शनिबार, कार्तिक ८ गते २०८३

२६ वर्षमा सगुन साकोस: अझ उत्कृष्ट, दिगो र विश्वासिलो बनाउने प्रतिबद्धता


श्रावण १९, २०८२ सोमबार
२६ वर्षमा सगुन साकोस: अझ उत्कृष्ट, दिगो र विश्वासिलो बनाउने प्रतिबद्धता

 

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–११ मा अवस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड २६औँ वर्षमा प्रवेश गरेको छ। ३६ जना सदस्य र १ लाख ७६ हजार रुपैयाँ पुँजीबाट सुरु भएको यो संस्था आज १३ हजार ७१० सदस्यसहितको विशाल सहकारी परिवारमा रूपान्तरण भएको छ।

स्थानीय समाजसेवी, राजनीतिक, व्यवसायिक तथा अग्रज व्यक्तिहरूको सहकार्यमा सन् १९९८ मा तत्कालीन डिभिजन सहकारी कार्यालय बारा, कलैयामा दर्ता भई असोज ६ गते प्रारम्भिक साधारण सभा सम्पन्न गरी एउटा कोठाबाट औपचारिक कारोबार सुरु गरिएको सगुन साकोसको पहिलो अध्यक्ष बाबुराम घिमिरे थिए। हाल संस्थाको नेतृत्व अध्यक्ष केशव प्रसाद ढकालले गरिरहेका छन्।

संस्थाले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सदस्यहरू, सरोकारवाला र शुभेच्छुकहरूलाई शुभकामना दिँदै विगतको माया, साथ र विश्वासप्रति आभार व्यक्त गरेको छ। साथै, भविष्यमा अझ गुणस्तरीय, विश्वसनीय र दिगो सेवा उपलब्ध गराउने प्रतिबद्धता अध्यक्ष ढकालले व्यक्त गरेका छन्।

सशक्त वित्तीय प्रगति

संस्थाले प्रारम्भमा ३५ जना सदस्यबाट जनही ५ हजार र एक सदस्यबाट १ हजार रुपैयाँ संकलन गरी कारोबारको थालनी गरेको थियो। आर्थिक वर्ष २०८२ असार मसान्तसम्ममा संस्थाको सेयर पुँजी १५ करोड ११ लाख रुपैयाँ पुगेको छ। जगेडा कोषमा १३ करोड ५३ लाख र संस्थागत पुँजी १४ करोड १७ लाख रुपैयाँ रहेको जानकारी संस्थाका प्रबन्धक रविन्द्र रानाले दिएका छन्।

संस्थाले हालसम्म १ अर्ब ३३ करोड २२ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब १९ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ। संस्थाको कुल सम्पत्ति १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ पुगेको छ।

सेवालाई प्रविधि र पहुँचसँग जोड्दै

मुख्यालय हरिवन–११ मा रहेको सगुन साकोसले पाँचवटा सेवा केन्द्रमार्फत सेवा विस्तार गरेको छ। बागमती नगरपालिका (ढुंग्रेखोला), लालबन्दी नगरपालिका, बरहथवा नगरपालिका, हरिपुर नगरपालिका र ईश्वरपुर नगरपालिकामा सेवा केन्द्र सञ्चालनमा छन्।

संस्थाले सदस्यको आवश्यकतालाई ध्यानमा राख्दै २२ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ। उखु किसानका लागि छुट्टै बचत खाता, हप्ताको सातै दिन सेवा, मोबाइल बैंकिङ, एटिएम सेवा, विप्रेषण सुविधा, तथा जतिसुकै रकम जम्मा वा झिक्न सकिने व्यवस्था जस्ता सेवा उपलब्ध छन्। संस्था स्तरीकरण कार्यक्रम एक्सेस र प्राेबेशनमा आवद्ध रहेको छ।

सम्मान र सामाजिक उत्तरदायित्व

सगुन साकोसले राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कुन, राष्ट्रिय सहकारी बैंक, आन्तरिक राजस्व कार्यालय, तथा प्रदेश सहकारी मन्त्रालयबाट सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ।

संस्थाले नियमित रुपमा सदस्य शिक्षा कार्यक्रम, रक्तदान, छात्रवृत्ति तथा अन्य सामाजिक उत्तरदायित्व सम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। विशेषगरी गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ।

स्थापना कालदेखि नै मूल्य, सिद्धान्त र सदस्यकेन्द्रित सेवामा विश्वास राख्दै अगाडि बढिरहेको सगुन साकोसले आगामी दिनहरूमा अझै उत्कृष्ट सहकारीको रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ।