शुक्रबार, कार्तिक ७ गते २०८३

बागमती प्रदेशका सहकारीमा पुँजी र बचत बढ्यो, ऋण लगानी घट्यो


आषाढ १७, २०८२ मंगलबार
बागमती प्रदेशका सहकारीमा पुँजी र बचत बढ्यो, ऋण लगानी घट्यो

बागमती प्रदेशमा वचत तथा ऋण सहकारी संस्थाहरूको आर्थिक स्थिति मिश्रित देखिएको छ। सहकारीहरुको कुल पुँजी र बचत संकलन बढेको तर ऋण लागनी घटेको अध्ययनले देखाएको छ ।  नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन अनुसार  २०८१ सालको पुस मसान्तसम्म अध्ययनमा समेटिएका ८ वटा नमूना सहकारी संस्थाहरूको कुल पुँजी रु. ९ अर्ब ६४ करोड पुगेको छ।

यिनै सहकारीहरूमा रहेको कुल बचत रकम अघिल्लो वर्षको तुलनामा ४.५ प्रतिशतले वृद्धि भई रु. १२ अर्ब ९३ करोड पुगेको छ। तर, पछिल्लो समय वचत तथा ऋण सहकारीको सञ्चालन र व्यवस्थापनमा देखिएका समस्याका कारण कुल ऋण ०.८ प्रतिशतले घट्दै रु. १० अर्ब ९ करोडमा झरेको छ।

उक्त सहकारी संस्थाहरूमा कुल ८२,६६० सदस्यहरू रहेका छन् भने १८३ जना कर्मचारी कार्यरत छन्। समीक्षा अवधिमा कर्मचारी संख्या १६.१ प्रतिशतले घटेको तथ्य पनि प्रतिवेदनमा उल्लेख गरिएको छ, जसले सहकारी क्षेत्रभित्रको स्थायीत्व र व्यवस्थापनमा चुनौति देखिएको संकेत गर्छ। बचतमा वृद्धि भए पनि ऋण प्रवाह र कर्मचारी संख्यामा देखिएको गिरावटले सहकारी क्षेत्रमा सुधार र पुनर्संरचनाको आवश्यकता रहेको देखिन्छ।