बुधबार, भाद्र ३ गते २०८३

पुष्पलालको जन्म शत बार्षिकीमा क. पुष्पलाललाई शताब्दी पुष्पाञ्जली !


आषाढ १७, २०८२ मंगलबार
पुष्पलालको जन्म शत बार्षिकीमा क. पुष्पलाललाई शताब्दी पुष्पाञ्जली !

 
असार १५ कमरेड पुष्पलाल जन्म शत बार्षिकी  राष्ट्रिय समारोह समतिले उदयपुरको त्रियुगा नगरपालिकामा बिबिध बिशेष कार्यक्रमका साथ कमरेड पुष्पलालप्रति उच्च सम्मान प्रकट गर्दै उहाँले नेपाली समाजको आमूल परिबर्तनमा दिनुभएको योगदानका बारेमा प्रकाश पार्यो । यसै सन्दर्भमा यो आलेख प्रस्तुत छ ः
आज समग्रमा नेपालको कम्युनिष्ट आन्दोलन नराम्रोसँग अल्मलिएको र खल्बलिएको छ । यस भित्रका दक्षिणपन्थी र उग्रवामन्थी दुबै धारले विगतमा र अहिले पनि यसलाई गलत दिशा र गति दिएर यसका आधारभूत मूल्य मान्यता र क्रान्तिकारी परम्पराबाट यो आन्दोलनलाई बिचलित तुल्याउने र अलग्याउने काम गरिरहेका छन् । यस आन्दोललाई संसदवादमा फसाएका र लम्पसारवादी बनाएका छन् । अथाह सम्पत्तिको अगस्थी भोकले तिनका नेतृत्वलाई नराम्ररी गाँजेको छ । त्यसैले तिनले कम्युनिष्टको साइनबोर्डमा यसलाई कमाउ कम्पनीमा परिणत गरेका छन् । हिजै पनि  तिनीहरु कम्युनिष्टको खोल ओढेर यो धन्धामा लागेकै थिए । आज त्यस गलत परम्परालाई अझ तीब्र किसिमले चलाइरहेका छन् । फलतः आफ्नो वर्तमान स्थिति निराशाजनक भए पनि भावी पुस्ताको जीवन सुरक्षित र सहज होला भन्ने आशामा रहेका लाखौं लाख नेपाली श्रमजीवी जनता आज अत्यन्तै निराश हुन पुगेका छन् । अनि त्यसको सचेत अंगले यो स्थितिको निकास के होला भनेर गम्भीररुपमा बिचार बिमर्श गर्न थालेको छ । यसै क्रममा  आज जीवन्त क्रान्तिकारी कम्युनिष्ट मार्गदर्शक कमरेड पुष्पलालको खोजी हुन थालेको छ । उनले देशमा आरम्भ गरेको यो ऐतिहासिक महत्वको युगान्तकारी क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले जुन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षा र सुदृढीकरणको आधारभूत ध्येयका लागि अग्रता लिएको थियो त्यसको पुनः चर्चा हुन थालेको छ । अनि जुन नयाँ जनवाद र वैज्ञानिक समाजवाद स्थापनको अबिच्छिन्न र चरणबद्ध ध्येय यो आन्दोलनले अघि सारेको थियो त्यसको अझ गहिरो गरी चिन्तन मनन गरिनुपर्ने आवश्यकता औंल्याउन थालिएको छ 

 

हुन त अचेल देश र जनताको अग्रगामी शतत प्रगति र विकासका बाधाहरुलाई पन्छाउन एउटा सिन्को पनि नभाँचेका र वैचारिक, बौद्धिक र ब्यावहारिक कुनै हिसाबले पनि समाजलाई कुनै दिग्दर्शन गराउन सक्ने योग्यता र अनुभव नभएका मानिसहरुलाई समेत नायक र जननेताको रुपमा प्रस्तुत गर्ने गलत परम्परा बसे बसाइएको छ । यस्तो खालको आजको हाम्रो समाजको भीडमा क. पुष्पलालको चिन्तन, चरित्र र ब्यवहारको अध्ययन र मनन गर्नु पनि वास्तवमा पुरातात्विक खोज अनुसन्धान गर्दा जस्तै धेरै घोत्लिनुपर्ने स्थिति खडा भएको छ । नेपालको सन्दर्भमा क. पुष्पलाललाई धेरै मानिसहरुले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने एउटा संस्थापक महासचिव तथा सामन्तवाद तथा साम्राज्यवादका बिरुद्ध क्रान्तिकारी बाम तथा लोकतान्त्रिक शक्तिलाई एकजुट पार्ने संयुक्त जनआन्दोलनको नीतिको नीतिकार र आह्वानकर्ताको रुपमा मात्र प्रस्तुत गर्ने गरेको पाइन्छ । तर यतिले मात्र उहाँको समग्र र सही ब्यक्तित्वको बिल्कुलै उजागर हुँदैन ।

आज हामी जुन समाजमा क्रियाशील छौं र जस्तो परिवेशमा बाँचिरहेका छां त्यसलाई गम्भीरतापूर्वक आत्मसात गर्दा क. पुष्पलालको पनि सही किसिमले मूल्यांकन गरिएन भने देशको कम्युनिष्ट तथा जनतान्त्रिक क्रान्तिकारी जनआन्दोलनको भविष्य नै अपूर्व खतरामा पर्ने कुरा निश्चित छ । हो, निश्चय पनि कामरेड पुष्पलाल एउटा क्रान्तिकारी कम्युनिष्ट नेता भएकाले र यस आन्दोलनको मर्म र भावनालाई राम्ररी बुझेको तथा आत्मसात गरेको ब्यक्तित्व भएको हुनाले कम्युनिष्ट समाजको स्थापना र भविष्यकाप्रति उहाँको अखण्ड र अटुट निष्ठा त थियो नै । अनि त्यसै आधारमा नेपाली समाजलाई यसको अतित, वर्तमान र भविष्यलाई समेत गतिशीलरुपमा राम्ररी बुझ्ने, केलाउने र सही निष्कर्ष निकाल्न र अघि बढ्न मार्गदर्शन गर्ने दूरदर्शक र सही चिन्तक पनि हुनुहुन्थ्यो मार्क्सबादी चिन्तक कामरेड पुष्पलाल !

plbishes.jpeg
त्यसैले नेपाली राजनीति र समाजको इतिहासबारेको उहाँको दृष्टिकोण र ब्याख्या अरु सबैखाले इतिहासबिद्हरुको भन्दा बेग्लै र कमरेड पुष्पलालकै सही र बैज्ञानिक मान्यतामा आधारित ‘यथार्थ वस्तुस्थितिको आधारमा गरिएको वर्गीय विश्लेषणको निचोड’कोरुपमा आएको देखिन्छ । अरु–अरुले जस्तो नेपालको समग्र इतिहालाई कामरेड पुष्पलालले वंशावली र घटनाहरुको विवरणको रुपमा मात्र बिल्कुलै हेर्नु भएन बरु यसलाई मानव जातिको आजीविका के कसरी चल्दै आयो, जनताले के कसरी संघर्ष गर्दै आए र त्यस आजीविकामा के कसरी परिवर्तन हुँदै आयो भन्ने एउटा गतिशील र द्वन्द्वात्मक परिप्रेक्षमा उहाँले नेपाली समाज विकासलाई हेर्ने र केलाउने अनि सही निचोड निकाल्ने काम गर्नुभयो । त्यसैले उहाँले नेपालका एकथरी इतिहासकारहरुले जस्तो नेपालको इतिहास, गाईपालनदेखि शुरु गरेर प्रस्तुत गर्ने  या अर्कोथरीले भारतको कुमाऊ गढवालतिरबाट यता नेपालतिर पसेका हिन्दू–धर्मावलम्बीहरु, खस बाहुनहरु र पछि भारतकै चित्तौरगढतिरबाट आएका राजपूत क्षेत्री र बाहुनहरुले यहाँका आदिवासीहरुलाई सभ्यता, संस्कृति विकासको बाटोमा डो¥याए भन्ने गर्दछन् ती इतिहासकारहरुले चाहेर वा नचाहेर नेपाली समाजलाई विजेता र पराजितरुपमा प्रस्तुत गरेर जातीय विद्वेषको बिउ रोप्ने र मलजल गर्ने काम गरेका र गरिरहेका छन्, क. पुष्पलालले भने एकदमै त्यसो गर्नु भएन उल्टै त्यस प्रबृत्तिको बिरुद्ध रहनु भयो ।

क.पुष्पलालले इतिहासलाई जनताको आजीविकाको संघर्ष र सोचको आधार र त्यसमा परिवर्तन हुँदै जाने जीवन्त र परिवर्तशील घटना र गतिविधिका रुपमा हेर्नु भयो र ब्याख्या गर्नु भयो । यस सन्दर्भमा उहाले लेख्नु भएको ‘नेपाली जनआन्दोलन ः एक समीक्षा’ एउटा ज्वलन्त र दूरगामी महत्वको उदाहरणीय कृति हो । आज त्यसको थप अध्ययन र मनन गरिनुपर्ने माग पनि भइरहेको छ । निश्चय नै कामरेड पुष्पलाल इतिहासका माथि उल्लेख गरिए जस्ता गलत र परम्परागत अवधारणालाई सच्याएर यसलाई द्वन्द्वात्मक तर एकताबद्ध गतिशील विकासको रुपमा हेर्ने, ब्याख्या गर्ने र प्रस्तुत गर्ने तथा त्यसमा रहेका समस्याहरुलाई समाधान गर्ने प्रक्रिया र पद्धतिको क्रममा हेर्ने गर्नुहुन्थ्यो । अनि त्यसका लागि उहाँले विभिन्न ऐतिहासिक तथ्य प्रमाणका आधारमा नेपालमा प्राचीन मातृसत्तात्मक समाज थियो भनेर औंल्याएको र पुष्टि गर्नुभएको छ । कालान्तरमा मातृसत्तात्मक त्यो समाज त्यस्तो कुनै उल्लेखनीय उथलपुथलबिना नै विस्तारै विघटनको संघारमा पुग्यो र त्यसको ठाउँ पुरुषप्रधान समाजले लियो । यस क्रममा त्यसको आदिस्वरुप ग्रामीण ‘कविलाई’ समाज र त्यसको मुखियाको रुपमा देखाप¥यो । तिनै कबिलाका मुखियाहरु नेपालका राजतन्त्रका बिज थिए । तिनै कबिला मुखियाहरुको आपसी संघर्षको क्रममा भूरे, टोले र टाकुरे राजाहरु देखापरे अनि ती भूरे, टोले र टाकुरे राजाहरुको परस्परको संघर्षबाट नेपालमा बाइसे, चौबिसे आदि राज्य र रजौटाहरुको उदय भयो । तिनको पनि परस्पर संघर्षबाट नेपालमा केन्द्रीय सामन्ती सत्ता राजतन्त्रको जन्म भएको हो र नेपालमा त्यसको नेतृत्व पृथ्वी नारायण शाहले गरेका हुन् ।

समाज विकासको क्रममा यसको प्रगतिशील भूमिका देखिए पनि यो शोषणमा आधारित सामन्ती ब्यवस्था अन्तत बिघटन हुने र त्यसको ठाउँ नयाँ र त्यो भन्दा भिन्न उन्नत ब्यवस्थाले लिने भन्ने धारणा उहाँले वस्तुगत वर्गीय विश्लेषणका आधारमा उल्लेख गर्नु भएको छ । यसै आधारमा क. पुष्पलालले नेपालको शाहवंशीय राजतन्त्रलाई ‘राजतन्त्रको अन्तिम दीपशिखा’ भनेर जुन विश्लेषण गर्नु भएको  थियो आजको स्थितिले त्यसको प्रष्टसँग पुष्टि गरेको छ । यसरी उहाँलाई सप्रमाण नेपालको आधुनिक गणतन्त्रको पहिलो प्रवक्ता इतिहासले बनाइदिएको छ । यस परिपे्रक्षमा पृथ्वीनारायण शाहको भूमिकाका बारेमा पनि क. पुष्पलालको दृष्टिकोण भिन्न रहेको छ । विभिन्न विद्वानहरुले दक्षिणतिरको बढ्दो बृटिश साम्राज्यवादबाट नेपाललाई बचाउन र हिन्दू धर्मको पवित्रतालाई जोगाउन पृथ्वीनारायण शाहले सचेतरुपमा नेपालको एकीकरण अभियान चलाएका हुन् भन्ने गरेका छन् । तर पुष्पलालले लेख्नुभएको छ कि पश्चिमका बाइसे चौबिसे राज्य र विशेष गरेर बागमती प्रदेशका काठमाडांै, पाटन र भक्तपुरका तीन राज्य अन्तर्गत नेपालमा एउटा नयाँ ब्यवसायी वर्ग उदाएको थियो र त्यस वर्गलाई एउटा विस्तृत राष्ट्रिय बजारको आवश्यकता थियो ।

तर बाइसे चौबिसे राज्यहरुको आपसी कलहले गर्दा र ती राज्यहरुका आ–आफ्नै राज्य नियम कानुनले गर्दा उदाउँदो ब्यवसायी वर्गको आवश्यकताको पूर्ति गर्न सम्भव थिएन र त्यो स्थिति सामाजिक प्रगतिको बाधक सावित भइरहेको थियो । त्यसैले सामाजिक प्रगतिका लागि यो बन्धन तोडिनुपर्ने आवश्यकता थियो । यही नयाँ भौतिक परिस्थिति पृथ्वीनारायण शाहको नेपालको एकीकरण अभियानको मुख्य आन्तरिक प्रेरणा श्रोत थियो । यद्यपि बाह्यरुपमा त्यो धर्म युद्धकै रुपमा आएको किन नहोस् । त्यसैले नेपालको एकीकरणपछि उद्योगधन्धाको नयाँ युगको प्रारम्भ हुने उज्याला लक्षणहरु देखा पर्न थालिसकेका थिए । तर त्यसपछिको राज्य नेतृत्व ओगट्न आएका सामन्ती सरदारहरुको कारणले गर्दा नेपाल साम्राज्यवादी शक्तिको चंगुलमा फस्न पुग्यो र नेपालको विकासका यावत बाटाहरु बन्द हुँदै आए । सामन्तवाद र साम्राज्यवादको यो आपसी गठबन्धनको बन्धक भएको नेपालको अर्थ–राजनीतिक अवस्था नै आजको नेपालको भयावह गरिबी, अभाव, पछौटेपनको मूल कारण बन्यो र बनिरह्यो । त्यसैले कामरेड पुष्पलालले भन्नु भएको छ सामन्तवाद र साम्राज्यवादको अन्त्य नै नेपाली समाजको उत्थान र प्रगतिको मूल बाटो हो । यही नै नयाँ जनवादी क्रान्तिको आवश्यकता र औचित्यको मूल आधार पनि हो ।

pljulus.jpeg
यस परिप्रेक्षमा नेपालको राजनीतिक विकासको बारेमा पनि क. पुष्पलालको दृष्टिकोण  उन्नत र भिन्न पनि छ । केन्द्रीय सामन्ती सत्ता स्थापना भएपछि राष्ट्रिय पुनर्जागरणको साटो सामन्ती दरबारिया कलह बढ्दै गएर त्यस क्रममा आठपहरिया राणा जंगबहादुरले सत्ता कब्जा गरेपश्चात राजनीति ‘ए’ क्लासका राणाहरुबाट ‘बी’ क्लासका राणाहरुमा सर्न थाल्यो । अनि ती ‘बी’ क्लासका राणाहरुबाट भाइभारदार र तिनका नोकरचाकरमा राजनीति झ¥यो अनि नोकरचाकरबाट त्यो दरबारभन्दा बाहिर पनि पुग्न थाल्यो । बाहिर पुगेपछि राजनीति मध्यम वर्गको हातसम्म आइपुग्यो । त्यसै मध्यम वर्गले नेपालमा प्रजातान्त्रिक आन्दोनलको आरम्भ ग¥यो भन्ने कामरेड पुष्पलालको बस्तुबादी मान्यता रहेको छ । त्यो मध्यम वर्गको हातबाट पनि राजनीति अझ तल झर्दै ब्यापक जनताको हातमा अर्थात नेपाली मजदुर, किसानको हातमा पुग्ने आजको युगमा आइपुगेको छ भन्ने उहाँको प्रष्ट निष्कर्श रहेको छ ।

जबसम्म यस मध्यम वर्गको घेराबाट राजनीतिलाई मुक्त गर्न सकिदैन र त्यसैमा अल्झिरहन्छ त्यसबेलासम्म नेपाली राजनीतिले कुनै न कुनै रुपमा दरबारिया परिबृत्तबाट त्यो सम्पूर्णरुपमा फुत्किन सक्तैन र त्यसकै वरिपरि चक्कर काटिरहेको हुन्छ । त्यसले गर्दा परिवर्तनको बोध आम जनसमुदायसम्म पुग्न पाउँदैन भन्ने जुन विश्लेषण उहाँले गर्नुभएको थियो आजको नेपाली राजनीतिको यथार्थ बस्तु–स्थितिले त्यसको जिउँदो जाग्दो प्रमाण दिइरहेको छ । त्यसैले ब्यापक जनताका बीचमा राजनीतिले पदार्पण गर्नुपर्दछ भन्ने मान्यता अघि सार्दै क. पुष्पलालले नेपालको सन्दर्भमा राष्ट्रियता र जनवादको बारेमा के सार स्पष्ट खिचेको छ भने ‘लाखौं लाख झोपडीको एकता नै राष्ट्रियता हो र उनीहरुको हक हितको सुरक्षा नै जनवाद हो ।’ यस दृष्टिकोणबाट हेर्दा पुष्पलाललाई नेपालमा वर्गीय र जन केन्द्रित राजनीतिको जनक भन्न कसैले हिच्किचाउनु पर्ने देखिदैन । यो मूल्यांकनले वास्तवमा उहाँलाई न्याय मात्र गर्दैन, उहाँले अबलम्बन गरेको माक्र्सबादी लेनिनबादी  क्रान्तिकारी विचारको रक्षा र विकास तथा परिमार्जन  गर्न समेत मार्ग प्रशस्त गर्दछ ।

नेपाली समाज परिवर्तनलाई सही दिशा र गति दिन कमरेड पुष्पलालका यिनै महत्वपूर्ण योगदानहरुको रक्षा र बिकास र परिमार्जनका लागि सामन्तबाद बिरोधी साम्राज्यबाद बिरोधी क्रान्तिकारी कम्युनिष्ट तथा सच्चा क्रान्तिकारी जनतान्त्रिक शक्तिहरु एक हुनुपर्ने आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता बन्न गएको यथार्थ हो । त्यसो नगरी अर्ध सामन्ती र नब औपनिवशिक देशको आजको स्थितिबाट यसलाई मुक्त गरेर अझ उन्नत दिशामा अघि बढ्न सकिने छैन । त्यसैले वर्गीय शोषण र सामाजिक उत्पीडनमा परेका सम्पूर्ण शोषित उत्पीडित मजदुर, किसान, महिला, युवा–विद्यार्थी एबं राष्ट्रिय पूजीपति तथा अतिरिक्त अन्याय र  अपमान झेलिरहेका कथित दलित, अल्पसंख्यक, लोपोन्मुख र सीमान्तकृत जाति, जनजाति समुदायले यो युगौंदेखिको वर्गीय शोषण र सामाजिक उत्पीडनको अन्त्य र निर्णायक तथा उच्च परिबर्तका लागि अझ बढी सचेत, अझ बढी एकताबद्ध र अझबढी संगठित, अझबढी अनुशासित तथा संघर्षशील हुनुको कुनै विकल्प छैन । क.पुष्पलालको यस जन्म शताब्दी बर्षमा कमरेड  पुष्पलाले जस्तै मक्र्सबाद लेनिनबाद र माओबिचारधारको आलोकमा सिद्धान्तनिष्ठ क्रान्तिकारी परम्परा अँगाल्नु  र  अबिचलरुपमा देश र जनताप्रति निष्ठापूर्बक समर्पित हुनु पर्ने आवश्यकता अझ बढेको छ । यीनै उच्च भावनकासाथ कमरेड पुष्पलालप्रति उच्च सम्मानका प्रकट गर्दै उहाँको जन्म शत बार्षिकी राष्ट्रिय समरोह समतिका तर्फबाट हार्दिक हार्दिक शताब्दी सलामको पुष्पाञ्जली  ! महान् नेता  कमरेड पुष्पलाल अमर रहून् ! !