भक्तपुरको सूर्यविनायकमा रहेको अनमोल बचत तथा ऋण सहकारी संस्थाले १२औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले कार्तिक ३ गतेबाट साधारण सभा शुरु गरी सदस्यता पुस्तिका खुल्ला तथा वार्षिक प्रतिवेदन वितरण आज औपचारिक रुपमा साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष बच्चुराम थापाले सहकारी क्षेत्र अर्थतन्त्रको बलियो खम्बाको रुपमा विकसित हुँदै गएको बताए । संस्थाले आफ्नो भवन निर्माण अघि बढाएको जनाउँदै उनले चालु आर्थिक वर्षभित्रै नयाँ भवनबाट कार्यालय संचालन हुने जानकारी दिए ।
संस्थाका सचिव राजु श्रेष्ठले भक्तपुर जिल्लाभर कार्य क्षेत्र रहेको र सबै सदस्यहरुलाई समान किसिमले व्यहार गरेकै कारण सदस्यहरुको संख्यामा वृद्धि भईरहेको बताए । उनले संस्थाले उत्पादनमूलक, सिपमूलक, आयमूलक, व्यवसायमूलक र रोजगारमूलक क्षेत्रहरुमा लगानी गरी आर्थिक तथा सामाजिक रुपले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्ने लक्ष्य रहेको बताए । चालु आ.व.मा शेयर पुँजी वृद्धि गर्ने, लगानीको क्षेत्र विस्तार गर्ने, सेवा प्रवाहमा सहजिकरण गर्ने, खराब कर्जा व्यवस्थापना गर्ने जस्ता योजना रहेको उनले जनाए ।
संस्थाका कोषाध्यक्ष तुलसा देवी थापाले गत आर्थिक वर्ष २०७७।०७८ मा ९४ लाख आम्दानी गरेको जानकारी दिइन् । थापाले आव २०७७।०७८ मा ३ करोड २१ लाख ३८ हजार शेयर, ८६ करोड १४ लाख २४ हजार बचत र ७४ करोड १९ लाख ९५ हजार ६८४ रुपैयाँ लगानी भएको जानकारी दिइन् । अघिल्लो आ.व.को तुलनामा क्रमशः शेयरमा २६.६७, बचतमा ४२ र लगानीमा ५०.३९ प्रतिशतले वृद्धि भएको उनले जनाइन् । संस्थामा कूल ४ हजार ८८९ जना सदस्य रहेका छन् ।
संस्थाका प्रबन्ध निर्देशक राजु थापाले सदस्यको सन्तुष्टि नै संस्थाको सफलता हुने भन्दै उनीहरुको आवश्यकता र चाहाना अनुरुप कार्यक्रमहरु बनाई लागू गर्ने र मूल्यांकन गर्ने प्रतिवद्धता जनाए ।