
चन्द्रमणि गाैतम
नेपालमा नेपालीपछि सबभन्दा धेरै बोलिने मैथिली भाषाका महाकवि वा ‘सर्वोपरि कवि’ विद्यापति (सन् १३५२–१४४८) मैथिली साहित्यको श्रृङ्गार परम्परा र भक्ति परम्पराका मूख्य स्तम्भ मानिनु हुन्छ । मध्यकालिन मैथिली भाषाको स्वरुप संवाहक विद्यापति वैष्णव, शैव र शाक्त भक्तिका सेतुका रुपमा पनि मानिएको छ । माथि उल्लेख गरिएको उहाँको वाणी “देसिल बयना सब जन मिट्ठा’ को सूत्रका साथ आएको हो । उहाँले मिथिलामा मातृभाषाको चेतना यसैगरी फैलाउने ठूलो अभियान लगाउनु भयो ।
मिथिला क्षेत्रको लोकव्यवहारमा प्रयोग गरिने गीतहरूमा आज पनि विद्यापतिका श्रृङ्गार र भक्तिरसमा रचित गीतको प्रचुर प्रचलन हुनेगर्छ । ‘पदावली’ र ‘कीर्तिलता’ उहाँका अमर रचना हुन् । भूपरिक्रमा, पुरुष परीक्षा, लिखनावली जस्ता कृतिहरू पनि महत्वपूर्ण मानिन्छन् । विद्यापति नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ।
महाकवि विद्यापति संस्कृत, अवहट्ठ (अवध) मैथिली आदि अनेक भाषाका प्रकाण्ड पण्डित हुनुहुन्थ्यो । शास्त्र वा जनबोली दुवै विधामा उहाँको असाधारण दखल थियो । कर्मकाण्ड होस् वा धर्म, दर्शन होस् न्याय, सौन्दर्यशास्त्र होस् वा भक्ति रचना, विरह–व्यथा होस् वा अभिसार, राजाका कीर्तिगान् होस् वा सामान्य जनताका लागि गयाको पिण्डदान, सबै पक्षमा विद्यापतिलाई आफ्ना कालजयी रचनाहरूका कारणले जानिन्छ । महाकविले ओइनवार राजवंशका आठवटा राजाहरूको शासनकालमा विराजमान रहेर आफ्नो विद्वता र दूरदर्शिताद्वारा उनीहरूलाई मार्गदर्शन गरिरहनु भयो ।

विद्यापतिको जन्म आज भारत बिहारको मधुवनीमा पर्ने बिस्फी गाउँमा पिता गणपति ठाकुरको शिवमार्गी ब्राम्हण परिवारमा भएको थियो । उहाँका पिता ओईनिवारका राजा गणेस्वाराको महलमा पुरोहित हुनुहुन्थ्यो । उहाँका साहित्यिक कृतिहरूबाट उत्पन्न हुने अन्योलका कारण उहाँको जन्मबारे पनि विवाद छ । उहाँका दुई धर्मपत्नी, तीन छोरा र ४ छोरी थिए ।
राजा गणेस्वारालाई तुर्की कमान्डर मलिक आर्सलानबाट सन् १३७१ मा मारियो र उनको राजपाट आर्सलानबाट खोसियो । १४०१ मा विद्यापतिकै अनुरोधमा जौनपुरका सुल्तानले आर्सलानलाई धपाएर गणेस्वाराका जेठा छोरा कीर्तिसिंहलाई राजगद्दी दिलाए। विद्यापतिका बारेमा अनेकौँ किंवदन्ति छन् ।
स्रोत : विकिपिडिया, हिन्दी दैनिक ‘अमर उजाला’ र आफ्नो टिपोट ।
मैले पुष्टि पाउन नसकेको : उहाँको उत्तरार्ध जीवन आजको जनकपुर, सिराहा हुँदै उत्तरी सप्तरी र उदयपुरको दक्षिणवर्ति इलाकामा बित्यो भनिन्छ ।
साभार-गाैतमजीकाे मुहारपुस्तिका