शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारीले उठाउन नसकेको ऋण उठाउन न्यायाधिकरणले काम गर्छः अध्यक्ष बस्नेत

आषाढ २५, २०८२ बुधबार
सहकारीले उठाउन नसकेको ऋण उठाउन न्यायाधिकरणले काम गर्छः अध्यक्ष बस्नेत


कर्जा असुली न्यायाधिकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारी ऐन र नियमावलीले दिएको क्षेत्राधिकारलाई प्रयोग गरी काम अगाडि बढाउने बताएका छन् ।  उनले  पद तथा गोपनीयताको सपथ ग्रहणसँगै आज पदबहाली पछि पत्रकारहरु संक्षिप्त कुराकानी गर्दै ऐन नियमले दिएको क्षेत्राधिकारलाई टेकेर काम गर्ने बताएका हुन् । 

अध्यक्ष बस्नेतले सहकारी संघ संस्थाबाट नै उजुरी आउने र त्यस्ता उजुरीलाई छिनोफानोको लागि प्रतिवादीलाई म्याद दिने र म्यादभित्र प्रतिउत्तर आउने बताए । अहिले सहकारी क्षेत्रमा विकराल अवस्था रहेको र सहकारीले उठाउन नसकेको ऋण उठाउनलाई न्यायाधिकरणको भूमिका रहने बताए । सहकारी संघ संस्थाले ऋण असुलीको लागि सक्दो प्रयास गर्दा पनि असुली हुन नसकेको ऋण उठाउन सघाउने उनको भनाई छ । ‘न्यायाधिकरणमा  संघ संस्थाबाट उजुरी आउँछ , न्याय सम्पादन मात्रै नभई ऋण असुली अधिकृतले गर्ने काम समेत यहाँबाट गरिने छ’ उनले भने । न्याायाधिकरण स्थापनाको चरणमा नै भएकाले कार्यालयले छिट्टै आफ्नो काम अगाडि बढाउने उनले जानकारी दिए । अहिले देशभरका  जिल्ला अदालतहरुमा  सहकारीका कर्जासँग सम्बन्धित मुद्दाहरु रहेको र न्यायाधिकरणको क्षेत्राधिकार देशभर भएकाले ती मुद्दाहरु पनि यस कार्यालयमा आउन सक्ने उनले बताए । सुरुमा मुद्दाको चाप धेरै बढ्ने सम्भावना रहेको र काम गर्दै जाँदा सफल हुने उनको भनाई छ ।

आवश्यक कार्यविधिहरु बनाएर कामलाई अगाडि बढाउने उनको भनाई छ । अहिले बचत गर्नेले समयमा बचत फिर्ता नपाइराखेको र लगानी गरेको ऋण पनि समय असुली नभइरहेको विकराल स्थितिबाट सहकारी क्षेत्रलाई पार लगाउनु न्यायाधिकरणको मुख्य काम भएको अध्यक्ष बस्नेतले बताए । स्थानीय, प्रदेश  र संघीय मातहत रहेका सहकारी संस्थाको मुद्दा हेर्ने गरी न्यायाधिकरण स्थापना भएको छ । बैंक तथा वित्तीय संस्थाको केन्द्रमा पनि छुट्टा छुट्टै कार्यालय रहेको भए पनि सहकारी लागि पहिलो न्यायाधिकरण भएकोले त्यो सम्भव नभएको उनको भनाई छ । सहकारी संस्थाले लिएको धितो खोजीदेखि मुल्याङ्कन गर्नको लागि फिल्डसम्म जानुपर्ने भन्दै उनले ऋण असुली अधिकारी माफर्त उक्त कार्यलाई अगाडि बढाइने उनको भनाई छ ।