बुधबार, भाद्र ३ गते २०८३

वृद्धवृद्धा रुँदै छन्

कार्तिक २०, २०७८ शनिबार
वृद्धवृद्धा रुँदै छन्
shankhadhar.jpg
इन्द्रनारायण सुबेदी
वृद्धवृद्धा रुँदै छन्
(स्रग्धरा)
==================================
होला केही हलुङ्गो अलिकति सजिलो यत्ति नै आस हुन्छ
पर्ख्यो गर्दै प्रतीक्षा अधिक असजिलो बल्झिने त्रास हुन्छ
कुर्दा कुर्दै गयो त्यो वचपन र यता फक्रिँदै गो जवानी
बेलाले वृद्ध पार्यो कठिन दिन बढे भार भो जिन्दगानी । १।
 
बाटो मिल्दैन भाग्ने अवतरण हुने आसमा बाँच्नुपर्छ
सम्झेझैँ हुन्न केही जटिल नियतिको त्रासमा नाच्नुपर्छ
जित्ने धेरै कुरा छन् वरिपरि नमिठा हारका छन् कहानी
बोकूँ आकाश भन्ने बल पनि सकियो भार भो जिन्दगानी। २।्
 
छेवैमा औषधि छन् छिनछिन लिइने हात लागदैन झिक्न
प्यारा आफन्त छैनन् वरिपरि रहने देशले दिन्न टिक्न
खाडी जापान बर्मा अरबतिर कहाँ छन् सधैँको हतार
बाँकी छन् वृद्धवृद्धा विवश घरघरै बाध्य छन् खेप्न मार। ३।
 
छोराछोरी बिराना परपर घरमा झाङ्गिएको छ झाडी
बाँझै छन् खेतबारी अधिक सुरसिला हाँस्छ सम्झेर खाडी
कालो पर्दा अँध्यारो कुटिल नियतिले देशमा गर्छ राज
जत्था यो देश लुट्ने असुर गण उठे अग्लिएको छ ताज।४।
 
यस्ता छन् दुर्दशा यी समय समयमा आउँछन् चाडपर्व
सारा आफन्त छुट्दा सकस छ गहिरो कत्ति लाग्दैन गर्व
गन्दा गन्दै बितेका दिन अनि महिना वर्ष टाढा हुँदै छन्
सम्झी सम्झी अनेकौँ विषय र घटना वृद्धवृद्धा रुँदै छन् ।५।
 
चुरेघाँटी, इलाम