कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शान्त लक्ष्मी खड्गीका सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईं रहेका थिए ।
साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष बजगाईंले कुम्भेश्वर महिला साकोसले महिला सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले संघले जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाको विकास र प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको समेत बताए । संस्थाहरुलाई आवश्यक पर्ने वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरी सहकारीको समस्या समाधान गर्न संघ क्रियशिल रहेको उनको भनाई छ । सभामा संस्थाका कानुनी सल्लाहकार अधिवत्ता लक्ष्मण महर्जनले कुम्भेश्वर महिला समुदायको उत्कृष्ट संस्था बन्दै गएको भन्दै संस्थाको वित्तीय सुचाङ्क बलियो रहेको बताए । उनले अन्य संस्थाहरुले पनि आफुलाई कानुनी सल्लाहकार बस्नको लागि आग्रह गरे पनि वित्तीय अवस्था खराव रहेकाले इन्कार गरको बताए ।

संस्थालाई विश्वास गरी जति कारोबार गर्यो त्यति नै कारोबार बढ्दै जाने भएकाले सदस्यहरुलाई दुक्क भएर संस्थामा कारोबार गर्न समेत आग्रह गरे । संस्थाकी अध्यक्ष खड्गीले संस्था स्थापनाकाल देखि नै समुदाय र सदस्यको आर्थिक सामाजिक रुपान्तरण गर्न लागि परेको बताइन् । सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउन समयानुसार विभिन्न योजनाहरु तय गरी लागु गर्दै आएको र बचत तथा ऋणका विभिन्न स्किम समेत ल्याएको उनको भनाई छ । संस्था बागमती प्रोस्कूनले सञ्चालन गरेको कोसिस कार्यक्रममा सहभागी भई संस्थागत सुशासन कायम गरी सुरक्षित रुपमा बचत तथा ऋण लगानी गर्दै आएको अध्यक्ष खड्गीले सभामा जानकारी दिइन् ।

संस्थाको आर्थिक बर्ष २०८१\८२ को असार मसान्तसम्म शेयर पुँजी १ करोड ४५ लाख ५७ हजार, बचत संकलन १४ करोड ६३ लाख र ऋण लगानी १५ करोड ९६ लाख पुगेको छ । संस्थामा ९२३ सदस्य आवद्ध रहेका छन् । संस्थाले १७ वटा विभिन्न नीति तथा कार्यविधिहरु तयार गरी लागु गरेको छ । संस्थाकी सचिव सफलता खड्गीले आर्थिक बर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन तथा भावी योजना समेत प्रस्तुत गरेकी थिइन् । संस्थाले यस आबमा युवाहरुको लागि वित्तीय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रम गर्ने, रक्तदान तथा सदस्यहरुको सीप विकासको लागि विभिन्न तालिमहरु आयोजना गर्ने भएको छ ।
संस्थाकी कोषाध्यक्ष रंगिता शाहीले आर्थिक बर्ष २०८१\८२ को आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक मोनिका खड्कीले समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । सभामा उत्कृष्ट ऋणीलाई सम्मान गर्नुका साथै सभा सहभागी हुने सदस्यहरुलाई गोला प्रथाबाट डोर प्राइजको समेत व्यवस्था गरिएको थियो ।
नेपालपत्र संवाददाता