बुधबार, भाद्र ३ गते २०८३

यस्तो किन ?


आषाढ ३१, २०८२ मंगलबार
यस्तो किन ?
इन्द्रनारायण सुवेदी
 
( शार्दूलविक्रीडित)
 
---------------------------------------------
अग्ला छन् दरबार शैलसरिका छन् बान्किला सुन्दर
सत्ताका उपहार उच्च पदका सम्पन्न बस्ने घर
नाङ्गै आइपुगे विशिष्ट पदमा पड्काउँदै चप्पल
थापी काँध हुरुक्क दिक्क बनिदै बोक्नेहरू छन् तल ।
 
पेसा जागिर छैन आर्जन हुने ब्यापार केही पनि
रातारात विनापरिश्रम त्यहीँ कङ्गाल बन्छन् धनी
रैती छन् तलका हिजो सरहकै उस्तै रहेका उहीँ
छाडे केवल यी महामहिमले आफ्नो पुरानो भुइँ ।
 
सिङ्गो देश छ भग्न खण्डहरमा खेल्छन् रजौटाहरू
आफैँ लाज लजाउँदै छ यिनको देखेर यो आबरु
सीमा साधन स्रोत मानव सबै निर्बाध बिक्छन् जब
कुर्सी मात्र भयो र टाँसिन पुगे गर्छन् ठुलो गौरव ।३।
 
गर्छन् यी गणतन्त्रका गफ अझै ढाँटेर झुक्याउन
जे जे मिल्छ बिलो प्रवञ्चक बनी साटेर बुक्याउन
झुट्टो बोल्न बदल्न भेष र कुरा जोतेर बङ्ग्याउन
छन् भोका र दरिद्र देश दुनियाँ सोसेर नङ्ग्याउन ।४।
 
चल्दै छन् गठजोडका हुकुमले यो देशका कानुन
कुर्सी नै गणतन्त्र बन्दछ स्वयं सक्तैन कोही छुन
राख्छन् केवल भाइ बन्धु भतिजा खोजेर माथि तल
ल्यायो खै कसले र सङ्कट यहाँ बेसर्म रुन्छन् दल।५।
 
मर्छन् खान नपाउने सडकमा देख्दैन सत्ता किन
आफ्ना कर्तुतको सजाय कहिल्यै लेख्दैन सत्ता किन
थप्ने पूर्व विशिष्टनिम्ति सुविधा सेवा र भत्ता किन
भाँची ढाड परन्तु उठ्न नदिने सोझा निहत्था किन ।६।