बि.सं. १९९५ मा सूर्यबिक्रम ज्ञवाली लगायतको सम्पादनमा दार्जिलिङबाट ‘भानु स्मारक ग्रन्थ’ प्रकाशित हुने क्रममा तत्कालीन नेपालका राणा प्रधानमन्त्री जुद्ध शम्शेरले पठाएको शुभकामना पत्रमा उक्त वाक्य उल्लेख रहेछ । त्यसपछि नै भानुभक्त आचार्य (बि.सं. १८७१/३/२९— १९२५/६/६) लाई आदिकवि भन्न थालिएको हो ।
भानुभक्तको रामायणको बालकाण्ड (बि.सं. १९४१) प्रकाशित गर्दा मोतीराम भट्टले ‘प्राचीन कवि’ भनेका थिए । सूर्यबिक्रमजी लगायत कतिपयले 'आदिप्रतिनिधि कवि’ भन्ने तर्क पनि राखेका हुन् ।
भानुभक्तका प्रेरणा स्रोत मानिएका घाँसी आदिकविका सन्ततिअनुसार चामुनारायण पन्थ (तर प्राज्ञ श्री जगमान गुरुङका अनुसार खड्गबहादुर ठाडा मगर। यसबारे विवाद छ।) हुन् । उनैले खनाएको कुवा तनहुँमा छ, जुन कुवा भएको ठाउँलाई ‘घाँसीकुवा’ भनिन्छ । आदिकवि भानुभक्तको न्वारानको नाम देवीभक्त हो । उनको बिहे चन्द्रकला खनालसँग बि.सं. १८९० मा भयो।
हजुरबा– श्रीकृष्ण, पिता– धनन्जय । शिक्षादीक्षा– संस्कृत, शुभारम्भ हजुरबा बाट, त्यसपछिको शिक्षा बनारसबाट । पहिलो पुराण बाचन मामा घरमा । कृतिहरू— तुलसीकृत रामायणको नेपाली रुपान्तरण, आदि शंकराचार्यको मणिरत्नमालाको आधारमा ‘प्रश्नोत्तरमाला’, बधूशिक्षा, भक्तमाला र अन्य फुटकर कविताहरू ।
भारतको दार्जिलिङ्गमा २०७३ असार २९ गते तत्कालीन भारतीय राष्ट्रपति स्व. प्रणब मुखर्जी सर्वप्रथम भानुजयन्ती समारोहको प्रमुख अतिथिका रुपमा उपस्थित भए । भानुभक्तको शालिकमा माल्यार्पण गरे। आधाघन्टा लामो आफ्नो मन्तब्यमा उनले पटकपटक ‘नेपाली आदिकवि’ भन्दै भानुभक्तको नाम उच्चारण गरे।
भारतीय राज्य पश्चिम बंगालका तत्कालीन राज्यपाल केशरीनाथ त्रिपाठी र मूख्यमन्त्री ममता बनर्जीले पनि भानुको शालिकमा माल्यार्पण गर्दै उनका देनहरूको सह्राहना गरे । सायद ०७२ असोजदेखि करिब ५ महिना लामो नेपालतिर लादिएको नाकाबन्दी गरेको भारतले त्यसको नकारात्मक प्रभाव नेपालीहरूको मनबाट पखाल्न यो कदम चलाइएको हुनुपर्छ ।
सर्बोच्च प्रजातन्त्रवादी नेता गणेशमान सिंह भन्ने गर्नुहुन्थ्यो, “नेपाल आमाले ३ जना सर्वाधिक महापुरुष जन्माइन्, एउटा पृथ्वीनारायण, अर्को भानुभक्त र तेस्रो बीपी कोइराला।”
बि.सं. १९८६ मा दार्जिलिङ्ग, कालिम्पोङ् र खर्साङ्गमा राखिएका भानुभक्तका ३ वटा शालिक अँग्रेज मूर्तिकार ई. डब्लु. टम्सन्ले लामो समय खर्चेर नेपालीहरू अनुहारको अध्ययन गरेपछि साझा अनुहार ठहर गरी तयार पारेका हुन्।
आदिकवि भानुभक्तले आफ्नो छोरा रमानाथले नपढेर बरालिएको सुनेपछि रिसाएर पत्नी र छोराको नाममा करिव १७७ वर्षअघि लेखेको चिठी (तस्बिर : सो चिठीको मूलप्रति )
_____
स्वस्ति श्री चिरञ्जीवी श्री नानी रमानाथ शर्माणि श्री भानुभक्त शर्माण शुभाशिर्वाद सन्तु. उपरान्त पह्र्दैनस भन्या सुन्दछु. मेरा कण्ढा पछि जति उम्लन्छस्.ञाहा बाट म क्या गरुं. म तहां आया पछि तैंले नपह्र्याको ठहराञा भन्या बाबै तेरा ज्यान्को आसा नराषि लात मार्न्या छु. कि तैंले मर्नु पर्ला. कि मरि सुष पाउंन्या छस्. कि पह्री सुष पाउन्या छस्.यो बुझ् कि पढ्नु. तेरी आमा ले पनि यो चिठी हेरी साझ वेहान तँ लाइ लात मारि घोकन लावोस्. आज तेरी आमा का चेत आएनन् र तंलाइ षेलन दियी भन्यां मैले लात मारि मर्नान्त पार्याको तमासा हेर्लि. हेर्वावै पह्रिनस् भन्या तेरो जिउ खंज गराइ छोडुला. रति जति तेरो माया मार्या छैन. सो जानि तेरी आमाले तलाइ अर्दमा राषि घोकाउनु.तैंले घोकनु. आज सम्म कति पह्रिस् याहा समम पाठ पुर्यायाको छु भनि लेषि पठा. अघि पढ्याको पनि बिर्सिस् कि आउछ. तेरा हातले लेषि पठा. नही भन्या तेरो ज्यान साबुद राषन्या छैन. ढेरै क्या लेषु. किमधिकं. मिति मार्गशुदि १ रोज ३ मुकाम महाबौद्ध टोल शुभम्
छेउपट्टी
तहां पह्र्दैन भन्या.मानिस साथ लाइ मंसिर भित्रै ञाहा पठाइदे. म आउदा.....ञाही पढाउछु.ताहीं पढ्छ भन्या बढिया हो.

चन्द्रमणि गाैतम