शुक्रबार, कार्तिक ७ गते २०८३

असार ३२ गते भित्र कर्जा नतिरे साउन १ गतेबाट समितिले कारवाही थाल्ने


आषाढ १९, २०८२ बिहीबार
असार ३२ गते भित्र कर्जा नतिरे साउन १ गतेबाट समितिले कारवाही थाल्ने

 

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित १९ सहकारीका निलम्बित सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न ताकेता गरेको छ।

सरकारले समस्याग्रस्त घोषणा गरेका १९ सहकारी संस्थाको कर्जा असुली प्रक्रिया तीव्र रुपमा अगाडि बढाएको हो। समितिको कार्यालयले सूचना प्रकाशित गर्दै ती सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक तथा कर्मचारीहरूलाई आगामी असार मसान्तसम्म आफ्नो दायित्व चुक्ता गर्न अन्तिम समयसीमा दिएको हो।

तोकिएको समयभित्र दायित्व राफसाफ नगरे साँवा, ब्याज, हर्जाना समेत ऋणमा गणना गरि साउन १ गतेदेखि असुली थाल्ने जनाएको छ। समितिको सूचनामा भनिएको छ, “भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, २०७४ को दफा १० अनुसार समस्याग्रस्त घोषित संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यो अन्तिम सूचना हो। तोकिएको म्यादभित्र ऋण नतिरे साउन १ गतेदेखि कानुनी कारबाही अघि बढाइनेछ।”

ऋण तिर्न ताकेता गरिएका सहकारीहरुमा प्यासिफिक सेभिङ्ग, प्रभु बचत, ओरेन्टल कोअपरेटिभ, गोरखा सेभिङ, स्टाण्डर्ड सेभिङ्ग, पशुपति सेभिङ्ग, शिवशिखर बहुउद्देश्यीय सहकारी, नेपाल सहकारी वित्तीय संस्था, लुनिभा बहुउद्देश्यीय, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय, सोसाइटल बहुउद्देश्यीय, भेगास बचत, तुलसी बहुमुखी सहकारी संस्था, श्री लालिगुँरास बहुउद्देश्यीय, कञ्जुमर बचत,  कोहिनुर हिल सेभिङ, कान्तिपुर सेभिङ्ग र गौतमश्री बहुउद्देश्यीय रहेका छन् ।