शुक्रबार, कार्तिक ७ गते २०८३
समस्याग्रस्त सहकारी प्रगति प्रतिवेदन

समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीयका सदस्यले जनही ६०३ रुपैयाँ फिर्ता पाउने


आषाढ २३, २०८२ सोमबार
समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीयका सदस्यले जनही ६०३ रुपैयाँ फिर्ता पाउने

 

समस्याग्रस्त घोषित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले ६०३ रुपैयाँका दरले फिर्ता पाउने देखिएको छ । समस्याग्रस्त घोषणा भएको २ बर्ष बितिसक्दा पनि उक्त सहकारी संस्थाका बचतकर्ताले बचत फिर्ता पाउने सम्भावना अझै न्युन छ ।

समस्याग्रस्त सहकारी  व्यवस्थापन समितिको कार्यालयका अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका २९ हजार ३७५ बचतकर्ताले बचत फिर्ता माग दावी गरेका छन् । उनीहरुले ८ अर्ब ७९ करोड १५ लाख ४८ हजार रुपैया समस्याग्रस्त कार्यालयमा मागदावी गरेकोमा समितिले हालसम्म उक्त संस्थाका ऋणी र सञ्चालकबाट १ करोड ७७ लाख २५ हजार ५८५ रुपैयाँ सकलन गरेको छ । उक्त रकमलाई दामीसाही वितरण गर्ने हो भने प्रत्येक सदस्यको भागमा ६०३ रुपैयाँ मात्र पर्न आउने देखिन्छ । 

समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०८१ को श्रावणदेखि २०८२ असार १५ गतेसम्म भएको प्रगति विवरण सार्वजनिक गर्दै उक्त तथ्याङ्क दिएको हो । समितिका अध्यक्ष श्रीमण कुमार गौतमले उक्त सहकारी संस्थाका सदस्यहरुले आठ अर्ब भन्दा माथिको रकम माग दावी गरेको भए पनि संस्थाले ८६ करोड मात्र ऋण लगानी गरेको पाइएको जनाए ।

उनका अनुसार सहकारीका बचतकर्ताले शतप्रतिशत बचत फिर्ता पाउने सम्भावना न्युन रहेको छ । सदस्यहरुले शतप्रतिशत बचत पाउनु पर्ने भएपनि संस्थाको सम्पत्तिले ५० प्रतिशत सम्म पनि फिर्ता गर्न नपुग्ने समितिको आँकलन छ । समितिले संस्थाको गैरवित्तीय सम्पत्ति, ऋणी सदस्य, सञ्चालक र व्यवस्थापनका कर्मचारीको सम्पत्ति समेतले भ्याएसम्म सदस्यहरुको बचत फिर्ता गर्ने उनले जानकारी दिए । तर सम्पत्ति कम र दायित्व बढी भएका कारण सदस्यहरुले बचत गरेको सबै रकम फिर्ता पाउने सम्भावना कम रहेको छ।

सरकारले समितिमा कर्मचारीको दरवन्दी बढाउनेदेखि कामलाई समेत बर्गिकरण गरेर अगाडि बढेकाले आगामी आर्थिक बर्षभित्रमा परिणाम आउने उनको भनाई छ । तथ्याङ्क संकलनदेखि ऋणी सदस्यहरुको समेत पहिचान भइसकेकाले आउने वर्ष पीडित बचतकर्ताले बढीभन्दा बढी रकम फिर्ता पाउने उनले बताए । संस्था र सञ्चालकको सम्पत्तिले पनि बचतकर्ताको रकम फिर्ता गर्न पुगेन भने संगठित रुपमा ठगी र सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुन आकर्षित गरी सञ्चालकहरुलाई विगो र दण्ड सजाय सुनाइने उनले जानकारी दिए । 

समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले पनि ९६४ रुपैयाँ मात्र फिर्ता पाउने देखिएको छ । समितिमा उक्त संस्थाका ५ हजार ३९७ सदस्यले १ अर्ब ४ करोड २० लाख ९० हजारको मागदावी दिएका छन् । ८ औं नम्बरमा समस्याग्रस्त घोषणा गरिएको उक्त संस्थाबाट हालसम्म ५२ लाख ८ सय रुपैयाँ संकलन भएको छ । उक्त रकमलाई ५ हजार सदस्यबीच दामासाही वितरण गर्दा ९६४ रुपैयाँ पर्न आउने देखिन्छ । तर समितिले भने प्रथम मागदावीकर्ताहरु मध्येबाट १ लाखसम्मका मागदावीलाई समान रुपमा रकम वितरण गर्ने भएको छ। समितिका अनुसार दायित्व कम भएका सहकारी संस्थाका सदस्यले भने बचत फिर्ता पाउने सम्भावना बढी रहेको छ ।

समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्थामा १२ जना सदस्यले २२ लाख ७१ हजार १९१  रुपैयाँ माग दावी गरेका छन् भने समितिले संस्था  र ऋणी सदस्यबाट ५ लाख ५० हजार रकम संकलन गरिसकेको छ । त्यसैगरी लुनिभाः बहुउद्देश्यीय सहकारी संस्थामा ८३ जना सदस्यको ६ करोड ६ लाख ३८ हजार रकम फिर्ता गर्न बाँकी रहेकोमा समितिको खातामा १० लाख ५७ हजार रकम जम्मा भइसकेको छ । वित्तीय रुपमा ठुलो कारोबार गरेका सहकारीका सदस्यले भन्दा सानो कारोबार भएका सहकारीका सदस्यले बचत फिर्ता पाउने सम्भावना बढी छ । 

यस्तो हालसम्मको प्रगति 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ६१ हजार ९४ जना सदस्यले ३८ अर्ब ४२ करोड ८६ लाख ३२ हजार रुपैयाँ मागदावी गरेका छन् । जसमध्ये यस आर्थिक बर्षको असार १५ गतेसम्म समितिले बचत फिर्ता र मिलानको माध्यमबाट ३ हजार ६८२ सदस्यको २ अर्ब ५८ करोड १८ लाख ७६ हजार रुपैयाँ फिर्ता गरेको छ । गत आर्थिक बर्षको असार मसान्तसम्म १ हजार २९९ सदस्यको ८३ करोड ६५ लाख २० हजार र यस आर्थिक बर्षको समेत गरी समितिले हालसम्म ३ अर्ब ७१ करोड ६६ लाख ५ हजार रकम फिर्ता तथा मिलान गरिसकेको छ ।

समितिले समस्याग्रस्त घोषित २३ मध्ये ३ सहकारी संस्थाको राफसाफ गरिसकेको छ भने २० सहकारी संस्थाका साना बचतकर्तालाई २९ करोड ८२ लाख बचत फिर्ता गर्ने निर्णय गरेको छ । समितिमा आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था बाहेकका २२ वटा संस्थाको ३४ अर्ब ७१ करोड ३० लाख २७ हजार रकम मागदावी फिर्ता गर्न बाँकी रहेको छ ।