भक्तपुर । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०८१/०८२ को वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोबिन्द लाखाजुले सहकारी ऐन, नियम, राष्ट्र बैंक र विभागीय मापदण्डअनुसार सहकारी संचालक, कर्मचारी, सदस्य र ऋणीसँग सम्बन्धित पक्षबारे जानकारी गराए । सहकारीकर्मीहरु सुसूचित भई उत्तरदायित्वका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए।
संस्थाका संस्थापक अध्यक्ष गणेशभक्त सितिखुले सहकारी सिद्धान्तअनुसार संस्था अघि बढिरहेको बताउँदै संचालकहरूलाई कर्तव्यप्रति प्रतिबद्ध भई कार्य गर्नुपर्ने बताए।संस्थाका अध्यक्ष बिकुलाल सुवालले समिति, उपसमिति तथा संस्थापक पदाधिकारीहरूको जिज्ञासामा स्पष्टता दिँदै संस्थाको समग्र प्रगतिबारे जानकारी दिए। उपाध्यक्ष गोविन्दराम त्वानाबासुले ऋण सम्बन्धी पक्ष प्रस्तुत गर्नुभयो भने संचालक सदस्य पुण्यराम दुवालले वार्षिक गतिविधि, निर्णय तथा नीतिगत परिमार्जनबारे जानकारी गराए।
कोषाध्यक्ष नारायण प्रसाद लागेले हालसम्म ४१४० सदस्य रहेको जानकारी दिँदै कूल कारोबार रकम रु. ८६ करोड २ लाख ३८ हजार रहेको प्रतिवेदन पेश गरे। लेखा सुपरिवेक्षक संयोजक सुरेन्द्र प्रसाद दुवालले संस्थाको वित्तीय विश्लेषण गरे भने लेखा परीक्षक सुरेन्द्र हाडाले संस्थाको आय/व्यय विवरणमा देखिएका विषयहरूमाथि छलफल गर्दै आवश्यक सुधारका विषय सिफारिस गरेका थिए। कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासा राखेका थिए भने कार्यक्रम गिता मैयाँ कोण्डाले सञ्चालन गरेकी थिइन् ।

नेपालपत्र संवाददाता