शुक्रबार, कार्तिक ७ गते २०८३

दक्षिण बाराही महिला साकोसको आयोजनामा पाठेघरको मुख क्यान्सर परीक्षण


आषाढ १८, २०८२ बुधबार
दक्षिण बाराही महिला साकोसको आयोजनामा पाठेघरको मुख क्यान्सर परीक्षण

भक्तपुर, भक्तपुरको दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा महिलाहरूको पाठेघरको मुख क्यान्सर परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सूर्यविनायक नगरपालिकाको समन्वय र सिद्धि स्मृति अस्पताल, भीमसेनस्थान भक्तपुरको प्राविधिक सहयोगमा गाम्चा स्वास्थ्य चौकीमा मंगलबार आयोजित उक्त कार्यक्रममा महिलाहरूको उल्लेख्य उपस्थिति रहेको सहकारीकी व्यवस्थापक दीपा श्रेष्ठ क्षेत्रीले जानकारी दिइन् । सामाजिक उत्तरदायित्व वहनको वार्षिक कार्यक्रमअन्तर्गत संस्थाले विगत वर्षहरूझैँ यस वर्ष कार्यक्रम गरेको उनले बताइन् । कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै सहकारीकी अध्यक्ष निर्जला ढुंगेल दाहालले समयमै क्यान्सर पत्ता लागेमा उपचार सम्भव हुने जानकारी दिइन्।

यसअघि, संस्थाले गत जेठ ३१ गते नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा सुशिला भैरव मन्दिर, कटुञ्जेमा खुला रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियो। उक्त रक्तदान कार्यक्रममा २४ जना रक्तदाताले रक्तदान गरेका थिए। आयोजकले रक्तदाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो। समुदायमा आधारित यो सहकारी संस्था बचत तथा ऋण कारोबारसँगै सदस्यहरूको सक्रिय सहभागितामा सामाजिक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।