शुक्रबार, कार्तिक ७ गते २०८३

सदस्य शिक्षा कार्यक्रम गरी कुम्भेश्वर महिला साकोसले मनायो १५औं स्थापना दिवस


श्रावण १६, २०८२ शुक्रबार
सदस्य शिक्षा कार्यक्रम गरी कुम्भेश्वर महिला साकोसले मनायो १५औं स्थापना दिवस

 

ललितपुरमा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी १५औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा आज सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रमको आयोजना गरेको हो । सहकारी शिक्षा मार्फत सदस्यहरुलाई बचत र ऋणको महत्व बुझाउने उदेश्यले विस्तारित मञ्च कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । 

संस्थाकी अध्यक्ष शान्तलक्ष्मी खड्गीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सचिव सफलता खड्गीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा अध्यक्ष खड्गीले संस्थाको विगतदेखि हालसम्मको वित्तीय विवरणका साथै सदस्यहरुलाई सहकारी सम्बन्धी प्रशिक्षण दिइएकी थिइन् । उनले सुरुमा महिला  बचत समुहमार्फत् मासिक एक सय रुपैयाँ बचत गर्दै आएको र बचतऋणको कारोबारलाई कानुनी मान्यता दिन केहि समयपछि सहकारी संस्थामा रुपान्तरण गरिएको बताइन् । 

२०६७ सालमा बचत समुहलाई डिभिजन सहकारी कार्यालय ललितपुरमा विधिवत् दर्ता गरी वित्तीय कारोबार गर्न सुरु गरेको पन्ध्र बर्ष पुरा भई १६ बर्ष लागेको उनले बताइन् । उनले मासिक बचतलाई प्राथमिकता दिएकाले संस्थामा आवद्ध सदस्यहरुले नियमित रुपमा ३ सयदेखि एक हजारसम्म मासिक बचत गर्ने गरेको उनको भनाई छ । अहिले संस्थामा मासिक बचतको हिस्सा ४ करोड ६२ लाख पुगेको छ । बजारमा सहकारीप्रति नकारात्मक सन्देश फैलिएको समयमा पनि सदस्यहरुले संस्थालाई विश्वास गरेर आजको अवस्थामा ल्याइपु¥याउन सफल भएको र गत असार मसान्तसम्म संस्थाको कुल सम्पत्ति २० करोड पुगेको उनको भनाई छ । 

सुरुमा ४ लाख  ७२ हजार शेयर  पुँजी र २५ लाख बचतबाट सुरु गरिएको संस्थाको आर्थिक बर्ष २०८१÷८२ को असार मसान्तमा १ करोड २५ लाख शेयरपुँजी र १७ करोड ऋण लगानी पुगेको छ । संस्थाले सदस्यकेन्द्रीत बचत तथा ऋण लगानी गरेको र सञ्चालकहरुले घरजग्गा जस्ता कुनै पनि क्षेत्रमा लगानी नगरेको उनले बताइन् । संस्थालाई सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गरेको कारण  सदस्यको विश्वास बढेर गएको भन्दै उनले २५ जना सदस्यबाट सुरु भएको संस्थामा अहिले ८ सय माथि महिला सदस्य आवद्ध भएको बताइन् । 

पछिल्लाे समय बचतऋण सहकारीहरूकाे नियमनकाे लागि सहकारी नियमन प्राधिकरण गठन भइसकेकाे र अब संस्थाहरू थप सुरक्षित भएर सञ्चालित हुने उनले बताइन् । प्राधिकरणले जारी गरेको निर्देशनमा सदस्य र सञ्चालक दुवैका समेटिएकाे अनुशासित भएर संस्था सञ्चालन गर्नुपर्ने उनले जनाइन् । 

kumbheswor mahila 2.jpg

संस्थाले सदस्यहरुलाई लक्षित गरी नियमित, ऐच्छिक, विशेष नारी, सुनौलो भविष्य, पेन्सन, भ्रमण भविष्य, जेष्ठ नागरिक तथा बालबचत खाता सञ्चालनमा ल्याएको छ । कार्यक्रममा उनले आफुले कमाएको रकमबाट भविष्यको लागि विभिन्न बचत स्कीममा सहभागी भएर बचत गर्न आग्रह गरिन् । अहिले गरेको ससानो बचतले भविष्य सुन्दर हुने भन्दै उनले भविष्यमा आइपर्ने खरखाँचोदेखि घरजग्गा खरिद तथा बालबच्चाको उच्च शिक्षामा समेत सहयोग पुग्ने जनाइन् । अध्यक्ष खड्गीले अहिलदेखि नै बचत गर्दै जाँदा भविष्यमा कुनै कार्य गर्नको लागि संस्थाबाट ऋण लिन नपर्ने र बुढेसकालको सहारा समेत हुने भन्दै दीर्घकालिन बचतमा जोडिन् सुझाइन् । 

त्यसैगरी उनले संस्थाबाट ऋण लिएर फजुल खर्च गर्ने भन्दा पनि आयआर्जन हुने क्षेत्रमा लगानी गर्न सल्लाह दिइन् । उनले अहिले देखासिखी गर्ने प्रवृत्ति बढेर गएको भन्दै विवाह, ब्रतबन्ध र  भोजभतेर गर्न समेत ऋण लिनु गलत भएको उल्लेख गरिन् । अनावश्यक ऋण नलिन उनको सुभाव छ । फजुल र देखाउनकै लागि खर्च गर्ने बानीले अनावश्यक खर्च बढाउने भएकाले वित्तीय योजना बनाएर मात्र खर्च गर्न उनले आग्रह गरिन् । संस्थाले सदस्यहरुलाई शिक्षित बनाउन विगतदेखि नै प्रौढ कक्षा, प्राविधिक तथा व्यवसायिक सीपमूलक तालिम समेत प्रदान गर्दै आएको छ । 

संस्थाले व्यवसायिक, व्यक्तिगत जमानी, घरजग्गा र शैक्षिक क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । सो अवसरमा संस्थाकी कर्मचारी लक्ष्मी थामीले सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्दै आम्दानीबाट पहिले बचत छुट्याएर मात्र खर्च गर्न आग्रह गरिन् । आजको सानो बचतले भविष्य सुनिश्चित हुने भन्दै उनले दैनिक दश रुपैयाँ छुट्याएर मासिक बचत गर्न सकिने उल्लेख गरिन् । कार्यक्रममा संस्थाका पूर्व सञ्चालक, सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति, कर्मचारी र सदस्यहरुको उल्लेख उपस्थिति रहेको थियो ।