बुधबार, भाद्र ३ गते २०८३

सानीभेरी जलविद्युत् आयोजनामा ५ बैंकले ७ अर्ब २० करोड लगानी गर्दै


भाद्र १८, २०८२ बुधबार
सानीभेरी जलविद्युत् आयोजनामा ५ बैंकले ७ अर्ब २० करोड लगानी गर्दै

सानीभेरी जलविद्युत् आयोजनामा ५ बैंकले ७ अर्ब २० करोड लगानी गर्ने भएका छन् । एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा नबिल, एनआइएमबी, सानिमा र सिद्धार्थ बैंकले लगानी गर्ने भएका हुन् ।

आयोजनामा सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड रुपैयाँ, सानिमा बैंक र सिद्धार्थ बैंकले समान १—१ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।

सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इभेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

कूल ९ अर्ब ६० करोड रुपैयाँ लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट जुटाइने प्रबन्ध निर्देशक नेपालले जानकारी दिए । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने सो आयोजना ४२ महिनाभित्र सम्पन्न गरिनेछ ।

नदी प्रवाही प्रकृतिको सो आयोजनाबाट उत्पादित बिजुली बाफिकोट सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक रुपमा २८३.३७ गिगावाट प्रतिघण्टा बिजुली उत्पादन हुनेछ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० असार २७ मा विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ ।