मानव तस्करी आधुनिक विश्वको यस्तो एउटा त्याज्य र तीतो सत्य हो जसले बिश्व मानब सभ्यता र बिकासका सम्पूर्ण दाबीलाई झूटो साबित गर्दछ । बिश्वमा हरेक ३० जुलाईका दिनलाई ‘मानब तस्करी निषेध दिबस’कोरुपमा मनाउने गरिन्छ र यस दिनले हामीलाई स्मरण गराउँदछ कि मानिसलाई एउटा बस्तुकोरुपमा किनबेच गर्ने यस्तो मानब–द्रोही प्रथा अहिले पनि हाम्रो समाजमा जीवन्त छ । अनि यो केवल एउटा पिछडिएको अशिक्षित क्षेत्र र बर्गको मात्र समस्या पनि रहेको छैन । यो त ती सबै न्याय, स्वतन्त्रता र मानत्रब गरीमामा बिश्वास राख्ने ब्यक्तिहरुको समेत समस्या हो र बनेको छ ।
आजको आधुनिक जमानमा पनि अरु देशको तुलनामा धेरै पछाडि परेको र खाशगरी बिश्वको दोश्रो आर्थिक शक्ति चीन र पाँचौ आर्थिक शक्ति भारतको बिचमा रहेर पनि परनिर्भरताको पासोमा परेर पिछडिएको देशमा मानब तस्करी झन् ठूलो महारोग बनेर फैलिएको कुरा त नेपालीलाई भूटानी शरणाथी बनाएर बिदेश पठाउने अपराध र भिजिट भिस्सा प्रकरण जस्ता संगठित आधुनिक अपराधले नै प्रष्ट पार्दछन् । यसको पछाडि हाम्रो देशमा ब्याप्त सामाजिक आर्थिक असमानताले गहिरो गरी जरा गाडेको स्थितिको दुष्परिणाम हो भन्न पनि कुनै धक मान्नु पर्ने कुरा छैन । बाल बालिका र महिलाहरुको तस्करी त यी ठूला मानब तस्करीको छेउमा फिका परेको आज देशमा अनुभूति भइरहेको छ । यद्यपि हाम्रो मूलतः ग्रामीण क्षेत्रबाट लामो समयदेखि किशोरी र बाल बालिकाको तस्करी हुने गरेको तथ्यांकहरु रहेका छन् । जसलाई बहकाएर, प्रलोभन देखाएर शहरमा जागिर, शिक्षा, बिबाह र सुरक्षित तथा सुन्दर जीवनको आकर्षण दिएर समेत यस्तो मानब तस्करीको शिकार बनाउने गरेको पाइन्छ । त्यसरी उनीहरुलाई देह ब्यापार, घरेलु नोकर, जबर्जस्ती मजदुरी, भिक्षाबृत्ति, अंग ब्यापार, बाल बिबाह, मसाज पार्लर, स्पा, साइबर कम्पनी आदि जस्ता कृत्यमा अमानबीय स्थितिमा धकेलिन्छ ।समाजको मौनता, कानुनको डर नहुुनु र पीडितहरुको बिवशताले उपरोक्त सबै सञ्जाललाई लगातार सबल तुल्याउने गर्दछन् ।

जहाँसम्म प्रबिधि र इण्टरनेटको बिकासले मानब जीवनलाई सरल र तीब्र गति दिने योगदान पुर्याइरहेको छ त्यही यसको दुरुपयोगले मानब तस्करीका नयाँ नयाँ जटीलताहरु पनि प्रकाशमा आइरहेका छन् ।अचेल सामाजिक सञ्जालका माध्यमहरु,डेटिङ्ग एप्सहरु, नक्कली नोकरी, नक्कली प्लेसमेण्ट एजेन्सीहरु, नक्कली वेभसाइट आदिका माध्यमले बाल बालिका र किशोरीहरुलाई तिनको जालमा फँसाउन सजिलो भएको छ । मानब तस्करहरु पहिला शुरुमा हितैषी मित्र बन्दछन् र झूटो बिश्वास आर्जित गर्ने गर्दछन् अनि पीडितहरुलाई फँसाएर गाउँघरबाट देश बिदेश जता भए पनि बाहिर पठाउने गर्दछन् ।
प्रकाशित तथ्यांक अनुसार भारत नेपाल, बंगालादेश र म्यानमारबाट ठूलो संख्यामा महिलाहरु, खाशगरी किशोरीहरुलाई यस्तो तस्करीको माध्यमबाट देशकै बिभिन्न शहरहरु र बिदेशका महानगरहरुमा समेत पठाएर यौनधन्धा तथा अन्य निःकृष्ट घरेलु काममा लगाइने गरेको पाइन्छ । इण्टरनेटको अनियन्त्रि पहुँच र साइबर सुरक्षमा कमीका कारणले समेत यो समस्यालाई अझ ब्याप्त र गहिरो बनाइदिएको प्रतीत हुन्छ । त्यसमा पनि दुर्भाग्य के छ भने पीडितहरुलाई नै अपराधी मान्ने गरिन्छ र उनीहरुलाई न्याय दिनुको साटो उनीहरुले सामाजिक शर्म र बहिष्करणको सामना गर्नुपर्ने स्थिति बन्दछ । यस अमानबीय दुष्चक्रमा प्लेसमेण्ट एजेन्सीहरुले वर्क भिसा तथा पर्यटक भिसाको चक्कर चलाएर पनि आफ्ना जाल फैलाएको अनुसन्धाताहरुले दर्र्र्शाएका छन् । कामका बहानामा धेरैलाई टुरिष्ट भिसाको चक्करमा बिदेश पठाइने गरेको र यसरी तिनलाई तस्करीको शिकार बनाइने गरेको अनेक घटनाहरु भइरहेका छन् ।
यद्यपि मानब तस्रकी रोक्न अनेक ऐन कानुनहरु पनि नबनाइएका होइनन्, छन् । अनि कतिपय तिनले पीडित पक्षको पहिचान, सुरक्षा तथा पुनर्बास तथा पुनः समाजमा अन्तरघुलित हुनका लागि समेतका प्रकृयाहरुको पनि सुनिश्चितता प्रदान गर्ने पनि गर्दछन् । तर हाम्रो देशमा यस्ता नीति र तिनको कार्यान्वयनको बीचमा ठूलो खाडल छ । कानुनको असर त्यति बेलामा मात्र समाजमा पर्दछ जति बेला त्यसको सही सही र प्रभावकारीरुपमा कार्यान्वयन गर्ने गरिन्छ । तर दण्डहीनता, उदासीनता र भ्रष्टाचारले गर्दा पीडितहरुको समाजिक स्थितिले बिद्यमान कानुहरुलाई पनि निष्प्रभावी तुल्याइदिन्छ । यस सम्वन्धमा सरकारीको अतिरिक्त गैर सरकारी संस्थाहरु पनि क्रियाशील रहेको पाइन्छ । तर तिनको अपेक्षित पहुच पीडितहरुका बीचमा नपुगेको र पुगे पनि अपर्याप्त रहेको छ ।

मानब तस्करी एउटा यस्तो अपराध हो जुन हाम्रो समाजको, समुदायको सम्बेदनहीनता र सामुहीक मौनताबाट फाइदा उठाएर फुल्ने फल्ने र फैलिने गर्दछ । पीडितले प्रायः आवाज उठान सक्तैनन् । उनीहरुमाथि शर्म, डर, धम्की तथा सामाजिक बहिष्करणको तरबार झुण्डिएको हुन्छ । कतिपय पीडितले त यो कुरासम्म पनि बुझेका हुँदैनन् कि उनीहरुमाथि जे भइरहेको छ त्यो अपराध हो । त्यसमाथि समाज बिशेष गरेर शहरी मध्यम बर्ग र ग्रामीण समुदायले यसलाई या बेवास्ता गरिदिन्छन् या ‘घरेलु या पारिबारिक मामिला’ भनेर टारिदिन्छन् । अनि त उनीहरुको यही बहानाबाजी र मौनता मानब तस्करको एउटा उर्बर भूमि बन्न पुग्दछ । जबकि समाजको जागरुकता, सतर्कता र सक्रियता यस समस्याको समाधानको प्राथमिक र आधारभूत कुरा हो । बिद्यालय, महाबिद्यालय लगायतका सामाजिक संस्थाहरु, स्थानीय निकायहरु, यूवा साइबर सुरक्षाका जानकारहरु, महिला तथा किशोरीहरुको अतिरिक्त सुरक्षा कानुनहरुको ज्ञान आदिकासाथ सामुहीरुपमा सक्रिय किसिमल चल्ने हो भने केवल महिला तस्करीलाई रोक्ने मात्र होइन कि ती सबै पीडितहरुका लागि ठूलो सहारा पनि बन्न सक्दछन् ।
जबसम्म समाजमा एकजना पनि मानिस बिभिन्न कारणले गुलमा बन्न बाध्य भइरहने स्थिति बनिरहेको हुन्छ त्यतिबेलासम्म त्यो समाज स्वतन्त्र मानिदैन । मानब तस्करी केवल कानुनको उल्लंघन मात्रै पनि होइन, यो त मानब गरीमा, स्वतन्त्रता र अधिकारमाथिको प्रत्यक्ष प्रहार हो । यो वास्तवमा आधुनिक युगको सबैभन्दा संगठित र क्रूर प्रणाली हो, जसले मानिसहरुको सपना, शरीर र मनलाई तोडेर उनीहरुलाई जीवित लास बनाइदिन्छ । त्यसैले यो समस्याको बिरुद्ध सरकारी गैर सरकारी शक्ति मात्रै होइन समाजको हरेक जागरुक ब्यक्ति समेत जिम्मेवारीपूर्बक लाग्नै पर्दछ । यसलाई आमूल परिबर्तनको सामाजिक आन्दोलनसँग गाँसेर अघि बढाउन सकियो भने मात्र यो सामाजिक कलंकबाट सदा सदाका लागि मुक्त हुन सकिने छ ।