शुक्रबार, कार्तिक ७ गते २०८३

सुदूर पश्चिम प्रदेशका सहकारीमा ४२ प्रतिशतले पुँजी वृद्धि


आषाढ ५, २०८२ बिहीबार
सुदूर पश्चिम प्रदेशका सहकारीमा ४२ प्रतिशतले पुँजी वृद्धि

 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सुदूर पश्चिम प्रदेशको अर्धवार्षिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार सो प्रदेशका सहकारीमा ४२ प्रतिशतसम्म पुँजी वृद्धि भएको छ ।  प्रदेशमा रहेका सहकारीहरुमध्ये नमुनाको रुपमा छनौट गरिएका १० वटा सहकारीहरुको विस्तृत रुपमा अध्ययन गर्दा पुँजी वृद्धि देखिएको जनाइएको छ । 

समीक्षा अवधिमा नमुना छनौटमा परेका १० वटा सहकारीहरुले संकलन गरेको कुल पुँजी गत वर्षको सोही अवधिको तुलनामा ४२.९२ प्रतिशतले वृद्धि भई रु.१ अर्ब १ करोड १९ लाख पुगेको छ । गत वर्षको समीक्षा अवधिमा यस्तो पुँजी ४.७६ प्रतिशतले वृद्धि भई रु.७० करोड ८० लाख पुगेको थियो । यसैगरी, कुल बचत गत वर्षको समीक्षा अवधिको तुलनामा ९.८३ प्रतिशतले बढ्न गई रु.५ अर्ब ७५ करोड ७५ लाख पुगेको छ । गत वर्षको समीक्षा अवधिमा यस्तो बचत ११.०३ प्रतिशतले बढ्न गई रु.५ अर्ब २४ करोड २१ लाख पुगेको थियो । 
 
त्यसैगरी समीक्षा अवधिमा नमुना छनौटमा परेका १० वटा सहकारीहरुले प्रवाह गरेको कुल ऋण गत वर्षको समीक्षा अवधिको तुलनामा ५.५९ प्रतिशतले वृद्धि भई रु.४ अर्ब ८५ करोड ८४ लाख पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो ऋण ३.४६ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड १२ लाख पुगेको थियो ।

समीक्षा अवधिमा छनौट गरिएका सहकारी संस्थाका सदस्यहरुको संख्या ७.३६ प्रतिशत र सहकारी संस्थामा काम गर्ने कर्मचारीको संख्या ३.९३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तमा सदस्य संख्या ७.१४ प्रतिशतले वृद्धि भएको थियो भने कर्मचारी संख्या ४.७१ प्रतिशतले घटेको थियो ।