शनिबार, कार्तिक ८ गते २०८३

सहकारीका सुरक्षागार्डको निर्मम हत्या गरी लुटियो रकम, एक सातासम्म फेला परेनन् हत्यारा

कार्तिक १७, २०७८ बुधबार
सहकारीका सुरक्षागार्डको निर्मम हत्या गरी लुटियो रकम, एक सातासम्म फेला परेनन् हत्यारा

 

दोलखाको गौरीशंकर गाउँपालिका–१, जुँगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थाका सुरक्षागार्ड पूर्णबहादुर खड्काको निर्मम हत्या भएको छ । 

संस्थामा रात्रिकालिन सुरक्षा दिँदै आएका खड्कालाई घरबाट कार्यालय जाने क्रममा बाटोमा अपहरण गरी हत्या गरिएको भेटिएको हो । गत कार्तिक १० गते बेलुकी ६ः३० बजेतिर घरबाट कार्यालयको सुरक्षाका लागि हिँडेका खड्का भोलिपल्ट बिहान घर नफर्किएको र कार्यालय जाँदा तोडफोडको अवस्था देखिएपछि संस्थाका व्यवस्थापकले सो विषयमा परिवारलाई जानकारी गराएका थिए । जानकारी पाए  लगत्तै संस्थाका सञ्चालक, कर्मचारी र परिवारका सदस्य भेला भएर घटना र निजको बारे खोजतलाश गरेका थिए । सो विषयमा ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, दोलखा र स्थानीय प्रहरी बिटलाई जानकारी गराइएको थियो । खड्काले प्रयोग गर्दै मोबाइल सम्पर्क गर्दा स्वच अफ देखाएकोले अन्यौल भएको थियो । 

वेपत्ता भएका खड्काको खोजी गर्दै जाँद दुई दिन पछि जुँगु–झ्याँकु सडकखण्डको पानीडाँडा नजिकै कार्यालयभन्दा ५सय मिटर वर बाटोमुनि जंगलमा उनको शव फेला परेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ । उनको अपहरण पछि त्यसै दिन करिब ७ः३० बजे हत्या भएको प्रारम्भिक अनुसन्धानले जनाएको छ । निज खड्काको हत्या भएको सात दिन बित्दा समेत हत्यारा फेला परेका छैनन् । प्रहरी हत्यारा पत्ता लगाउन आफुसँग भएको सबै श्रोतसाधनको प्रयोग गरी अनुसन्धानमा जुटिरहेको छ । हत्या योजनावद्ध ढंगले गरिएको र पेशेवरको संलग्ना रहेको हुनसक्ने अनुमान प्रहरीको छ । प्रहरीले जुनसुकै हालत हत्याराको पत्ता लगाई कानुनको कठघरामा ल्याउने प्रतिवद्धता मृतक परिवारसँग गरेको छ । मृतक खड्काका छोरा रमेश खड्काले छिटोभन्दा छिटो हत्याराको पत्ता लगाई कानुनी कारवाही हुनुपर्ने माग गरेका छन् । हत्याराको पत्ता लागेर दण्डसजाय नभएसम्म आफुहरुले न्याय नपाउने भन्दै उनले त्यसका निम्ति राज्य र प्रशासनले सक्रियता देखाउनु पर्ने जनाए । 

मृतक खड्का विगत १० वर्षदेखि उक्त संस्थाको सुरक्षा गार्डको रुपमा काम गर्दै आएका थिए । 

मृतक खड्काबाट कार्यालयको चाबी कब्जामा लिई हत्याराले संस्थाबाट रकम समेत चोरी गरेको छ । संस्थाका अध्यक्ष प्रकाश बहादुर खड्काले दुई लाखको हाराहारी नगद चोरी भएको बताए । संस्थाका व्यवस्थपाक नैन बहादुर जिरेल कामको सिलसिलामा कार्यालय बाहिर रहेको र त्यस बीचमा संकलन भएको रकम भल्टमा राख्न नपाइएकाले उक्त रकम चोरी भएको उनले बताए । भल्टमा रहेको करिब ५ लाख समेत चोर्न प्रयास गरेको भएपनि भल्ट फुटाउन नसकी त्यसै छाडेर गएको उनले जानकारी दिए । 

२०६० सालमा स्थापना भएको उक्त संस्थाको ५ करोडको कारोबार रहेका छ । स्थानीय बासिन्दाको वित्तीय आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले दुर्गम क्षेत्रमा स्थापना भएको उक्त संस्थाले सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपमा सबल बनाउनका निम्ति भूमिका खेल्दै आएको छ । 

स्थानीय स्तरमा क्रुरतापूर्वक हत्या भएपछि सिंगो गाउँ अहिले स्तब्ध भएको छ । हत्यारा पत्ता नलाग्दासम्म स्थानीयहरुमा डरको अवस्था सिर्जना भएको छ ।