महानन्दकाे महान ललकार
सयमा दश पाँच धनी गनिनु
अरुले तिनका करिया बनिनु
बिधिको यदि यही छ बिधान भने
अब त्यो बिधिको पनि आयु पुग्यो
महानन्द सापकोटा[१९५३—२०३५]
*महानन्द सापकोटा* नेपाली भाषा, साहित्य, संस्कृति, शिक्षा र जनजागरणरका अग्रणी व्यक्तित्व हुन। यिनको जन्म पूर्वी नेपालको इलाम जिल्लाको इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० गते पिता रामचन्द्र र माता सरस्वतीका सन्तानका रूपमा भएको थियो। उनको न्वारानको नाम यज्ञनिधि हो।
साधारण निम्न वर्गीय कृषक परिवारमा जन्मेका महानन्दको बाल्यकाल गोठालाका रूपमै बित्यो। नौ वर्षमा पितृ-वियोग सहनुपरेका महानन्दले ५३ अक्षर भएको त्यसताकाको नेपाली वर्णमाला गाउँघरमै अध्ययन गरे। महानन्द आमासँगैभारत
को आसाम राज्यको जोरहाट जिल्लामा पर्ने गोरुमारामा बस्न पुगे। पशुपालनमा दिन बित्न थाल्यो। त्यही क्रममा एक अङ्ग्रेज शिक्षकसँग सम्पर्क भई परिवारसहित महानन्द तेजपुर पुगे।
तेजपुरपछि दार्जिलिङको सरकारी विद्यालयमा १६ वर्षमा महानन्द अङ्ग्रेजी अक्षर सिक्न थालेका थिए। भारत
मा रहँदा महात्मा गान्धीको असहयोग आन्दोलनमा पनि भाग लिए। देहरादुनबाट प्रकाशित 'गोर्खा संसार' नेपाली पत्रिकामा पनि उनले सम्पादनकर्मीका रूपमा र केही समय एउटा जहाज कम्पनीमा काम गरे। देश फर्केर इलाम जिल्लाको करफोक
मा बसी २००७ सालको आन्दोलनमा सक्रिय रहे।
यिनीले आफ्नो जीवनको अन्तिम समयमा धनकुटाको मुगा गाउँमा बसेका थिए।
उनका कृतिहरू - मनलहरी (झ्यारे गीत, वि.सं. १९८०), आहुति (२००६ साल), अपुंगो (दार्शनिक कृति, २००७ साल), विशाल नेपाल (कविता, २००८ साल), अन्न, आशा, आँसु (झ्याउरे र वाणिर्क कविता, २००८ साल), हाम्रो नेपाल (गीति-कविता, २००८ साल), आँटे (कविता, २००८ साल), सुखको बाटो र नेपाल कस्तो हुनुपर्छ (लेख, २००८), हाम्रो साहित्य भाग १-५ (सम्पादन, २०१५ साल), सरिशब्द (कोश, २०२१), ध्वनीको धन्दा (भाषा, २०२०), चानचुन, नेपाली धातु परिचय, जनजिब्रो (भाषा, २०२१), खस र खस भाषा (भाषा, २०२०), नेपाली निर्वचनको रूपरेखा (भाषा, २०२७), सापकोटा निबन्धावली (निबन्ध, २०२९), नेपाली शब्द-परिचय (कोश, २०३४), हुन भने सापकोटाका अप्रकाशित कृतिहरू - नेपाली भाषा, स्त्री शिक्षा परिषद्, क्रियान्वयी व्यञ्जना, बालोपयोगी र शब्दकोष हुन्।
मोरङ जिल्लाको विराटनगरमा स्थायी बसोवास गर्न आइपुगेका सापकोटा २०३५ साल असार १ गते बिते।