रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ मा आगामी २०८२ साल कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवार मनोनयनदेखि मतदानसम्मका सम्पूर्ण कार्यतालिका तय गरिएको हो।
निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ।
उम्मेदवारविरुद्ध उजुरी दिन चाहने पक्षले असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गराउन सक्नेछन्। त्यसपछिको समय अर्थात् असोज २२ गते दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म उजुरी र मनोनयनपत्र जाँचबुझ गरी निर्णय गरिनेछ। असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ।
नाम फिर्ता लिन असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। त्यही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ भने ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। निर्वाचन कार्यक्रम अनुसार मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।
यस उपनिर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्दसूचीमा नाम समावेश भएकाहरू उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले स्पष्ट पारेको छ।
निर्वाचन प्रक्रियामा सरोकारवालाहरूको सक्रिय सहभागिता र समयपालनाको आयोगको अपेक्षा छ ।
नेपालपत्र संवाददाता