शुक्रबार, कार्तिक ७ गते २०८३

सुशासनको अवस्था बुझ्न बुढानीलकण्ठ नगरपालिकाले सहकारीको अनुगमन गर्ने


जेठ २७, २०८२ मंगलबार
सुशासनको अवस्था  बुझ्न  बुढानीलकण्ठ नगरपालिकाले  सहकारीको अनुगमन गर्ने

बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले सहकारीलाई मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गरी सदस्यको बचतलाई ठिक ढंगले परिचालन गर्न आग्रह गरेका छन् । सहकारी हकहित राष्ट्रिय समाजले बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा आयोजनामा  गरेको सहकारी सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा बोल्दै   उनले आफुले संचालन गरेको सहकारीलाई कसरी राम्रो बनाउने भनेर लाग्न समेत सहभागिहरुलाई सुझाए दिए ।

नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका संस्थाहरुलाई आवश्यकता अनुसार समसामयिक विषयमा तालिम तथा प्रशिक्षण दिँदै आएको भन्दै उनले सिकाईबाट के कस्ता उपलब्धी हासिल भयो भनेर समिक्षा गर्ने जनाए । उनले सहकारी संस्थाहरुको अनुगमन गर्ने भन्दै सिकेका कुरालाई व्यवहारमा लागू गरि संस्थालाई राम्रो बनाउन समेत सुझाए । सिकाईबाट के कस्ता उपलब्धी भयो भनेर नगरपालिकाले सहकारी संस्थाहरुसंग प्रगति विवरण माग्ने  समेत बताए । ‘नगरपालिकाले केही खर्च गरेपछि उपलब्धि पनि हासिल हुनुप¥यो नि,’ उनले भने, ‘हामीले गरेको खर्चले केही उपलब्धि भएन भने त अर्थ रहँदैन ।’ सहकारीमा सुशासन पालनको अवस्था बारे जानकारी लिन नगरपालिकाले मातहतका सहकारीको अनुगमन गरिरहेको उनले बताए । 
 
यसैगरी कार्यक्रममा बोल्दै बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष शम्भु भट्टराईले राज्यले सहकारी सम्बन्धी नियम कानुन परिमार्जन गरेर कडा बनाएपछि अहिले राम्रा सहकारी पनि संचालन गर्न गाह्रो परेको बताए । सुशासन समितिका संयोजक समेत रहेका भट्टराईले बूढानीलकण्ठ नगरपालिका सहकारीकर्मीहरुसंग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको  जनाए ।

सहकारीकर्मीहरुलाईनगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा सहकारी सम्बन्धी कस्तो कार्यक्रम समावेश गर्नुपर्छ भनेर सुझाव दिन आग्रह गर्दै उनले आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । कतिपय सहकारी संस्थाका संचालक र कर्मचारीहरुले नजानेर जोखिमपूर्ण लगानी गरेकाले पनि समस्यामा  परेको उनको भनाई छ। खराब सहकारीले गरेको गल्तीको असर राम्रा सहकारीलाई पनि पर्ने गरेको  उनको भनाई छ । यसैगरी कार्यक्रममा मन्तव्य राख्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्र प्रसाद ढकालले केही सहकारीका संचालक र ब्यवस्थापकहरुले महत्वकांक्षी भएर संस्थाको पैसा अपचलन गरेको र सदस्यले लिएको ऋण नतिरेकाले सहकारीमा समस्या सिर्जना भएको  बताए ।

कतिपय स्थानीय तहले सहकारीलाई प्राथमिकता नदिएको भए पनि  बुढानीलकण्ठ नपाले भने सहकारीप्रति जिम्मेवारी वोध गरेको जनाए ।  उनले सहकारीकर्मीहरुलाई सहकारीमा समस्या छ भनेर पछाडि हट्नुको सट्टा म यसको समाधान गर्न सक्छु भनेर प्रतिवद्ध भएर जिम्मेवारी सम्हाल्न आग्रह गरे । संस्थाको संचालक समितिले समस्याको समाधान निकाल्न नसकेको अवस्थामा अभियानका छाता संघहरु र संघ, प्रदेश र स्थानीय सरकारसंग समन्वय गर्न सुझाव दिए । उनले भने, ‘केही गर्दा भएन भने कानुनी प्रकृया पुरा गरेर भएपनि सहकारी भित्र देखिएका विकृति ब्यवस्थापन गर्नुपर्छ ।’

सहकारीमा स्वयमसेवी भएर काम गर्दापनि आम जनमानसमा सहकारीकर्मीहरुप्रति प्रश्न उठ्नु दुःखद र पीडादायी भएको भनाई राख्दै अध्यक्ष ढकालले सहकारीले सकेसम्म समस्या उत्पन्न हुन दिनै नहुने र समस्या देखिएको अवस्थामा पनि तत्काल  समाधान  गर्न लागिपर्नुपर्ने आवश्यकता औंल्याए ।  सहकारीका संचालकहरुलाई सदस्यहरुले दिएको जिम्मवारीबाट नपञ्छिन आग्रह गर्दै समस्यासंग जुधेर अगाडि बढ्न आह्वान गरे । सरकारले गठन गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थाहरुका लागि जारी गरेको निर्देशन तथा मापदण्डमा भएका असहज विषयलाई सहजीकरण गर्न नेफ्स्कून तल्लीन रहेको जानकारी गराए ।

नेफ्स्कूनले पहल गरेकाले विगतमा सहकारीमा तोकिएको ब्यक्तिगत बचतको सीमा हटेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्राधिकरणको मापदण्ड भएका असहज ब्यवस्था परिमार्जन हुनेमा आवश्वत हुन आग्रह गरे । सहकारी सदस्यको लागि भएको भन्दै अध्यक्ष ढकालले नेतृत्वले सोही अनुसार काम गर्न आग्रह गरे । प्राधिकरणले जारी गरेको मापदण्डले केही अन्यौलता ल्याएको र त्यसको निकास खोज्न आफुहरु लागि परेको उनले बताए । सहकारी मार्फत नै सदस्यलाई समृद्ध बनाउन सकिने भन्दै उनले बचत लिँदा र ऋण लगानी गर्दा जोखिमलाई विश्लेषण गर्न सुझाए ।

सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका सहकारी शाखा प्रमुख अच्युत खड्का र नेफ्स्कूनका पूर्व सिईओ कुवेर निरौलाले प्रशिक्षण दिएका थिए ।
समाजका सचिव ऋषिराम ढकालले संचालन गरेको प्रशिक्षण कार्यक्रममा बूढानीलकण्ठ नगर भित्रका सहकारीका संचालक, ब्यवस्थाक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।