मुलुकबाट वैदेशिक रोजगारीका लागि कामदार पठाउने जिल्लामध्ये पहिलो स्थानमा धनुषा रहेको छ । आर्थिक वर्ष २०८१ ८२ को पौष मसान्तसम्मको तथ्यांकले मुलुकभरबाट रोजगारीका लागि बाहिरिने कुलमध्ये ५.२७ प्रतिशत धनुषाका रहेको देखाउँछ । सिरहाको ४.०९, महोत्तरीको ३.६७ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा जानेमध्ये सम्पूर्णमध्ये २२ प्रतिशतको आँकडा मधेश प्रदेशकै मात्र छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्ध–वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८१÷८२ को पुस महिनासम्ममा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या ८८ हजार ६ सय ८९ रहेको देखाउँछ । यो संख्या बाह्य रोजगारीका लागि मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २२.५६ प्रतिशत हो ।
धनुषा जिल्लाबाट नयाँ र श्रम स्वीकृति नवीकरण गरी २०८२ जेठ महिनामा ३९५५, बैशाखमा ४१८२ जना विदेशिएका छन् । त्यसैगरी चैत्र २०८१ मा ४४६७, फागुनमा ३७०१ र माघ महिनामा ३५५८ जना बाहिरिएका छन् । यी सबै महिनामा धनुषाबाट बाहिरिनेकै संख्या चार्टको टपमा रहेको श्रम विभागकाे तथ्यांक छ ।
मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उल्लेख्य रहेतापनि अदक्ष कामदारको संख्या अधिक रहेको तथ्यांकले देखाउँछ छ ।
नेपालपत्र संवाददाता