शुक्रबार, कार्तिक ७ गते २०८३

“बचत ऋण अभियान सक्किने कुरामा नेफ्स्कूनले कुनै हालतमा सम्झौता गर्दैन”


जेठ २०, २०८२ मंगलबार
“बचत ऋण अभियान सक्किने कुरामा नेफ्स्कूनले कुनै हालतमा सम्झौता गर्दैन”

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का  अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी नियमन प्राधिकरणले जारी गरेको कतिपय व्यवस्थाले बचत ऋण अभियानलाई नै समस्या पारेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले प्राधिकरणले जारी गरेको मापदण्डले प्रारम्भिक संस्थाहरुले संघहरुको शेयर खरिद गर्न र नियमित बचत गर्न समेत रोक लगाएको उल्लेख गरे । 

शेयर खरिद र नियमित बचत बिना सहकारिता नै मर्ने भन्दै उनले सहकारी अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गरी बनेको ऐन २०८१ ले अहिलेको परिस्थिति निर्माण गरेको जनाए । अध्यक्ष ढकालले निर्देशन र मापदण्डका कतिपय बुँदाले बचत ऋण सहकारी अभियान स्तब्धतातर्फ उन्मुख भइरहेको समेत जनाए । साकोस अभियानको एउटै स्वर बनाएर जानुपर्छ भनेर नेफ्स्कूनले पहल गरेको बताउँदै उनले सुरुमा राष्ट्रिय समितिको बैठक बोलाएको र मापदण्डका केही विषयमा केन्द्रीत भएर विज्ञप्ति समेत जारी गरेको बताए । सहकारिता नहराउने गरी यसको वोर्डर लाइन क्लियर गर्न नेफ्स्कूनले विज्ञप्ति जारी गरेको उनको भनाई छ । 

उनले थपे, “यहि जेठ २३ गते राष्ट्रिय भेला आयोजना गरिएको छ । हामी दलीय प्रणालीभित्र छौं र पार्टीहरुले सहकारीको लागि विभागिय प्रमुख तोकेका छन् । राजनीतिक दलहरुको बचत ऋणप्रतिको धारणा के हो भनेर बुझ्न यो भेला आयोजना गरिएको हो । हामीले आन्दोलनका विषयममा अहिले सोचेका छैनौं र परिस्थितिले त्यतातर्फ नलैजाला । आन्दोलनमा नै जानु पर्यो भनेपनि यो मोडालिटीमा आन्दोलनको नेतृत्व गरिदिनु पर्यो भनेर महासंघसँग आग्रह गछौं ।” महासंघ सबै संघहरुको पनि संघ भएकाले सबै संघहरुलाई व्यवस्थित गर्न महासंघले पहल गर्नुपर्ने उनको भनाई छ । नेफ्स्कूनका सल्लाहकारहरुसँग पनि छलफल गरिएको र उहाँहरुले दिएको सल्लाहलाई समेत आत्मसात गरेर अगाडि बढ्ने उनले जानकारी दिए । 

रामेश्वर खनालको प्रतिवेदनले सहकारी अभियानलाई खुम्च्याउन खोजेको भन्दै अब समस्या बचत ऋण अभियानसँग मात्र सिमित नरहेको अध्यक्ष ढकालले जनाए । उनले भने “हामी हाम्रो निर्णय र ऐनप्रति प्रतिवद्ध नहुने र सहकारिता अरुसँग खोज्ने तर आफूले मान्नु नपर्ने विषय हो भने केहि पनि भन्नु छैन ।” खनाल प्रतिवेदनले सहकारीको कार्यक्षेत्र तोकेको र स्थानीय तहभन्दा बाहिर गएर सञ्चालन भएका र वित्तीय तथा आर्थिक रुपमा पारदर्शिता कायम गरेका संस्थाहरुलाई समेत यसले समस्या पार्ने उनले जनाए । सहकारीलाई खुम्च्याउने विषय आउँदा समेत महासंघबाट रोक्न कुनै पहिले नभएकोप्रति उनले टिप्पणी गरे । 

सहकारीको शेयर पहिचानसँग जोडिएको विषय भएको र शेयर बाहेक पनि सहकारिता हुन्छ भन्ने आफूलाई नलागेको उनले प्रष्ट पारे । नियमित बचतको लागि नेफस्कूनले ३७ बर्षदेखि पढाउँदै आएको, शेयर र मासिक बचतबाट साकोस अभियानलाई अलग गर्न खोज्नु अन्याय हुने उनले जनाए । नियमित बचत गर्न नपाइने हो भने कहाँको पैसा ल्याएर सहकारी चलाउने भनेर उनले प्रश्न गरे । आज पनि अनुदानको सहकारी चलाउन खोजको हो भने सहकारिताको प्रिन्सिपल त्यो नभएको उनले उल्लेख गरे । प्रारम्भिक सहकारी संस्थाले संघहरुमा नियमित बचत गर्न पाउनुपर्ने भन्दै उनले संस्थाहरुले नै संघ बनाएको उनको भनाई छ । विषयगत र प्रदेश संघ मिलेर नेफस्कून बनेको भन्दै उनले त्यसबाट बचत ऋण अभियानलाई अलग गर्न खोज्नु भनेको गम्भीर भुल भएको दावी गरे ।

बचत ऋण अभियान सकिने कुरामा नेफ्स्कूनले कुनै हालतमा सम्झौता नगर्ने र कसैले यो अभियानलाई सक्न खेल खेलेको छ भने त्यसको प्रतिकार गर्ने समेत उनले जनाए । “हामी वित्तीय अनुशासन र सुशासनमा छैनौ भने सबै कुरा भोग्न तयार छौं तर ३७ बर्षको इतिहास भत्काउने गरी कोही त्यसको तानाबानामा लागेको छ भने आफ्नो सुरक्षा आफै गर्न तयार होओस्”, उनले चुनौती दिए । संघहरुलाई संस्थागत गरेर लैजाने विषयमा महासंघले पहल गर्नुपर्ने भन्दै अध्यक्ष ढकालले महासंघसँग सहकार्य गरेर जाने उल्लेख गरे ।