भक्तपुरको भुलाँचामा रहेको संचित बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्ण गोविन्द लाखाजुको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष योगेन्द्र बहादुर खर्बुजाको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष खर्बुजाले मेरो संचित मेरो भविष्य भन्ने नारासहित स्थापनाकालदेखि सञ्चालित संस्थाले सदस्यहरुको साथ र सहयोगमा संस्थाले प्रगति गर्दै गएको उल्लेख गरे । लामो समयदेखि कोभिड १९ का कारण आम जनसमानसका प्रभावित रहेकाले संस्थालाई पनि सामान्य असरको अवस्था रहेतापनि विचलित हुनुपर्ने अवस्था नरहेको उनले बताए ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव न्युटनप्रसाद सुवालले वित्तीय कारोबारसँगै संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको उल्लेख गरे । संस्थाले रक्तदान तथा दन्त शिविर आयोजना गरेको, भक्तपुर नगरपालिकाले व्यवस्था गरेको कोभिड १९ आइसोलेसनका लागि एक लाख प्रदान गरेको जानकारी गराए ।
संस्थाकी कोषाध्यक्ष सरस्वती हाकुदुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७।०७८ सम्ममा संस्थाका कुल सदस्य संख्या २५१७ पुगेको, शेयुरपुँजी २ करोड १८ लाख ८२ हजार, बचत संकलन ४२ करोड ८२ लाख ३६ हजार, ऋण लगानी ४३ करोड १२ लाख ६६ हजार पुगेको जानकारी दिइन् । संस्थाको कुल सम्पत्ति ५७ करोड ७६ लाख पुगेको छ ।
लेखा सुपरिवेक्षक समितिका संयोजक सत्यराम किसीले समितिको प्रतिवेदन पेश गर्दै संस्थालाई सुदृढ गर्न बचत गर्न र गराउन विशेष पहल गर्नुपर्ने सुझाव दिए । संस्थाको भवनलाई बढिभन्दा बढि सदुपयोग गर्नुपर्ने, सहकारी शिक्षा, नेतृत्व विकासका लागि तालिम सेमिनारमा सहभागिता गराउनुपर्ने सुझाव उनको थियो ।