
- इन्द्रनारायण सुबेदी
(छन्द:-- इन्दिरा)
भव हुँदै गयो नित्य जर्जर
रहनु पर्छ यो स्वच्छ सुन्दर
विषय भोगले यो नमैलियोस्
मुलुकमा सधैँ शान्ति फैलियोस्।१।
हृदयभित्रका दर्द मेटियून्
प्रगतिका नयाँ मार्ग भेटियून्
मनुजको प्रभा त्यो नवैलियोस्
मुलुकमा सधैँ शान्ति फैलियोस्।२।
जहरका घडा दूर फालियून्
हृदयका चिरा शीघ्र टालियून्
अखिल लोकको चेत फेरियोस्
मुलुकमा सधैँ शान्ति फैलियोस्।३।
सकल जीवको विश्व हो घर
बल दबाबले भै असुन्दर
प्रकृतिको छ्टा त्यो नभत्कियेास्
मुलुकमा सधैँ शान्ति फैलियोस्।४।
विधि विधानको स्तम्भ ठोकियोस्
अवनि घातको दम्भ रोकियोस्
प्रणत ईशले बाहुमा लियोस्
मुलुकमा सधैंँ शान्ति फैलियोस्।५।
======================
समस्या साभार :--प्रतिभा निकुञ्ज