुज्रिरहेका छन्  भन्ने कुरा वक्ताहरुले प्रष्ट पारे । बिकसित यस्तो गम्भीरतम अवस्थामा सम्पूर्ण शोषित–पीडित नेपाली जनताको एकताबद्ध आन्दोलन अत्यावश्यक भएको र त्यस्तो संयुक्त र सशक्त आन्दोलन बिना एकातिर देशको स्वाधीनता, सार्वभौमिकता, अखण्डता र स्वत्व–अस्तित्व नै नरहने र अर्कातिर आर्थिक शोषण र सामाजिक उत्पीडनबाट जनताले मुक्ति नपाउने उल्लेख गर्दै नेताहरुले राष्ट्रियताको संरक्षण, जनअधिकार र जनजीविकाको सुनिश्चितताको लागि समेत सम्पूर्ण नेपाली जनताको एकताबद्ध र सशक्त आन्दोलनले मात्र अग्रगामी निकास र विकास दिनसक्ने बताए । यस्तो एकताबद्ध आन्दोलनका लागि निष्ठाबान कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध हुनु पहिलो महत्वपूर्ण शर्त हो भन्ने महत्वपूर्ण  निष्कर्ष वक्ताहरुले निकालेका छन् । 

subedilok.jpeg
शुभकामना आदान–प्रदान कार्यक्रमको अध्यक्षको आसनबाट बोल्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. लोकनारायण सुवेदीले भन्नु भयो– ’आज जुन स्थिति देशमा आयो त्यसको पछाडि नेपाली सत्ता र यसका शासक वर्गहरुको वैदेशिक शक्तिकेन्द्रहरुप्रतिको आत्मसमर्पणवादी चिन्तनले काम गरेको छ । विदेसीहरुकै आडमा सत्ताको घोर दुरुपयोग गरी भ्रष्टाचार, कुशासन र मनपरीतन्त्र पराकाष्ठामा पुगेको कुरा एकदमै प्रष्ट छ । उहाँले वर्तमान सत्तालाई साम्राज्यवाद र सामन्तवादपरस्त दलाल तथा पूँजीवादी सत्ताको संज्ञा दिंदै यसको चरित्र नै यस्तै भएकोले यसले देश र जनताका समस्या समाधान गर्न सक्तैन भन्ने कुरा नेपालमा मात्र होइन विश्वभरिकै निष्कर्ष रहेको उल्लेख गर्नुभयो । उहाँले पूँजीवादी सीमा र सामथ्र्य भित्रै पनि कम्तिमा पूँजीवादी नैतिकता र आचरण अनुसार जनता र देसप्रति अरु देशमा त केही न केही जिम्मेवारी बोध गरी सुधारका कामहरु भए–गरेको देखिन्छ भन्दै हाम्रो देशमा भने त्यसको कुनै अत्तोपत्तो नभएकोमा क्षोभ व्यक्त गर्नुभयो । राजनीतिक मनपरी, सामाजिक अराजकता, आर्थिक भ्रष्टाचार र श्रोत–साधनको दोहन गर्ने अनि त्यसको विरोधमा जनताले आफ्ना वेदना र आक्रोश व्यक्त गर्दा सत्तामा रहेका र रहने गरेकाहरुले तिनलाई सुन्नु र सम्बोधन गर्नुको साटो सामाजिक सन्जालमाथि नै रोक लगाएर सामाजिक सञ्जाल उपभोगको अधिकारबाट बञ्चित गरिंदा त्यसका विरुद्ध जेन जेड पुस्ताका युवा–विद्यार्थीले शान्तिपूर्ण रूपमा आवाज उठाउँदा पनि त्यसरी ती निर्दोष र अबोध किशोर र युवा आन्दोलनकारीहरुलाई ताकी–ताकी टाउकैमा गोली ठोकेर मारिएकोमा भावुक हुँदै उहाँले यसप्रति घोर आपत्ति प्रकट गर्नुभयो । 
साथै उहाँले युवाहरुको आन्दोलनलाई भड्काएर योजनाबद्ध रुपमा नेपालका ऐतिहासिक धरोहरका रुपमा रहेका संवेदनशील क्षेत्रभित्र कडा सैनिक सुरक्षाभित्र रहेका सिंहदरबार, संसद भवन र सर्वोच्च लगायतका विभिन्न क्षेत्रका व्यापारिक केन्द्रहरुलाई पूर्ण ध्वंश गर्ने गरी व्यापक आगलागी र तोडफोड गराइएपछि जेन जी पुस्ताको सरकारको नाममा बने–बनाइएको सरकारको पनि कुनै भरपर्दो र विश्वासिलो स्वतन्त्र र आत्मनिर्भर पृष्ठभूमि र आधार नभएकोले मुलुकलाई कुनै ठूलो अनिष्टको भड्खालोमा हालेर शक्तिकेन्द्रहरुको रणमैदान बनाउन नै खोजेको अत्यन्तै त्रासदीपूर्ण र भयावह स्थिति सन्निकट भएकोप्रति सबैलाई सचेत बनाउनु भयो । संँगसँगै यस स्थितिबाट मुलुकलाई मुक्त गर्न मूल्य मान्यतामा आधारित स्वस्थ र स्वच्छ चिन्तन र चरित्र भएका सिद्धान्तनिष्ठ क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुने र सच्चा लोकतन्त्रवादी र राष्ट्रप्रेमी शक्तिहरुगोलबन्द गरेर विगतमा भन्दा पनि वृहत् र उच्च आन्दोलनद्वारा वर्तमान दलाल सत्तामाथी निर्णायक विजय गर्नु परम आवश्यक भएको कुरामा उहाँले जोड दिनुभयो । अन्तमा उहाँले तत्पश्चात मात्र सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ तुल्याएर देश र जनतालाई बचाउन सकिन्छ भन्दै बच्चा पुस्ता र भावी पुस्तालाई सुरक्षित र सुनिश्चित नेपाल हस्तान्तरण गर्न सकिन्छ भन्ने निष्कर्ष दिनुभयो ।

swagat.jpeg
शुभकामना आदान–प्रदान कार्यक्रममा उपस्थित आमन्त्रित भाइचारा पार्टीका नेताहरु तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्यहरु, शुभ–चिन्तक, सहयोगी मित्रहरु सबैलाई हार्दिक स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य क. शरणबिक्रम मल्लले भन्नु भयो –  “इतिहासले पटक पटक दर्शाइसकेको छ कि जब जब कम्युनिष्टहरु एक हुन्छन् आमूल परिबर्तनको आन्दोलनमा होमिन्छन्, अन्य प्रगतिशील लोकतान्त्रिक शक्तिहरु पनि त्यसमा सामेल हुन बाध्य हुन्छन् देश र जनताले केही राहत पाउछन् । तर जब उनीहरु त्यसबाट बिचलित भएर भड्किन्छन् र पुरानै सत्ताको बाटो हिड्छन्,तब भ्रष्टाचार, कमिशनखोरी र लुटखसोटको बाटो लाग्छन् । त्यसबेला सच्चा कम्युनिष्टहरु समेतले दुर्दशा र बदनामी बेहोर्नु पर्ने स्थिति आउँछ । यो हामीले आज देखिभोगिराखेको कुरा हो । यस स्थितिलाई चिर्न र जनतामा कम्युनिष्ट आन्दोलनप्रति पुनः विश्वास जगाउन आज सच्चा कम्युनिष्टहरु एक हुनु र जनताका बीच जानुको कुनै बिकल्प छैन । यही आवश्यकतालाई मनन गरेर आज हामीले नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा नेपाली जनताका चाडपर्बहरुको अवसरमा यो एकताको खोजी गर्ने सानो प्रयत्न गरेका हौं । यसले नेपाली जनतामा रहेको पारस्परिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई सम्मान गर्न पनि मद्दत पुग्दछ भन्ने हामीले ठानेका छौं ।’’

The audience.jpg
कार्यक्रममा शुभकामना दिनुहुँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका स्थायी समिति सदस्य क. सीताराम तामाङ्गले– “जति–जति बेला कम्युनिष्टहरु मिलेर काम गरेका छन्, कमरेड पुष्पलालले भने जस्तै देशमा  सानो–ठूलो परिवर्तन आएको छ तर जब उनीहरु अनेक कारणले विभाजित भएका छन् त्यसको मूल्य उनीहरुले पनि चुकाउनु परेको छ भन्नुहुंँदै यसबाट शिक्षा लिएर एकताबद्ध हुनुको कुनै विकल्प छैन, तसर्थ सर्वप्रथम क्रान्तिकारी कम्युनिष्टहरुले देश र जनतको आवश्यकतालाई बुझेर आन्दोलनलाई सही दिशा दिनको निम्ति पार्टी एकता गर्ने प्रयास गर्ने र त्यो सम्भव नभएमा पनि सबै क्रान्तिकारीहरुको एउटा संयुक्त मोर्चा बनाएर संघर्ष गर्ने कुरामा बिशेष जोड दिनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव क. धर्मेन्द्र वाँस्तोलाले "देशमा उत्पन्न संकटको श्रोत वर्तमान दलाल पूँजीवादी संसदीय व्यवस्था भएकाले यस अन्तर्गतका कुनै सरकार वा शासकले न भ्रष्टाचार रोक्न न त सुशासन दिन सक्ने भएकाले यो ब्यबस्थाको अन्त्य गरी नयाँ स्वाधीन सरकार, जनसंबिधानको  निर्माण गरी वैज्ञानिक समाजवादको दिशामा जानको लागि एकातिर आफूहरुले पाँच पुनर्गठन मार्फत पार्टीलाई सुदृढीकरण गर्नमा जोड दिएको र अर्कातिर क्रान्तिकारी शक्तिहरुको कार्यगत एकता र संयुक्त मोर्चामार्फत सशक्त आन्दोलन गरी अघि बढ्न सके मात्र देशले सही निकास पाउने कुरामा दृढ विश्वास रहेको" विचार व्यक्त गर्नुभयो ।

backscene.jpg
यस शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अर्को नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. बसन्त बोगटीले पनि यथास्थितमा कुनै समस्या समाधान नहुने कुरा त जेन जी बिद्रोले नै प्रष्ट पारिसक्यो । तसर्थ नयाँ स्वाधीन नेपाल निर्माणको दिशामा आन्दोलन बिकसित गर्न सम्पूर्ण सच्चा कम्युनिष्ट एक भएर खडा हुनु आजको समयको माग हो भन्नु भयो । 
यसरी नै नेकपा (माक्र्सवादी पुष्पलाल)का  अध्यक्ष क. मानध्वज गुरुङले शुभकामना दिंदै “हामी क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुने प्रकृयामै छौं र चाँडै एकताको अन्तिम प्रकृयामा पुग्नेछौं“ भन्ने जानकारी गराउँदै केही बिषयमा छलफल जारी राख्दै एकतालाई सुनिश्चिता प्रदान गर्नु आजको राष्ट्रिय आवश्यकता बन्न गएको बताउनुभयो । कार्यक्रममा कम्युनिष्ट समाजवादी पार्टीका संयोजक क. हरिकृष्ण गजुरेलले पनि कान्तिकारी कम्युनिष्टहरु एक जुट भएर आन्दोलनलाई सही दिशा दिन जनताका बिचमा पुग्न सके यसले जनता र राष्ट्रको रक्षा गर्ने र आमूल परिवर्तन ल्याउने स्थिति खडा गर्न सक्छ भन्दै त्यस दिशामा प्रयत्न जारी राख्नु पर्दछ भन्नु भयो म
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा राष्ट्रिय क्रान्तिकारी मोर्चाका प्रतिनिधि क. पुष्कर गौतमले सही किसिमले आग्रह पूर्वाग्रह नराखी परस्पर छलफल बहस चलाउँदै साम्राज्यवाद र प्रतिगमनकारी यथास्थितिवादी शक्तिहरुका विरुद्ध एकताबद्ध आन्दोलन गर्ने हो भने पार्टीहरुबीच एकता पनि हुने र जनक्रान्ति एवं राष्ट्रिय मुक्ति दुवै सम्भव हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा छोटो शुभकामना दिंदै नेकपाकै नेपाल प्रगतिशील बुद्धिजीवी संघका इञ्चार्ज क. महादीप पोखरेलले आजको स्थिति अत्यन्त गम्भीर भएकोले हामी सच्चिएर एक भएर अघि बढ्ने कि सकिने भन्ने बिकल्प मात्र बाँकी रहेको ठोकुवा गर्दै यही सही विकल्पमा आउन सबैलाई शुभकामना छ भन्नु भयो ।
यसैगरी मिटरब्याज पीडित किसान–मजदुर संघर्ष सम्तिका प्रवक्ता एवं वर्तमानका एक चर्चित युवा अभियन्ता क. निर्ग नवीनले जनतालाई सचेत र संगठित गर्न जनताका समस्याका लागि लड्ने हो भने जनताले दिलो ज्यानले साथ दिंदारहेछन् भन्ने कुरा मिटव्याज पीडीत आन्दोलनकारीहरुले प्रमाणित गरेकाले एकताबद्ध भएर योजनाबद्ध रुपमा वर्गसंघर्षमा जानुनै अहिलेको परम आवश्यकता भएकोमा जोड दिनुभयो ।

group7.jpg
कार्यक्रमका अन्य वक्ताहरुमा माक्र्सवाद तथा पुष्पलाल विचार मञ्चका संयोजक क. उदय अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा वाग्मती प्रदेश र केन्द्रीय कार्यालय इञ्चार्ज क. मुकुन्द आचार्य, महिला संगठन इञ्चार्ज क. सीता सुवेदी, किसान मोर्चाका  ईञ्चार्ज क. भुवन फुँयाल, प्राध्यापक तथा शिक्षक संगठनका इञ्चार्ज क. निरेन्द्र कुँवर, पोलिटब्युरो सद्स्स्य क. भूमिप्रसाद ढुङ्गाना, माक्र्सबादी एकता मञ्चका संयोजक क. श्रीकान्त पण्डित, डाइलेक्टिकल सोसाईटीका युवा बुद्धिजीवी क. विनोद लोहनी, नेपाल प्रगतिशील बिद्यार्थी यूनियनका प्रथम महासचिव ध्रुव ज्ञवाली, देशभक्त समाजवादी मोर्चाका सचिव क. खड्ग श्रेष्ठ, नागरिक अभियन्ता टेकबहादुर बिश्वकर्मा आदि सबैजसो वक्ताहरूले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध पार्न र सही दिशा दिन आजको दिनले बिशेष भूमिका खेलोस्, गल्ती कमजोरीलाई हटाओस् र कम्युनिष्ट आन्दोलनले  जनताको सहानुभूति, समर्थन र बिश्वास पुनः प्राप्त गर्न सफल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नु भयो ।