दशैं सकिदा नसकिदै देशमा आएको भिषण बेमौसमी बर्षाले उत्पन्न गरेको बाढी, पहिरो, कटान र डुबामा परेर जनधनको ठूलो क्षति हुन पुगेको छ । खाशगरी यस प्राकृतिक प्रकोपमा देशका किसान सबैभन्दा ठूलो मार्कामा परेका छन् । उनीहरुले भित्र्याउन लागेको धानबालीमा ठूलो नोक्सानी मात्र भएको छैन, बाढी र पहिरोको कोपभाजन भएर कयौं किसानको ज्यान समेत गएको छ । राष्ट्रको प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा यसले ठूलो नोक्सानी गरेको छ । त्यसै त उत्पादनमा पछि परेको र जीवन धान्नकै लागि पनि आयात गर्नु पर्ने स्थितिमा रहेको बिपन्न मुलुक, त्यसमाथि प्राकृतिक बिपत्तीको थप मारमा परेपछि कोरोना महामारीले थलापरेको अर्थतन्त्र अझ नाजुक बन्न पुगेको दुःखदायी स्थिति सिर्जना हुन पुगेको छ । यस्तो स्थितिमा हाम्रा मानिआएका शारदीय चाड पर्बहरुको उमंग पनि फिका हुन पुगेको छ । यसरी सर्ब साधारण जनताको चाडबाडको खुशी पनि खोसिएर खिन्नताको स्थिति खडा भएको छ ।
यद्यपि यो जुन प्राकृतिक प्रकोप छ त्यसको पछाडि अनेक कारणहरु छन् । त्यसमा पहिलो त प्रकृतिमा स्वभाविकरुपमा चलिरहेको गतिशील द्वन्द्वात्मक हलचलकै आधारमा उत्पन्न हुने गतिबिधिका कारण आएको क्षति भएको हुँदा यसलाई प्राकृतिक प्रकोपको संज्ञा दिइएको । तर त्यो प्रकृतिको हलचल र गतिबिधिमा तीब्रता र भयावह स्थिति ल्याउनमा प्रकृतिलाई जथाभावी निर्मम दोहन गर्ने मानिसका प्रकृति बिरोधी गतिबिधिहरुको पनि ठूलो हात रहेको छ । प्रकृतिका स्वभाविक अधिशासित नियमलाई जथाभावी कुल्चिने, मिच्ने र अतिक्रमण गर्ने कार्य बिश्वब्यापी स्तरमा र त्यसमा बिकसित सम्पन्न देशहरुमा जसरी भइरहेको छ त्यसले अनेक गम्भीर र अपूर्ब समस्याहरु पैदा गरेको छ । अहिले बिश्वब्यापीरुपमा जुन जलवायु परिबर्तनको समस्यालाई भयंकर खतराकोरुपमा खडा भएको बताइदैछ त्यो सम्पन्न बिकसित देशहरुको प्रकृतिमाथिको जथाभावी निर्मम दोहनकै परिणाम हो । जसको दुष्परिणाम त्यसो गर्न संलग्न नभएका बिपन्न र पछि परेका बिश्वका कायौं हाम्रो जस्ता देशहरुले पनि बेहोर्नु परिरहेको आजको कटु वास्तबिकता छ
पाप नगरी त्यसको परिणाम भोग्न बाध्य बनाउने बिश्व परिस्थिति रहेकैले तेश्रो बिश्वका अत्यन्तै कम बिकसित, बिकासोन्मुख र बिकासशील देशहरुले जल बायु परिबर्तनको दुष्परिणाम खेपिरहनु परेको छ । यसरी तथाकथित बिकासको पुण्यको प्रतिफल मुठ्ठीभर देशका मुठ्ठीभर मानिसले भोग्ने र अर्बौं मानिसले तिनले पकृतिको निर्मम दोहन गरेर उत्पन्न गरेको पापको दुष्परिणाम बेहोर्नु पर्ने स्थितिको अन्त्य आजको ज्वलन्त आबश्यकता बनेको छ । अन्यथा प्रकृति अझ खल्बलिने, प्राकृतिक प्रकोप भष्मासुर सामुद्रिक आँधी, भीषण बाढी, पहिरो र अनेक प्रकारका अपूर्ब रोग ब्याधीले मानब समाज आक्रान्त हुने कुरा निश्चित छ । यस सम्वन्धमा आजभन्दा पौने दुइ सय बर्ष जति पहिला बिश्व परिबर्तनको बिशद ब्याख्या गर्ने कार्ल माक्र्सका सहयोगद्धा तथा अनन्य मित्र फेडरिख एंगेल्सले ‘परिबार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ नामक कृतिमा प्रकिृतिका नियमलाई राम्रोसँग नबुझी जथाभावी प्रकृतिको दोहन गर्दा त्यसको बिरुद्ध प्रकृतिको निर्मम कोपभाजन बन्नु पर्ने स्थिति खडा हुने कुरा औंल्याएका थिए । उनले भनेका थिए कि प्रकृतिमाथि यसरी जथाभाबी गर्दा त्यसले रोगब्याध, बाढी–पहिरो, आँधीतुफान, डुबान, कटान उत्पन्न गरेर मानिसका प्रकृति बिरोधी गतिबिधिका बिरुद्ध बदला लिएर छोड्छ । त्यो यथार्थ त्यस यता निरन्तर परिलक्षित हुँदै आएको छ । खाशगरी पूँजीवादी अति नाफाकेन्द्रित बिकास मोडलले गर्दा प्रकृति र त्यसकै एक महत्वपूर्ण अंग मानब समाज दुबैमाथि निर्मम र गम्भीर प्रहार आज भइरहेको छ ।
प्रकृतिको यस्ता अनेक रौद्ररुप बिगतमा पनि देखिदै आएको हो । यो स्वाभाविकै हो कि मानिसले प्रकृतिमाथि गरेको जघन्य खेलबाडको दुष्परिणाम नै यस्ता भयावह प्राकृति घटना दुर्घटना हुने गरेका छन् । बितेका केही बर्षयता अमेरिका, ब्राजिल, अस्ट्रेलिया, फिलिपिन्स, श्रीलंका र भारतमा समेत जस्तो किसिमले आँधी, बाढी, भूस्खलन आदिले बबम्बडर मच्चाएको भयावह दृष्य देखिएको हो त्यसमा प्रकृतिमाथि मानिसबाट गरिएको कुनै न कुनै अन्यायनै अन्तरनिहीत रहेको र त्यो अन्यायका बिरुद्धकै प्रतिशोध हो भन्ने कुरामा कुनै सन्देह छैन र रहँदैन ।
हाम्रो देश नेपाल पनि यसबाट अछूतो छैन र रहन पनि सक्तैन । यद्यपि नेपालमा औद्योगिकीकरण भएको छैन तर पनि औद्योगिक पूर्बाधार खडा गर्ने नाममा जथाभावी सडक निर्माण गर्न डोजर चलाउने र भ्याकु कुदाउने गरिएको छ, जसरी चुरे र खोलानालाको दोहन गरेर जथाभावी बालुवा गिट्टी र ढुंंगा निकाल्ने गरिएको छ, जंगल कटान गर्ने गरिएको छ, हाम्रो सुन्दर सगरमाथालाई फोहोर र प्रदुषित तुल्याउने गरिएको यी सबै गतिबिधिले प्रकृतिलाई कुपित तुल्याएको छ र त्यसको दुष्परिणाम हामीले भोग्न परिहेको छ । बर्षैपिच्छे आउने बाढी पहिरो, रोग ब्याध र कटान डुबानको देश र बिश्वब्यापी परिप्रेक्ष यही नै हो ।