भूमिका
राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरी बाइसे चौबिसे राज्यहरुलाई नेपाल अधिराज्यमा विलय गराउनु पूर्व अत्रिगोत्रिय, चन्द्रवंशी मल्ल ठकुरी राजाको अधिनस्थ चौबिसे राज्य भित्र पर्ने पर्वत एक शक्तिशाली राज्यको रुपमा चिनिन्थ्यो । दक्षिण-पश्चिम जुम्ला, गलकोट, ईस्मा- गुल्मी र प्यूठान, उत्तर भोट जसलाई आजकल मुस्ताङ्ग भनिन्छ, यसदेखि दक्षिण पूर्व ज्ञादी कास्कीसम्म पर्वत राज्यको विस्तार थियो । जुम्लाका राजा मलेबमका बंशजहरु रुकुम हुँदै आएर पर्वत राज्यको विस्तार गरी शासन गरिरहेका थिए । यसलाई १६ हजार पर्वतको रुपमा पनि चिनिन्थ्यो । १६०० पर्वत भनेको यस राज्यमा सोह्रहजार घरकुरिया थिए भन्ने जनाउँछ । बहादुर शाहले संवत १८४३को माघ महिनामा तेश्रो चोटीको आक्रमण गरी पर्वत राज्यको अस्तित्व एकीकृत विशाल नेपालमा समाहित गराएको इतिहास छ ।
वि.सं.१४९३ मा स्थापित चन्द्रवंशी, अत्रिगोत्र, मल्लथरका आनंपृय(आनन्द) बमदेखि– कीर्तिबम सम्म १४ पुस्ता (लेखक टेक वहादुर श्रेष्ठ, पर्वत राज्यको ऐतिहासिक रुपरेखा पृ. ५– त्रिविवि अनुसंधान केन्द्र कीर्तिपुर) शासनकाल भएको पाईन्छ ।
यस पछि चन्द्र बम, डिम्व बम (दिलीप) हुदै चौथो पुस्तामा नाग बमदेखि मात्र मल्ल लेख्न थालिएको थियो। सबैभन्दा लामो शासनकाल डिम्ब बमको मानिन्छ। उनी १२० वर्ष बाँचेका थिए भनिन्छ । उनका जेठा छोरा नाग बम युवराज मानै मरेका थिए। युवराज छँदै नागराजलाई दिल्लीका मुगल सम्राट मोहमद लोदी (लोदीको शासनकाल विसं १५४६-१५७४)को दरवारमा उनले देखाएको पहलमानीबाट प्रभावित भै सम्मान स्वरूप 'मल्ल' पदवी दिएका थिए । त्यसबेला देखि नाग बमले आफ्नो नाम पछाडि मल्ल राख्न शुरु गरेका थिए। नाग बम मल्ल पछि सबैले मल्ल लेख्न थालेको पाइन्छ। नाग बमको पर्वते राज्य विस्तारमा महत्वपूर्ण भूमिका रहेको थियो । यसरी उनका छोरा प्रतापी नारायण मल्ललाई पाँचौं पूस्ताका राजा मानिएको छ।
(५) प्रतापी नारायण मल्ल वि.सं. १५९०, मा राजा भए।
(६) राजबम मल्ल वि.सं.१६३१ मा राजा भए।
(७) शिव मल्ल
(८) नाग मल्ल (द्विप्तीय )
(९) नारायण मल्ल
(१०) शाहीबम मल्ल वि.सं.१६९०मा राजा भए।
(११) घनश्याम मल्ल वि.सं.१७१५-दिवंगत १७४३
(१२) मलेबम मल्ल – (विक्रम संवत १७९१ मा आफ्ना छोरा शाहबमलाई राजगद्धीमा बसाली आफु काशी बास् जान्छन्। उनको काशीमै वि. स. १७९३ मा देहावसान हुन्छ।)
(१३) शाहबम मल्ल वि.सं.१७९१मा राजा भए।
(१४) कीर्तिबम मल्ल वि.सं.१८१५मा राजा भए। १८४३मा पर्वत राज्यको हार पछि उनको शासन टुंगिइन्छ ।
“राजा कृति बम मल्लका पाँच भाई छोराहरु मध्य जबरजंग(जंजाल) मल्ल, जामुनी मल्ल र वौद्ध मल्ल ३ भाई छोराहरुले गोर्खालीहरुसँगको युद्धमा वीरगति प्राप्त गरेका थिए । बाँकी दुईजना नरसिंह (वनायरी) मल्ल र वीरनारायण मल्ल नाम गरेका छोराहरु गोर्खालीले पर्वत माथि विजय पाए पछि कीर्ति बम मल्लले आफुसँगै बनारस तिर लिएर गएका थिए। पर्वतको हार भएको एक वर्ष पछि नै कीर्ति बमको संवत १८४४ तिर बनारसको काशीराज्यको मदनीपुरमा देहावशान भयो ।“ (मोहन बहादुर मल्ल-'पर्वत राज्यको इतिहाँस्' प्राचिन नेपाल)
लूँखेली मल्ल राजा कृति बम मल्लका जेठा छोराका सन्तान
कृति बम मल्लका जेठा छोरा जवरजंग वीर बम मल्ल, उनलाई जन्जाल मल्ल भनेर पनि बोलाइन्थ्यो। उनको विवाह नुवकोटे राजा (पश्चिम ४ नम्वर, हाल श्याँजा जिल्लामा पर्ने)को छोरीसँग भएको थियो । जवरजंगका पनि ६ भाई छोराहरु थिए । जवरजंग युद्धमा मारिनु र पर्वतको हार पछि यिनका दुई भाइ छोरा हिमु मल्ल र ऋखु मल्ल पर्वत राज्यको ढोलथान गढीवाट पूर्वी क्षेत्रवाट बग्ने काली गण्डकी तरी तत्कालिन सेन ठकुरी वंशीय राज्य पैयुँमा पर्ने वाच्छा-विहादी पुगी त्यहाँ दुईअढाई वर्ष बसोबास गर्छन् । वि.सं. १८४६ तिरको असार महिना, वर्षा याममा उनीहरु बसोबास गरेको ठाउँमा चट्याङ्(बज्र) परी पाँच हल गोरु र दर्जनौ गाई भैंसी-वस्तुभाउहरू र सम्पत्तिको नाश भएपछि यो स्थान अशुभ लागेको थियो । यसै सालको हिउँदमा गौतम थरका गुरुको सल्लाह अनुसार त्यहाँबाट पैयुँ राज्यको लुँखु धुवाँकोट भन्ने ठाउँमा गइ स्थायी रुपमा बसोबास गर्न थालेका हुन् ।
अर्का एक भाई दुर्गा मल्ल हालको पर्वत जिल्लाको मल्लाजमा आई बसोबास गर्न थाले । एकभाई पुण्टे(पुड्के) ठकुरी, हालको बाग्लुङ्ग जिल्लामा पर्ने हर्पेकुत हुँदै वुर्तिवाङ्ग भन्ने ठाउँमा र एकभाई हाल म्याग्दी जिल्लाको छिस्वाङ्गमा बसोबास गर्न थालेको भनिन्छ। एकभाई चाहीं युद्धमै मारिएको जनश्रुति छ।
लुँखुमा मल्लहरुको आगमन
हालको लुँखु गाउँ पूर्व दक्षिण फर्केको, पाटा (तरेली) परेको बिस्तारै पानीढलो परेको घमाइलो सूर्य उदाएको र अस्ताएको अनुपम दृश्य अवलोकन गर्न सकिने, पुर्वी उत्तर कुनाबाट धौलागिरी, अन्नपुर्ण हिमालको शितलता अविछिन्न बहने, माछापुछ्रे हिम्चुलिको अलौकिक दृश्य देखिने । कलकल पानी बग्ने खोला खोल्सिले बार्है महिना हरियाली । लहरा-पहरा र गुफा कंदराको सन्जाल । बिभिन्न जात-जाति-प्रजातिका बृक्षहरुले भरिएको घना जंगल, रमणीय स्थान देखेपछि ढोल्थान देखि राजकुमारहरुसंग साथै आएका गौतम थरका राजगुरुलाई यो ठाउँ असाद्धै मन पर्यो र पर्वते राजाका छोराहरुका लागि यस भूमि अति लाभकारी, सन्तान दरसन्तानलाई शुभहुने, शत्रुको आंखा नपर्ने, आफ्नो ज्ञान बुद्धी र अनुभवको अधारमा उनले निचोट निकाली यस ठाउँमा बसोवास गराएका रहेछन । यसरी चौबिसे राज्य पर्वतका आन्तिम राजा कीर्तिबम मल्लका नातिहरु, जेठा छोरा जबर जंग (जन्जाल) मल्लका दुईभाई छोरा हिमु मल्ल र ऋखु मल्ल लुँखुको हालको माझघर भन्ने ठाउँलाई उपयुक्त ठहराई बसोवास गर्न थालेका थिए । माझ्घर भन्ने नाम पछि मात्र रहन गएको हो ।
गोतामेसंग जोडिएको रोचक प्रसंग
पर्वते राजाका सन्तानहरु लुँखु धुवाँकोट आई पुग्नुमा एउटा अर्को रोचक घाटना पनि सुनाइन्छ- "लुँखुमा गोतामे थरका ब्रह्माणको पहिले देखिनै वसोवास रहेछ । तिनको घरमा एउटी बृद्धा आमा रहिछिन । असारको महिना थियो सबै काममा गएका थिए । असार महिनामा लुँखुलाई हुस्सुले पुरै ढाक्दछ । केहि दुरिसम्म पनि देख्न सकिदैन । त्यस बखतको लुँखु घना जङलेले ढाकेको थियो । जङ्गल र ढाँडको नजिक रहेको घर, निष्पट सुन्सानको मौका छोपी एउटा बाघ आएर बूढ़ी आमालाई मारी नजिकैको ढाँड्मा लगेर खाएछ । यस घट्नाले गोतामे परिवारलाई ठूलो भय र दु:ख-चिन्ताले सताएछ। गोतामे बाहुनका छोराहरुले पर्बते राजाका छोराहरु आई बाच्छ-बिहादीमा बसेको सुइको पाएका रहेछन । उनीहरुले बिचार गरेछन-राजाका सन्तानहरु धनुषबाण, भाला हतियारहरु चलाउन जानेका होलान, यदि ती राजकुमारहरुलाई ल्याई यहिं वसोवास गराउन सके हाम्रो सुरक्षा हुने थियो। अनि त्यसै साल हिउँदमा गोतामे बाच्छा पुग्छन् । लुँखु धेरै रमणीय स्थान भनी लुँखुको बर्णन गरी लुँखुआई वसोवासको लागि अनुरोध गरेछन् । त्यसै साल बज्रचट्याङ परी गोठमा रहेका बस्तुभाउ समेत मरेर बिचल्ली बनाएको थियो । उनिहरुको मन पनि त्यहाँ रमाएको थिएन, अशुभ जस्तो लागिरहेको थियो । कही राम्रो स्थान फेला परे त्यही जाने भनी दाजु-भाईमा सल्लाह हुदै थियो। यस्तै बेलामा गोतामे ब्रम्हाणको आग्रह सुने पछी लुँखु आई वसोवास गर्ने निर्णय लिएछन् । यसरी हिमु मल्ल, ऋखु मल्लको बि.स. १८४६ को हिउँददेखि लुँखुमा बसोबास शुरु भयो "- भनिन्छ। अहिले लुँखुमा गौतम थरका कुनै मानिस छैनन, केहि पुस्ता पछि गोतामे बाहुनहरु पुर्व त्रिशुलीको किनार तिर बसाइं सरे भनिन्छ । तर यो थरका ब्राह्मणहरुको पैयूँ खोलाको वरपरका पाखामा भने उल्लेख्य बसोबास आज पनि देखन पाईन्छ । मल्लहरुको भने यस स्थानमा सात आठ पुस्ता भन्दा माथि बिती सक्यो । आज पनि लुँखुमा गोतायँको खेतको नामले चिनीने स्थान यथावत छ। यो खेत अहिले मल्लहरुलेनै उपभोग गर्दैछन ।
मल्ल ठकुरीहरू सनातनी हिन्दु धर्मावलम्बी
मल्ल ठकुरीहरू सनातनी क्षत्रिय हिन्दु धर्मालाम्वी हुन्। सम्पुर्ण हिन्दु धर्मालाम्वीहरुकै सरह आफ्नो नित्य पुजाआजा देखि अन्य धार्मिक कार्यमा शुरुमा गणेश भगवानलाई सम्झ्नछन। यसमा मल्लहरु बिशेषत शिद्धि विनायकलाई आफ्नो कुलको गणेश मान्दछन, देवीमा काली र कुल देवतामा नृसिंह भगवानलाई मान्दछन। यसैले बिहान बेलुका
“ॐ शिद्धी गणेश नाम्स्त्युभ्यम महाकाल्यै नमोनम: ।
नृशिंहाय नमस्तेस्तु कुलदेव नमस्तुते ।।”
भनि धुप बत्ति जल आर्पण गरिने प्रचलन छ।
रुकुमेली राजाबाट निसेल भुजेलहरु प्रभावित
मले बमका चार छोराहरु र एक छोरी थिइन् । बाबुको मृत्यु पछि जेठा छोरा जगतीले जुम्ला राज्यको बहिनी ज्वाइलाई समेत गरी पाँच भाग लगाई एक भाग रूकुमका माहिला भाई पिताम्बरलाई दिएका थिए । यसरी पिताम्बर रुकुमका राजा बनेका थिए । रुकुम राज्यको उन्नतिको लागि राजा पिताम्बरले ठूलो काम गरेका थिए । व्यवस्थित बसोवास, खेतीपाती, पशुपालन, रहनसहनमा उनले ठूलो ध्यान पुर्याएका थिए । पछि उनका छोरा जैतु बम रुकुमका राजा हुन्छन्। जैतुले पनि रुकुमको बन्दोबस्ती र उन्नतिको लागि बाबुले झैँ नै मिहिनेत गर्छन्। खेतिपाती, पशुपालन, सिलाई-बुनाइमा रुकुमले प्रगति गरेको देखेर रुकुम पूर्वका निसेल भुजेल भनिने चारहजार पर्वतका मगरहरु लोभिन पुग्छन्। आफुहरुको पनि रुकुमका जनताहरु कै जस्तो उन्नति कसरी गर्न सकिएला भनि सोची आपसमा सल्लाह गरी भुजेल मुखियाहरुले जैतु बमका नाबालक छोरा आनंपृय(आनन्द) बमलाई मागी ल्याएर राजा बनाउँछन्।
“जुम्लाका राजा मले बमका माहिला छोरा पिताम्वरले रुकुम राज्य पाएका थिए । पिताम्वरका छोरा जैतु बमले रुकुममा राम्रो बन्दोबस्त गरेको सुयशबाट लोभिएर निसेल भूजेल भनिने ४ हजार पर्वतका अगुवा मगरहरु जैतुका माहिला छोरा आनन्द बमलाई मागी ल्याई आफ्नो राजा बनाएको भनाई छ । निसेल भुजेल भनिने चार हजार पर्वतका अगुवा मगरहरु रुकुमका राजा जैतु बमसंग राजा माग्न गए । राजासंग कुरा मिल्यो राजआज्ञा भयो मस्तले निदाएका -'युवराज यशो बम बाहेक अरु ६ भाई मध्ये एक रोजेर लिजानु”- (मोहन बहादुर मल्ल-'पर्वत राज्यको इतिहाँस्' प्राचिन नेपाल)।
पर्वत राज्यको राजनीतिक इतिहासमा निशी-भुजिका मगरहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा योगी नरहरिनाथबाट सम्पादित इतिहास प्रकाश अंक १-२०१२ पृष्ठ ६९मा उल्लेख गरिएको छ । यस पुस्तकमा रुकुम राज्यबाट एउटा राजकुमार मागेर ल्याई पर्वत राज्यको शुभारम्भ गरेको वर्णन गरिएको छ ।
जनश्रुति अनुसार हामीले सुन्दै आएको कुरा यस्तो पनि रहेको छ -'पर्वते राजा निःसन्तान भएछन्। राजाको मृत्यु पछि भाईभारदारहरु जम्मा भै सल्लाह-मसौरा गरी तान्त्रिकको निर्देशन अनुसार शुभसाइत निकाली राजाको खोजीमा हिँडेछन् । तान्त्रिकले भनेका थिए- "मध्य रातमा तिमीहरुले बालकहरु सुतिरहेका भेट्नेछौ। ती बालकहरु मध्य जस्को निधारमा मणि बलिरहेको हुनेछ त्यसैलाई लिएर आउनु । त्यो बालकलाई राजा बनाएमा सबैको मंगल हुनेछ।" यसरी बालक राजाको खोजिमा रातमा हिँडिरहेका राजाका सिपाहीहरुले टाढा कुनै बत्तीको उज्यालो जस्तो देखेछन्। त्यहाँ पुग्दा त गाई गोठ रहेछ, गाईहरु उग्राइरहेका थिए । गोठको एक कुनामा बालकहरु मस्तले सुतिरहेका थिए। सबैभन्दा सानो बालक बीचमा सुतिरहेको थियो । उसको निधारमा मणि बलिरहेको थियो । त्यसैको उज्यालो गाई गोठबाट परपरसम्म फैलिएको रहेछ । राजाका सिपाहीहरुले निधारमा मणि बलेको बालकलाई कुनै बिलम्व नगरी उचालेर पिठ्युँमा हाली बोकी दरवार पुर्याए । यतिबेला मध्य रातको अन्त्य भै बिहानीको उज्यालो हुने तर्खरको प्रहर थियो । नवमी तिथि समाप्त भै दशमी तिथिको उदय हुने शुभघडी थियो । यहि शुभ घडीमा बालकलाई राज गद्दीमा बसाले । नयाँ राजाको राजगद्दी आरोहणको शुभ मूहुर्तको स्वागतमा तोप पड्काइयो, बाजागाजा-नगरा बजाईयो । पर्वते मल्लहरुले आजसम्म पनि यसै शुभ घडी, मध्य रात ढलेपछि पूजा आरंभ गर्छन् र बिहान हुनु भन्दा पहिले हातका रौंहरु देखिनु पूर्व कुलदेवताको पूजा सम्पन्न गरिसक्ने प्रचलन रहेको छ। उनीहरुको दिनमा कुल पूजा हुने चलन छैन। साथै कुलदेवतालाई तलको मन्त्र उच्चारण गरि स्तुति गर्ने प्रचलन छ।
'ॐ शिद्ध, रक्तवर्ण महाकाली, दाह्रे मष्ठ नृशिंह ।,
गोठम्मा पिठाम्मा, ढ्याम्म ढुम्म, नमोनम: ।।'
शिद्ध भनेको गणेशको एउटा रुप्-'शिद्धी बिनायाक्', इष्टदेवी - रक्त वर्ण रंग भएकी महाकाली, इष्ट देवता - दाह्रा नंग्रा भएका नृशिंह्, गोठ्बाट पिठ्युँमा बोकी ल्याइएका जस्लाई गद्धिमा राख्दा हर्षबडाई गरियो, तोप पड्काइयो, नगरा बजाईयो ड्याँगा-डुँगाको भयंकर आवाज निस्किएको थियो, त्यस्ता इष्ट देवी देवता, कुलदेवता, पित्री देवता हजुरहरुमा हाम्रो नमस्कार छ भन्ने मन्त्र उच्चारणका साथ् पूजा अर्चाना गरिने चलन छ।
लुँखुका पहिलो बासिन्दाका रुपमा मल्लहरु
मल्लहरू लुँखुमा आई बसोबास गर्नेमा लगभग पहिलो जाति मानिन्छन् । विक्रम संवत १८४६ को हिउँद महिनामा यिनीहरु यहाँ आएको मानिन्छ । त्यसपछि बिस्तारै दमै, कामी, सार्की र ब्राह्मणहरुको बसोबास थपिएको हो। सामान्यत: नेपालको जनसांख्यिकी स्थिति (Demography Position) अध्ययन गर्दा एकघर मात्र ठकुरीको बसोबास किन नहोस यी उल्लेख गरिएका जातिहरुको उपस्थिति रहने गरेको पाइन्छ । यद्यपि मल्ल ठकुरी भन्दा अगाडि अत्रि गोत्रका गोतामेँ ब्राह्मणको एक घर थियो भन्ने छ । यसको साथै लुँखुका पुराना वासिन्दामा अधिकारी ब्रह्माण र श्रेष्ठ (कसजु ) नेवारहरु मानिन्छन।
लुँखुका कस्यप गोत्रीय अधिकारी ब्रह्माणहरु
कश्यप गोत्रीय ब्राह्मणहरुका सन्तान रामेश्वर अधिकारी लुँखुको गाउँको पुछार रातमाटा भन्ने ठाउँमा आई बसोवास गरिएको पाइन्छ । कस्यप गोत्रीय ब्राह्मणहरुका सन्तानले लुँखुको गाउँको पुछार, रातमाटा भन्ने ठाउँमा आएर बस्न थाले पछि त्यहाँ झण्डै चार पुस्ताले जीवन बिताए। पतिको अकाल मृत्यु पछि ब्राह्मण पत्नीले आफ्ना साना तीन वर्ष र पांच वर्षका दुई बालक छोराहरु र काखमा एक वर्ष नपुगेकी छोरी लिएर लुँखु आएकी थीइन रे । शुरुमा ती साना नानीहरुसंग सुनपाती भन्ने ठाउँमा आई बसिन। सुनपाती, पर्वत जिल्ला भित्र पर्ने लुँखु गाउँको पुछार, हालको महाशिला गाउँ पालिका भनी चिनिने वडा नम्वर ६ को पुर्णवाङ धनुवासे र घारलुङ भन्ने ठाउँहरूले घेरिएको स्थानलाई भनिन्छ । यहाँ आएपछि केही समयमा काखकी सानी छोरीको मृत्युहुन्छ। छोरीको मृत्यु पछि व्रह्माणी सुनपातीबाट केहि माथि रातमाटा भन्ने ठाउँमा सर्छिन। आज पनि अधिकारीहरुले अकालमा मरेकी ती बालिकाको आत्मा शान्ति-शुद्धिकोलागि सुनपातीमा सानो मन्दिर बनाई पूजापाठ गर्ने चलन कायमै छ। रातमाटा केही समथर भएकोले खेतिपाती र बसोवासको लागि पहिलाको भन्दा सहज पनि भयो । यसरी अधिकारीहरु चार पुस्ता तलै बिताएर माथि लुँखु सरेको पाइन्छ।
ब्राह्मणीले साथमा लिएर आएकी दुईटा छोराहरु मध्ये कान्छा छोरा तन्नेरी भएपछि दाजुसंग खटपट भएकोले यहाँबाट काँस्कीको "अस्ताम" भन्ने ठाउँमा गै बसोवास गरेको भनाई गर्छन। जेठा छोरा रामेश्वरका सन्तानहरु पनि बढ्दै गए। रामेश्वर पाध्य देखि गन्ति गर्दा अहिले सम्म अधिकारीहरुको नवौ पुस्ता देखिन्छ । रामेश्वर पाध्य पछिका दुई पिढी छोरा र नातिहरुको नाम अधिकारीहरुलेनै भुलेका छन्। एकैचोटी पलाती श्रीकृष्णदेखि लुँखुका अधिकारीहरुले सम्झनछन। बुढो पुस्ताको अभावमा अहिलेका नयाँ पुस्तालाई आफ्नो बंशावली खडा गर्दा यो समस्या आउने देखिन्छ। यदि बीचका नाम थाहा नभएका यिनका दुई पुर्खालाई छाड्ने हो भने सात पुस्ता भयो । अधिकारीहरु रातामाटाबाट लुँखु गाउँ तिर उक्लादा मल्लहरुको भने बसोवास भैसकेको पाईन्छ।
भक्तपुर चोंछेंका कसजुहरुको आगामन
यसरीनै भक्तपुर चोछेंका राधाकृष्ण श्रेष्ठ (कसजु )ले तत्कालिन पश्चिम ४ नम्वर पैयुँ धुवाँकोट, हालको पर्वत जिल्लामा पर्ने लुँखु देउरालीलाई आफ्नो कर्म थलो बनाएका थिए । शुरुमा घुमन्ते व्यापारीको रुपमा उनी यहाँ आईपुगेका थिए। उनका तिन भाईछोराहरु हुन्छन, जेठा हर्कसिंह, माहिला धनराज र कान्छा जयनारायण श्रेष्ठ। जयनारायण श्रेष्ठले आफु निसन्तान भएकाले आफ्ना दाजु धनराजका धेरै भाई छोराहरु भएका र उनका काहिला छोरा बलिराज श्रेष्ठलाई आफ्नो धर्म पुत्र वनाएका थिए ।
अहिले रहेका यिनीहरुकै सन्तानहरु हुन्। उदय चन्द्र श्रेष्ठ, सुवेदार मेजर रामहरि श्रेष्ठ, ओमहरि श्रेष्ठ, दिलिप श्रेष्ठहरू सम्म गणना गर्दा लुँखु आई वसोवास गर्न थालेको मात्र पांच-छ पुस्ता भएको देखिन्छ । श्रेष्ठ भन्दा सबैले नेवारहरुको थर हो भनि सजिलै बुझ्ने हुँदा कसजु नभनी श्रेष्ठ भनेको उनीहरुको भनाई छ।
इन्द्र बहादुर श्रेष्ठ, कबिर र बेलबहादुर श्रेष्ठ ( दुवै जापान )हरु भने चाहिं चेलीहरु फुपु-बजैका सन्तान हुन् र पछि आएका हुन् । लामे नेवार डांडाका नेवारहरुसंग देउरालीका नेवारहरुको खासै नाता जोडिएको पाइदैन । पहिरो आई सबै परिवारको मृत्यु हुने भेडिखोरमा बसोवाग गरेका घने नेवारसंग पनि यिनीहरुको पुरानो नाता भेटिदैन। तर भंगेरे, लामे घर हुने सुबेदार चन्द्र बहादुर श्रेष्ठका छोरा शेर बहादुरका श्रेष्ठ भने राधा कृष्ण कसजुकै सन्तान हुन्। यिनीहरु मल्लहरु भन्दा लगभग १ डेढ पुस्ता पछि बिक्रम शताब्दीको १९ को शुरुमै र १८ औं शताब्दीको अन्त्य तिर आएको हुनु पर्दछ।
पर्वते मल्ल र पैयूँका सेनको सम्बन्ध
पैयुँ राज्यको स्थापना काल र पर्बत राज्यको स्थापनाकाल लगभग समान जस्तै छ। इतिहास विदहरु पैयुँ राज्यको स्थापना संवत १५०२ मा र पर्वतको संवत १४९३ मा भएको बताउछन्। पैयुँ राज्य क्षेत्र शुरुमा बिशाल लिच्छवी राज्य अन्तर्गत पर्दथ्यो। लिच्छवीकालको अन्त्य पछि बल्डेङ्ग गढीद्वार शासित हुन पुग्यो र पछि पाल्पाली राजा मुकुन्द सेनले बल्डेङ्ग गढ़िलाई समाप्त पारिदिए पछि चारथुम आले, राना, चितौरे र थापामगरले संयुक्त हैकम चलाएका थिए। तर यिनीहरु वीच सधै झगडा भै रहन्थ्यो। लेकबेंसी मिलेको, जे रोपे पनि राम्रो फल्ने, उब्जाउ भूमि, खेतीपातीको लागि प्रयाप्त जल, गाई बस्तुलाई रसिलो-पोसिलो चरन, हावापानी उपयुक्त भएर पनि प्रगति हुन सकिरहेको थिएन। "कंगालको घरमा दंगल" भने झैँ सानो सानो कुरामा आपसी कलह भै रहन्थ्यो। कुनै क्षेत्रीय बंशी राजपुतलाई खोजि ल्याएर राजा बनाउन पाए उन्नति हुन्थ्योकि भन्ने सोच्दथे कहिले काही ती मुखियाहरु।
यही कालमा उत्तर तिरका निसेल भुजेल भनिने चारहजार पर्वतका अगुवा मगरहरुले रुकुम राज्यको उन्नतिबाट लोभिएर आपसी सल्लाह मसौरा गरी जुम्ली राजा मलेबमका सन्तान, जैतु बमशाहीका बालक छोरा आनन्द बमलाई मागी ल्याएर राजा स्थापना गरेका थिए । चार हजार पर्वतबाट सोह्रहजारको जग बसाल्दै थियो। आपसी झगडाबाट हैरान भएर एकदिन चार थुम मगर नाइकेहरु पनि मोतो बसे, भएन अब राजा नखोजी भएन, सल्लाह मिल्यो । चारथर मगर मुखियाहरुले चैते दशैंको साईतमा चारजना तन्नेरीहरुलाई राजा खोज्न पठाउने निर्णय गरे।
ती तन्नेरीहरु हालको भारतको उत्तर प्रदेशमा पर्ने बांसी पूगी त्यहाँका सेन वंशीय राजका छोरा युवराज रामसिंह प्रताप सेन र उनकी भारीजीउकी पत्नी ईन्द्रावतीलाई लिएर आई शुभ साईत निकालेर पैयुँ राज्यको राजगद्धीमा बसाल्छन । रानीको गर्भबाट युवराज लाभ सिंह प्रताप सेनको जन्म हुन्छ । लाभ सिंह प्रताप सेनको पर्वते राजाकी छोरी राजकुमारी सुरीचीसंग विवाह भएको थियो । यसरी दुई राजपरिवार बीच वैवाहिक संबंध जोडीएको थियो । पैयुंका अन्तिम राजा नायव साहेव अकवर सेनले पनि पर्वतकी राजकुमारी मिठु मैयांसंग विवाह गरेका थिए । यी दुई राज्य वीच अन्तिम समयसम्म पनि राम्रो सम्बन्ध रहेको पाइन्छ । यसैले पर्वते राजाका नातिहरु संकटको घड़िमा पैयूँ राज्यको बाच्छा बिहादी हुँदै लुँखु भित्र पसेका थिए ।
कुल देवीको मंदिर स्थापनाः गाउँको मुखियाको जिम्मेवारी
लुँखुमा मल्ल ठकुरीका दुई दाजुभाई बस्न थाले पछि अन्य जातिहरुको पनि बसोवास थपिने क्रम शुरू हुन्छ। हिमु मल्ल, ऋखु मल्ल दाजुभाई मिलेर खाडी चिसापानी माथिको शिखरमा कुलदेवि कालीको आफ्नो मंदिर स्थापना गरी सबै गाउँलेहरुले पूजाआजा गर्ने ब्यवस्था मिलाएका थिए । आफ्नो बाजे कृति बमको स्मृतिमा कृति चौतारी निर्माण गरी बरपीपलको बिरुवा रोपे, बटुवालाई विश्राम लिन र तीजको दिन विभिन्न खेल खेलाई मनोरंजन गराउने प्रचलन शुरु गरे। तीजको दिन महिला खासगरी केटीहरु भेला भै रमाइलो गरिने हुँदा कृति चौरबाट अपभ्रंश भै आजकल केटी चौरको नामले यो स्थान प्रसिद्ध छ। केहि दशक पछि दाजु हिमु मल्ललाई गाउँले सबै मिली आफ्नो मुखिया बनाउछन्। यो ठाउँमा बस्ती बसेर गाउँको रूप लिएपछि पहिलो मुखिया हिमु मल्ल बनेका थिए। मुखिया बने पछि माझ्घर भन्ने ठाउँबाट पूर्व आधा मिलको दूरिमा गै बस्न थालेका हुन। पछि मुखिया बस्ने ठाउँको नाम पारी मुखिया रहन गएको हो। मल्लहरुले मुख्येउली हिमु मल्ल, उनका छोरा हरि मल्ल र नाती बहादुर मल्ल गरी तीन पुस्ताले चलाए, त्यस पछि राणाहरुको चाकरीमा रहेका कर्णध्वज ऊचैले यो जिम्मेवारी पाएको ईतिहास रहेको छ ।
स्वयं पाक्य मल्ल ठकुरीहरु
मल्लहरु लुँखुमा आएर बस्न थालेको केही पूस्तासम्म पनि अन्य जातिले पकाएको खादैनथे। आफ्नै परिवारका सदस्यले पकाएको मात्र खाने गर्दथे । दोश्रो विश्व युद्ध पछाडि यो चलन विस्तारै हटेर गएको पाइन्छ । सन १९१४-१८ सम्म चलेको प्रथम विश्व युद्धमा ऋखु मल्लका नाति, कान्छा छोरा त्रिभुवन बीर मल्लका कान्छा छोरा अमृत मल्ल ईस्ट इंडिया कंपनिकों सिपाही भई लडेका थीए । अमृत मल्ललाई गाउँघरमा भोटु मल्ल भनेर बोलाईन्थ्यो। उनको बिवाह काठमान्डूकी शाही ठकुरीकी छोरी मनदेवी शाहीसंग भएको थियो। भोटु मल्ल हविलदार मेजर भै पेन्सन आएका थिए। अंग्रेजहरु भित्रभित्र दोश्रो विश्व युद्धको तयारीमा थिए। यसैले आफ्नो सेनामा नेपालीहरुले देखाएको बहादुरी पूर्ण भूमिकालाई देखेर सेनामा उनीहरुको संख्या वृद्धि गराउन चाहन्थे। भोटु मल्लले गल्लावालाको जिम्मेवारी पाए। आफ्ना भाईभतिजा लगाएत लुँखु र वरपर, खोला थुम्काका युवाहरुलाई ईस्ट इन्डिया कम्पनीको पल्टनमा भर्ति गराउने काम गरे। अन्य कतिपय थरकाले मल्ल लेखाएर समेत भर्ती भएका थिए । गाउँघरमा अन्य रोजगारी व्यवसायको कुनै सम्भावना थिएन। सिपाहीमा भर्ति हुनुलाई ठुलो अवसरको रुपमा लीईन्थ्यो। दोश्रो विश्वयुद्धमा लुँखुका मल्लहरु दल बहादुर मल्ल माझ्घर, हवलदार दत्तु मल्ल, भेडीखोर, जमदार रण बहादुर मल्ल(ऊचै)छापस्वाँरा, लागायत यस भेकका धेरै युवाहरुले वीर गति प्राप्त गरेको र कति बेपत्ता भएको ईतिहांस छ। अंग्रेजले धर्मसंस्कृति अनुसार पल्टन बनाएर बुद्धिमत्ता पूर्ण व्यवहार गरेको थियो। गुरुङ, मगर, राई, लिम्बुलाई आठ(८) जी.आर.(Gurkha Regiment) र बाहुन क्षेत्रीहरुलाई ९ जि.आर. नामको पल्टन बनाई दिएको थियो। ९ जिआरमा बाहुन-क्षेत्रीहरु रहने भएकोले यस पल्टनका सिपाहीहरुले चिनेजानेका उपाध्याय ब्रह्माणलाइ मन्दिरको पुजारी र भान्से सिपाही दरबन्दीमा भर्ना गरेर आफ्नो धर्म संस्कृति जोगाउने व्यवस्था मिलाई दिएको थियो। यसै क्रममा लुँखुका उपाध्याय ब्रह्माणहरु ९ जिआरमा भर्ति हुन शुरु भएका थिए। यस पश्चात लुंखेली मल्लहरुले गाउँमा पनि उपाध्याय ब्रह्माणले पकाएका खान सुरु गरेका थिए।
केन्द्रीय सत्तासँग दुरीः लाहुरे संस्कृतिको विकास
कीर्ति बमका जेठा छोरा जबरजंग (जन्जाल) मल्ल लगायत जामुनी मल्ल र बौद्ध मल्ल तीन भाई युद्धमै मारिएकाले बाचेका जन्जाल मल्लका सन्तानहरुको केन्द्रिय राज्य सत्तासँग सम्वन्ध राम्रो भएन । "हाम्रा सन्तानहरुले गोर्खालीसंग सकभर टाढै रहुन्, हाम्ले तिनहरुको मनसुवामा अवरोध खडा गरेको सम्झी दागा गर्न सक्छन्"- पर्वते मल्लका पुर्खाहरुले भन्दै आएको अर्तिउपदेशले पनि पर्वते मल्लका सन्तानहरुको केन्द्रिय राज्यसत्तासंग दुरी रहिरह्यो। जजसले आत्मसमर्पण गरे, सहयोग गरे ती बाइसे चौबिसे भुरे टाकुरे राजा-रजौटाहरुलाई केन्द्रीय राज्य सत्ताबाट सम्मान दिने कार्य रह्यो l
लूँखेली मल्लहरुले गोर्खालीहरुसंगको लड़ाईमा राज्यमात्र गुमाएका थिएनन् आफ्ना बंधुबांधव र प्रजाको संहार बेहोरेका थिए । यसैले गोर्खालीले खड़ा गरेको केन्द्रसंग सम्पर्क राख्न सहज ठानेनन् । बरु दुख कष्ट खप्न तयार भए । यिनीहरु रोजगारीको निमित्त ईस्ट इण्डिया कंपनीको पल्टनमा भर्ती हुने ब्यापक प्रचलन बढेर आयो । प्राय: लूँखेली मल्लहरुको घर परिवारमा लाहुरे नहुने बाँकी बचेन । भारत स्वतंत्र भए पछि जातीय धर्म संस्कृति र परंपराको कारण ठकुरी क्षेत्रीको पल्टन भारतमानै समायोजनको ब्यवस्था भएकोले अधिकांश लूँखेली मल्लका संतानहरु भारतीय सेनामा र त्यसमा हुन नसके भारत भित्रै अन्य रोजगारीमा रमाऊन थालेको पाइयो ।
भिमसेन थापाको पालामा, उनले पर्वते मल्लहरुका संतान संगपनि संवंध राम्रो बनाउनु उचित हुन्छ भन्ने सोचाई बनाए । राजा कीर्ति बम मल्लसँगै काशी मदनीपुर गएकाका छोराहरु दुईजना नरसिंह(वनायरी) र वीरनारायण पनि कीर्ति बम स्वर्गारोहणको लगतै रोगलागी केहि वर्षमा बितिसकेका थिए । नातिहरुसँग मदनीपुर गै सम्बन्ध राख्ने काम गरियो । काशीमा नातिहरुको अवस्था ज्यादै दयनीय थियो । यसै क्रममा मदनीपुरबाट विक्रम सम्वत् १८७५मा राजविक्रम मल्ल र बिक्रमार्क दुइजना नातिहरुलाई झिकाई भिर्कोट सेखाम-साँखारमा मानो पाथी दिई बसोवास गराईएको थियो भन्ने कुरा मोहन बहादुर मल्लले प्राचिन नेपालको अंक १६मा पर्वतको इतिहासमा लेखेका छन् । तर सेखाम साँखारका तेज बहादुर मल्लको अनुसार मोहन बहादुर मल्लले उल्लेख गरेको नाम भने फरक परेको कुरा बताउँछन । तर यहिबाट एक भाई पछि पर्वतको पाङ्गमा आई बसोवास गर्न थालेको पाइएको छ।
लूँखेली मल्ल र पाठशाला:
यद्यपि लुंखेली मल्लहरूले आफ्ना छोराहरूलाई घरमै गुरूहरू राखेर सामान्य शिक्षा दिने परम्परा शुरूदेखिनै पाइन्छ । लाहुरेहरू घर आउँदा आफ्ना नानीहरूलाई अंग्रेजी अक्षर लेख्न सिकाई रोमनमा लेख्न पढ्न सिकाउने गर्थे । मुलुकमा, सम्वत् २००७ सालमा राजनीतिक परिवर्तन भए पछि, तत्कालिन ग्राम सभाका सभापति मेजर हरिबहादुर मल्ल र सुवेदार गणेश वहादुरको पहलकदमीमा राजा श्री ५ महेन्द्रबाटै वक्स गराई औपचारिक शिशु पाठशाला विक्रम सम्वत् २००९ सालको वसन्त पंचमी देखि लुँखु एकपाटेको पोखरीको डिलमा शुरू गरेका थिए । यस पाठशालामा शुरूमा शिक्षक, संस्कृत पढेका पं.आनन्द मणी पौड्याल र अंग्रेजी पढेका देवेन्द्र कुमार मल्लको ब्यवस्था गरिएको थियो । हालको पर्वत जिल्लामा फलेवासको श्रीभवानी विद्यापीठ र लुँखुको श्रीमहेन्द्र ज्योति, यी दुई शुरुका स्वीकृत प्राप्त पाठशालाहरू हुन ।
लाहुरे हुनलाई दुई तीन कक्षा पढे पनि पुग्ने हुदा लुँखुको पाठशालाको स्तर उन्नतिको लागि ध्यान पुर्याउन आवश्यक ठानेनन् । गाउघरमा गुरू राखी पढाईने चलन र पछि पाठशाला स्थापना भए पछि छापा अक्षर पढ्न र लाहुरे भै घरमा चिठी लेख्न सके प्रयाप्त हुने हुदा माथिल्लो तहसम्म पढ्न आवश्यकता संझिदैनथ्यो । यद्यपि त्यतिवेला यतिसम्मको अवसर प्राप्त लुँखेली युवाहरूलाई पल्टनमा स्तर उन्नति गर्न भने धेरै सहज भयो ।
शिक्षाप्रति अभिरूचि शुरू
संवत् २०४६ सालको मुलुकमा परिवर्तन पछि लुँखेली मल्लहरू भारतीय सेनामा भर्ति हुने क्रम कम भएर आयो । खास गरी भारतीय सेनामा गोर्खालीको नाममा उतै घरजम गरी वसेका आप्रवासी (Immigrant) लाहुरेका छोराहरूले वेशी प्राथमिकता पाउनु थियो । भारतीय सेनामा भर्ती हुन असहज बन्दै गए पछि नयां पुस्ताका लुँखेली मल्लहरूले अन्य रोजगारीका विकल्पको खोजी गर्न थाले । नयाँ बिकल्पको लागि सीप, कलाको आवश्यकता भयो । यी सवैको ज्ञान, तालिम र शिक्षावाट मात्र पुरा हुन सक्दथ्यो । पाकापुस्तामा पनि अव छोराछोरीलाई लायक वनाउन राम्रो शिक्षा दिनु पर्दछ भन्ने सोचाई आउन थाल्यो । गाउंमा स्कूलहरू टोलटोल खोल्न थालियो । महेन्द्र ज्योतिलाई माध्यामिक, १२ कक्षाको पढाई, धुवांकोट महाशिला क्याम्पस स्थापना आदिमा मल्लहरूको उल्लेख्य योगदान रह्यो । आजसम्म आईपुग्दा लुँखेली मल्लका सन्तानहरू शिक्षक, प्राध्यपक, प्रोफेसर, कलाकार, विविध विधाका विज्ञ, डक्टर, ईन्जिनियर, वैज्ञानिक, वकील, अडिटर, चार्टर अकाउन्टेण्ट आदि वन्ने क्रम वढ्दो छ ।
निजामती सेवामा मल्लहरू प्रायः शुन्य
नेपाली सेना, प्रहरी, निजामती कुनै क्षेत्रमा पनि लुँखेली मल्लहरू प्रवेश गर्न प्राय सफल भएको पाईएको छैन। उनीहरू गैर सरकारी र स्वव्यवसायमा लागेका छन । यसको पछाडि पुर्खाहरू केन्द्रीय शासन सत्तासंग दुरी वनाई राख्नु र सरकारी जागीर प्रति मोह जगाउने पारिवारिक परंपरा नहुनु पनि कारण हुन सक्दछन ।
सामाजिक, आर्थिक सम्बन्ध
लुँखुगाउँ पहाड़ी उब्जाऊयोग्य जमीन रहेको स्थान हो । मल्लहरुले उपभोग गरिरहेको यस गाउँको भूमि खेती योग्य भएकोले सामान्य अवस्थामा, अति वर्षा, असिनापात, सूखा जस्ता प्राकृतिक प्रकोप नभएमा दुई तीन दशक अगाडि सम्म दुईछाक खानको लागि बेसाह खोजन अन्यत्र जानु पर्ने स्थिति थिएन । यिनीहरुको मुख्य जीवनको आधार कृषिनै थियो । प्रथम विश्व युद्ध पश्चयात सहायक आर्थिक श्रोत भारतीय, ब्रिटिश सिंगापुर आदि देशका सेनामा भर्तीभई त्यसबाट प्राप्त पारिश्रमिक र पेन्सन थप भएर आयो । आज भने यो स्थितिमा परिवर्तन भएको छ। वैदेशिक रोजगारी रोजाई प्रथम र खेतीपाती न्यून भएको अवस्था छ । अनुपातिक दृष्टिकोणमा ग्रामीण मध्यम वर्गीय यिनीहरुको आर्थिक रहेको अवस्था छ ।
सामाजिक रुपमा यिनीहरुको, यस गाउँ र यसका वरीपरिका सबै जाति जनजातिसंग सुमधुर, सौहार्द (Harmonious) सम्बन्ध रहेको पाइन्छ । विद्यालयहरु, क्षेत्रीय स्वास्थ्य केन्द्र, छोटी हुलाक, इलाका प्रहरी कार्यालय, रेञ्जर पोष्ट, विद्युत सबस्टेशन, बैंक आदिको स्थापना र विद्यमान बाटोघाटो कुलो पैनी निर्माणमा गाउँलेहरुसंग मल्लहरुले सधै काँधमा काँध मिलाई रहन्छन । गाउँ स्तरीय सानाठूला कार्यक्रम, उत्सव आदि हरेक पाईलामा यिनीहरुको सक्रिय क्रियाशिलता रहने गर्दछ र सम्मानका साथ सहभागिता रहन्छ ।
लुँखेली मल्लहरुको बढ्दो बसाईसराईको अवस्था
जव लुँखेली मल्लहरूको ईष्टईण्डिया कम्पनीको फौजमा भर्तीहुने क्रम शुरूभयो, त्यस समयदेखि नै कोही स्वईच्छाले, कोही परिस्थितिवस वर्मादेखि भारतका विभिन्न स्थानमा वसोवास गर्न पुगेको अवस्था रहेको छ । हिमांचल प्रदेशको कांगडा जिल्लामा पर्ने भाग्सु भन्ने ठाउंदेखि देहरादुन, दिल्लीमा पनि लुंखेली मल्लहरू धेरै पहिला देखि वस्न थालेका थिए । नेपाल भित्र काठमाडौ, पोखरा, वुटवल- भैरहवा, भरतपुर-चितवन, नवलपरासी, कपिलवस्तु, नेपालगंज, वर्दिया, कैलाली कंचनपुर र पूर्वतर्फ मकवानपुर, धरान सुन्सरी, विर्तामोड झापासम्म लुँखेली मल्लहरू बसोबास गर्न पुगेका छन ।
नेपालमा विक्रम संवत २०५२ पछि वढेको द्वन्दवाट प्रभावित भै उपरोक्त वसाईसराईमा तिव्रता आएको पनि हो । आज लुँखेली मल्लका सन्तानहरू कामको खोजीमा मध्य पूर्वका देशहरू, जापान, दक्षिण कोरिया लगायत विकसित देशहरु वेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानाडा, स्केण्डिभियन देश डेनमार्क, युरोपका फ्रान्स, जर्मनी, वेल्जियम जस्ता मुलुकहरूमा पुगेगा छन र कतिले त्यही स्थायी रुपमा वसोवासव समेत गर्न पुगेका छन् । त्यहाँ पुगेका अधिकांशका छोराछोरीहरु दोश्रो पुस्ताले, त्यहिकै नागरिकता लिई सकेको अवस्था छ । विक्रम संवत २०५७ सम्मको तथ्यांक हेर्दा पर्वते मल्लहरुको सबै भन्दा बेशी संख्या-घरपरिवार बसोबास गरेको गाउँको रुपमा लुँखु थियो । पर्वत जिल्लामा सबै थरी ठकुरीहरु मिलाएर हेर्दा बाजुङमा पहिलो र दोश्रो स्थान लुँखुको थियो । भने आज २०८२ सम्म आईपुग्दा लूँखेली मल्लहरु लुँखुबाट बाहिर धेरै बसाई सरी गएको हुँदा पाखुरे-लुँखु-सातले समेत गरी हेर्दा मुस्किलमा ४५-५० घर कुरिया बसोबास बाँकी पाइन्छ । यस प्रकारको समस्या अन्य जातिहरुमा पनि छ र नेपाल भरका हिमाली पहाड़ी क्षेत्रका गाउँहरुमा बसाई सराई आम समस्याको रुपमा देख्न पाइन्छ ।
cpnsharan@gmail.com
आधार संदर्भ:
लूँखेली मल्लहरुको वंशावली(प्रकाशनोन्मुख)- शरण विक्रम मल्ल
प्राचिन नेपाल अंक १६, 'पर्वतेको ईतिहाँस'- मोहन बहादुर मल्ल
इतिहास प्रकाश अंक १-२०१२ पृष्ठ६९ -सम्पादित योगी नरहरिनाथ।
पर्वत राज्यको ऐतिहासिक रुपरेखा पृ. ५–प्रकाशन त्रिविवि अनुसंधान केन्द्र कीर्तिपुर लेखक टेक वहादुर श्रेष्ठ
पर्वते राजाहरुको इतिहाँस- ॐकार गौचनबृहत
अत्रि गोत्रीय वंशावली प्रकाशन १५ भाद्र २०६३ -जगन्नाथ नेपाली (चापागाई)
जातीय पहिचानमा ठकुरी- सम्मर वहादुर सिंहठकुरी
चन्द्रवंशी मल्ल राजाहरुको वंशावली- श्री मल्लठकुरी सेवा समाज, गौंश्वारा, म्याग्दी, नेपाल
बिशु मल्ल,चाक्ली पाताल शताब्दि पुरुष(जन्म१९४१ मृत्य २०३६) संग लिएको जानकारी
सुवेदार चन्द्रु मल्ल, माझघर, (जन्म २०६२ मृत्यु २०४७) संग लिएको जानकारी
जमदार नरु मल्ल (बाँज्वारी)संग लिएको जानकारी
जमदार लाल बहादुर मल्ल,चिप्लेटी, (जन्म १९८८ असार २२ मृत्यु २०६२ कार्तिक २७) संग लिएको जाकारी
पदम बहादुर मल्ल(माझ्घर, (जन्म १९८९ असोज १४ मृत्य २०७२ वैशाख १)संग लिएको जानकारी
देवेन्द्र कुमार मल्ल,माझ्घर, (जन्म १९९२ वैशाख)संग लिएको जानकारी
चितु मल्ल, माथिल्लो माझ्घर,(जन्म १९९७)संग लिएको जानकारी
तेज बहादुर मल्ल (सेखाम सांखर, श्यांजा) संग लिएको जानकारी
शरणबिक्रम मल्ल