क पुष्पलालको ४७औं स्मृति दिवस संयुक्तरुपमा सम्पन्न
काठमाण्डौं । कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समिति र राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको संयुक्त आयोजनमामा कमरेड पुष्पलालको ४७औं स्मृति दिवस बिशेष कार्यक्रमका साथ राजधानीमा साउन ७ गते सम्पन्न भएको छ । कार्यक्रमका बक्ताहरुले कम्युनिष्ट आन्दोलनको सही दिशाको खोजी र एकताको निम्ति कमरेड पुष्पलालले अबलम्बन गरेको सही बिचार, सिद्धान्त, कार्यक्रम र नीतिले मार्ग प्रसस्त गरेको छ र त्यसमा दृढतापूर्बक खडा भई सामन्तबाद साम्राज्यबाद बिरोधी नयाँ जनबादी क्रान्तिको कार्यभार पूरा गर्दैै बैज्ञानिक समाजबादको मूल बाटोमा अग्रसर हुन र पदार्पण गर्न तथा सही अर्थमा नेपाली श्रमजीबी बर्गका जनता र राष्ट्रको मुक्तिको खोजी गर्न सकिन्छ भन्ने महत्वपूर्ण किष्कर्श निकालेका छन् । उनीहरुले प्रत्यक्ष, परोक्षरुपमा सामन्तबाद तथा साम्राज्यबादपरस्त कुनै पनि अबसरबादी शक्ति कमरेड पुष्पलालको बाटोमा अग्रसर हुन सक्तैन । त्यस्ता शक्तिहरुले देश र जनतालाई धोका मात्र दिन्छन्, यथास्थितिमा अल्मल्याउँदछन् र प्रतिगमनकारी र साम्राज्यबादी शक्तिलाई सहयोग पु¥याउँदछ भन्ने कुरा इतिहासले सिद्ध गरिसकेको र गरिरहेको औंल्याएका छन् ।

यस महत्वपूर्ण कार्यक्रमको सञ्चालन गर्ने क्रममा कमरेड पुष्पलालको संघर्षमय राजनीतिक जीवन, दृढ सिद्धान्त निष्ठा देश र जनताप्रतिका असीम त्याग तथा समर्पणको चर्चा गर्दै राष्ट्रिय क्रान्तिकारी मोर्चाको एक घटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव लोकनारायण सुबेदीले नेपाल कम्युनिष्ट पार्टी गठन गरेदेखि नै नेपाली जनता र राष्ट्रको मुक्तिको निम्ति सही दिशाको निरन्तर खोजीमा लाग्नु भएका कमरेड पुष्पलालमाथि कम्युनिष्ट आन्दोलनभित्रैबाट प्रहार हुँदै र अपमान गरिदै आयो । तर त्यस्ता आधारहीन प्रहारबाट कति पनि बिचलित नभई उहाँ नयाँ जनबादी क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्दै समाजबादको पृष्ठभूति तयार गर्ने मूलबाटोमा अबिछिन्नरुपमा दृढतापूर्बक लागि रहनु भयो । त्यसै बीचमा उहाले नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनबादको साङ्गोपाङ्गो ब्याख्या गर्नु भयो, त्यसका लागि कम्युनिष्ट तथा बामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त आन्दोलनको महत्वपूर्ण नीति अघि सार्नु भयो र निरन्तर त्यसमा लागि पर्नु भयो । त्यसपछि पनि उहाँमाथि झन चर्को प्रहार भयो फत्तुर लगाइयो । तर उहाँ अबिछिन्न आफ्ना मूल्य मान्यता र क्रान्तिकारी परम्परामा अडिग रहनु भयो । अन्तरबिरोधका सही पहिचान र सञ्चालनले मात्र क्रान्तिलाई सही दिशामा अघि बढाउन र निरन्तर सही दिशा दिन मद्दत गर्दछ भन्ने कमरेड पुष्पलालको अमोघ नीति नै २०३६ सालाको संयुक्त बिद्यार्थी आन्दोलन, २०४६ सालको सामन्ती अधिनायबबादी पञ्चायत ब्यबस्थाको अन्त्य र बहुदलीय ब्यवस्थामा पुनस्र्थापनको आन्दोलन तथा २०६२-६३ सालको राजतन्त्र बिरोधी बृहत संयुक्त आन्दोलनमा परिलक्षित भएको सुबेदीले औल्याउनु भयो ।

उहाँले परिबर्तन पछिको राष्ट्रिय राजनीतिले सही दिशा नलिएको देश महाभ्रष्टाचार, मानब तस्करी, कमिशनखोरीकाे दलदलमा फँसेको र सत्ताधारीहरु कोही पनि चोखो नरहेको तथा यस्तो स्थितिले देशको राष्ट्रियता, जनतन्त्र र जन जीबिका झन कमजोर भएको औंल्याउदै देशमा प्रतिगामी, यथास्थितिबादी र अग्रगामी शक्तिहरुका बीच संघर्ष जारी रहेको बताउनु भयो । यस वास्तबिकतालाई मनन गरेर क्रान्तिकारी शक्तिहरु एक हुनुको कुनै बिकल्प नरहेको पनि उहाँले प्रष्ट पार्नु भयो ।

यस संयुक्त कार्यक्रमका बरिष्ठ बक्ता राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको एक घटक क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका स्थायी समितिका सदस्य क. हरिभक्त कँडेलले कमरेड पुष्पलालप्रति सम्मान प्रकट गर्दै भन्नु भयो – जनबादी क्रान्तिको खुट्किलो पूरा गरेर बैज्ञानिक समाजबादको दिशामा लागे पछि मात्र उहाँको सम्मान हुने र यसलका लागि छरिएरहेका सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट भए मात्र कमरेड पुष्पलालको क्रान्तिकारी पन, निष्ठा, त्याग र योगदान तथा श्रमजीवी बर्गप्रतिको उहाँको समर्पणको पनि सही मूल्यांकन हुने छ । उहाँले कमरेड पुष्पलाल कहिल्यै पनि नीजी लाभ र प्रतिष्ठाको पछि नलागी जीवनको आखिरी समयसम्म एक क्रान्तिकारी अग्रज योद्धाकोरुपमा अबिचलित रहनु भयो । उहाँको त्यही क्रान्तिकारी निष्ठा र त्याग नै आजको नेपाली नयाँ पिढीका निम्ति प्रेरणाको श्रोत बनेको छ भन्नु भयो । उहाँले नयाँ जनबादी क्रान्तिको कार्यभार नै आजको नेपाली क्रान्तिको मूल कार्यभार मान्नेहरु पनि एक हुन नसक्नु ठूलो चूनौतिको कुरा हो भन्नु हुँदै कमरेड पुष्पलालको बिचारको वरिपरी गोलबन्द र एकताबद्ध भएर अघि बढ्न सकेमात्र उहाँको स्मृृति दिवस मनाएको सार्थकता हुन्छ भन्नु भयो ।उहाँले एमसीसी पास गर्नेहरु साम्राज्यबादको दलाल भएको औंल्याउँदै उनीहरुले त्यसको आत्म समीक्षा गरी जनतासँग माफी मागेर नयाँ जनबादी क्रान्तिको पक्षमा खडा हुन आएमात्र उनीहरुसँग साम्राज्यबाद बिरोधी मोर्चा हुनसक्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको पनि प्रष्टपार्नु भयो ।

राष्ट्रिय क्रान्तिकारी मोर्चाको अर्को घटक नेपाल कम्युनिष्ट पार्टी (मार्क्सबादी पुष्पलाल)का अध्यक्ष क. मानध्वज गुरुङ्गले पुष्पलाललाई सही परिप्रेक्षमा ऐतिहासिक सत्यतथ्यका आधारमा बुझ्न र तदनुरुप चल्न सकिएन भने क्रान्तिले सही दिशा पाउँदैन र अल्मलिन्छ भन्नु हुँदै उहाँको सही बिचारको वरिपरी गोलबन्द हुनु आजका क्रान्तिकारी कम्युनिष्टहरुको आबश्यकता हो भन्ने कुरा प्रष्ट पार्नु भयो ।
मोर्चाको एक अर्काे घटक नेपाल कम्युनिष्ट पार्टीका सचिव तथा कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य क. रामदुलार महतोले बिदेशी प्रतिकृयाबादी शक्तिहरुको घूसपेठले गर्दा नेपाली कम्युनिष्ट आन्दोलन एकजुट हुन नसकेको र कमजोर भएको कुरा औंल्याउनु हुँदै कम्युनिष्ट पार्टी गठन भएदेखि उहाँको मृत्यु पर्यन्त पुष्पलालमाथि कम्युनिष्ट खेमा भित्रैबाट प्रहार हुनुले यो कुरा साबित गर्दछ भन्ने यथार्थ औल्याउनु भयो ।

माेर्चाकाे अर्काे घटक अखिल नेपाल कम्युनिष्ट पार्टीका महासचिव क. लक्ष्मण उप्रेतीले समस्या पुष्पलालमा छैन । उहाँलाई सही किसिमले बुझ्न नसक्नुमा छ भन्ने धारणा ब्यक्त गर्दै पुष्पलालको बिचार मान्नेहरु एक जुट नहुनु पर्ने कुनै कारण छ भने त्यो घटकहरु भित्रकै कारण हो भन्नु भयो । उहाँले पुष्पलाललाई मान्छौ भनेर दाबी गर्नेहरु एकजुट हुनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने भावना ब्यक्त गर्नु भयो । उहाँले त्यस अवसरमा क. पुष्पलालप्रति समर्पित क्रान्तिकारी कबिता बाचन पनि गर्नु भएको थियो ।

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको अर्को घटक प्रतिरोध जन आधिकार आन्दोलनका केन्द्रिय सदस्य क. शैलज पौडेलले प्यालेस्टिनी मुक्ति आन्दोलनका कबिले त्यहाँको नरसंहारका बिरुद्धमा लेखेको मार्मिक कबिता बाचन गर्नु हुँदै कमरेड पुष्पलालप्रति श्रद्धा सुमन ब्यक्त गर्नु भयो र भन्नु भयो – क्रान्तिकारी शक्तिहरु जो सामन्तबाद, साम्राज्यबाद र प्रतिगमन बिरुद्ध रहेका छन् ती एक जुट नभइ हाम्रा राष्ट्रिय समस्याहरु हल हुँदैनन् र जनबाद समाजबाद केही पनि प्राप्त हुँदैन । उहाँले यस बारे गम्भीर बिचार बिमर्श र सही निष्कर्शको खाँचो छ भन्नु भयो ।

मोर्चाको अर्को घटन नयाँ जनबादी मोर्चाका नेता मोहन सिंह लिम्बुले पुष्पलालमाथि शुरु देखिनै हमला गरिएकोले कम्युनिष्ट आन्दोलनले सही दिशा र गति नपाएको उल्लेख गर्दै अब सही बचार बिमर्शद्वारा एकताबद्ध हुने निष्कर्शमा पुग्नु आजको आवश्यकता हो भन्नु भएको थियो ।

कर्यक्रमको सभापतित्वको आशनबाट बोल्नु हुँदै बरिष्ठ कमरेड अच्यूतराज ज्ञवालीले आजको बिचार बिमर्शले सबै क्रान्तिकारीहरुमा सद्बुद्धी आओस् र कमरेड पुष्पलालाई धूरी बनाएर एकताको दिशतर्फ अघि बढ्न मद्दत गरोस् भन्ने शुभ कामना ब्यक्त गर्दै सभा समापन गर्नु गर्नु भएको थियो ।

सभाको शुरुमा कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत गाउनकासाथै ‘स्वागत गछौं हामी जनताका योद्धाहरुलाई, सम्मान गर्छाैं हामी बीर अमर शहीदरुलाई’ बोलको स्वागत गीत बजाएर सबैलाई स्वागत गरिएको थियो । त्यस पछि महान शहीहरूमा एक मिनेट माैन धारणकाे सम्मानकासाथ कार्यक्रम अघि बढेकाे थियाे । कार्यक्रमका बीचमा कमरेड पुष्पलालप्रति समर्पित ‘क्रान्तिका प्रति अटुट आस्था तिमीले जगायौ,शत्रुका अघि नझिकी हिड्न तिमीले सिकायौ’ बाेलकाे क्रान्तिकारी गीतको बाचन कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समिति सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय कोषाध्यक्ष्य क सीता सुबेदीले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित बक्ताहरु र हलको तर्फबाट पनि क.देबी आचार्य, डा. फत्तबहादुर केसी र कमरेड सबिता भटराईले कमरेड पुष्पलालको सम्मानमा उहाँको तस्बीर पुष्पार्पण गर्नुभ एकाे थियो ।

कार्यक्रममा मिटरब्यज, लघुबित्त र सहकारी ठगीबाट पीडित किासनहरूकाे पक्षामा राष्ट्रय क्रान्तिकारी माेर्चा दृढतापूर्बक उभ्भिएकाे कुरा दाेहाेर्याउनकासाथै अमेरिकी साम्राज्यबादकाे सहयाेग र आडधापमा इज्रायली आततायी अतिक्रमणकारी शक्तिले प्यालेस्टिनीहरूमाथि मच्चाएकाे घाेर नरसंहारकाे पनि तीब्र निन्दा र भर्त्सना गरिएकाे थियाे । कार्यक्रममा उत्साहजनक सहभागीता रहेकाे थियाे ।
नेपालपत्र संवाददाता