आज एक कार्यक्रमका बीच मानबाधिकाबादी अगुवा पद्मरत्न तुलाधारकाे स्मृित प्रतिष्ठानकाे घाेषणा गरिएकाे छ । उनकाे प्रतिमामा माल्यार्पण गर्दै उक्त प्रतिष्ठानको घोषणा गरिएको हाे ।
उक्त घोषणासभामा सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पद्मरत्न तुलाधरले आफ्नो स्वास्थ्यको पर्वाह गरी देशको स्वास्थ्यप्रति बढी चिन्ता लिनुभएकै कारणले तीन वर्ष अघि उहाँको असामयिक निधन भएको बताए । तुलाधरको स्मरणमा महानगरपालिकाले शंखधर उद्यान भित्र उनको पूर्णकदको सालिक स्थापना गरेको बताउँदै मेयर शाक्यले भने, ‘तुलाधर नेवार परिवार भित्र जन्मेका एक राष्ट्रिय नेता हुन् । उनकै पछि लागेर आफू पनि राष्ट्रियता, समानता र समावेशिताको आन्दोलनमा सहभागी स्मरण गरे ।
काठमाडौंको मौलिकता संरक्षण गर्न धर्मपथस्थित काठमाडौं महानगरपालिकाको पुरानो भवन रहेको जग्गामा अब २७ करोड रुपैयाँको लागतमा ‘येँ देय् सांस्कृतिक छेँ’ नामक सांस्कृतिक भवन बनाउन लागिएको पनि उनले जानकारी दिए ।
त्यस प्रतिष्ठानका अध्यक्ष एवं पूर्व सभामुख दमननाथ ढुंगानाले देश बनाउने मामिलामा पद्मरत्न तुलाधरले जुन वृहत् दृष्टिकोण बनाए त्यसलाई कुनै पनि राजनीतिक पूर्वाग्रहले हेर्न नहुने उल्लेख गर्दै भने, ‘पद्मरत्न तुलाधर काठमाडौंले जन्माएको नेता हुन, उनले आफ्नो राम्रो कामबाट काठमाडौंको छबी नै उठाइ दिएको छ ।’
कार्यक्रममा प्रतिष्ठानका संरक्षक जनकवि दुर्गालाल श्रेष्ठ, संघीय व्यवस्था मन्त्री राजेन्द्र श्रेष्ठ, डा. ओम गुरुङ, नागरिक आन्दोलनकारी श्याम श्रेष्ठ, मल्ल के. सुन्दर, स्वर्गीय तुलाधरकी छोरी सुम्निमा तुलाधरले पनि पद्मरत्नकाे स्मरणमा मन्तब्य प्रकट गरेका थिए ।