काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारण सभा बनेपा–८, तीनदोबाटोस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । सभाको अध्यक्षता संस्थाका अध्यक्ष निरन शाक्यले गरेका थिए भने प्रमुख आतिथ्य संस्थाका जेष्ठ सदस्य तथा लोकगायक मच्छेश्वर सापकोटाले गरेका थिए।
प्रमुख अतिथि सापकोटाले सहकारी ऐन, नीति र नियमअनुसार संचालन हुँदै आएको पिपुल्स साकोस सदस्यमैत्री सेवाका कारण सहकारी क्षेत्रमै परिचित बनेको बताउनुभयो । संस्थाले सदस्यहरूको मन जित्न सफल भएको भन्दै उनले धन्यवाद दिए ।
अध्यक्ष शाक्यले सहकारीको मर्म, भावना, सिद्धान्त र मूल्य मान्यता अंगिकार गर्दै साधारण सभा मितव्ययी ढंगले सम्पन्न गरिएको जानकारी दिए । उहाँले राहत तथा सेवा कार्यक्रमलाई सहज, सरल र प्रभावकारी ढंगले सदस्यहरूसम्म पुर्याउँदै संस्था थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
सभामा संस्थाले सदस्य सेवा कार्यक्रम अन्तर्गत उत्कृष्ट बचतकर्ता एवं ऋणी सम्मान, एसईई विद्यार्थी सम्मान, नवजात शिशु तथा जेष्ठ नागरिकलाई निःशुल्क सदस्यता, बुबा–आमा सम्मान, रेमिट्यान्स सेवा, मोबाइल रिचार्ज, विजुली तथा टेलिफोन भुक्तानी सेवा, न्यूनतम पाँच हजार रुपैयाँ निक्षेप गरेका सदस्यका लागि एक लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना बीमा, स्वास्थ्य उपचार, परिवार समवेदना राहत, सदस्य साक्षरता शिक्षा तथा संरक्षित पूँजी फिर्ता कोष वितरण जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी गराइयो ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सचिव सन्तोष कुमार घिमिरेले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवनराज कर्णजीतले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य विष्णुभक्त श्रेष्ठले प्रस्तुत गरेका थिए । त्यस्तै, सल्लाहकार राजन सापकोटाले संस्थागत लक्ष्य हासिल गर्न अझै पहलकदमी आवश्यक रहेको सुझाए ।
संस्थाले हालसम्म २ करोड ३९ लाख ८६ हजार रुपैयाँ शेयरपूँजी संकलन गरेको छ भने २८ करोड ६१ लाख २२ हजार रुपैयाँ निक्षेप, २२ करोड ५६ लाख ७१ हजार रुपैयाँ ऋण लगानी र १ करोड ७१ लाख ९३ हजार रुपैयाँ जगेडा कोष कायम गरेको छ । हालसम्म शेयर सदस्य तथा बाल बचतकर्तासहित ६ हजार ३६१ जना सदस्य रहेका संस्थाले जनाएको छ ।
कार्यक्रमको स्वागत उपाध्यक्ष देवेन्द्र श्रेष्ठले गरेका थिए भने सञ्चालन सचिव सन्तोष कुमार घिमिरेले गरेका थिए ।

नेपालपत्र संवाददाता