आइतबार, आश्विन १८ गते २०८३

सहकारी प्राधिकरणद्वारा जारी मापदण्डप्रति नेफ्स्कूनको ध्यानाकर्षण, तत्काल परिमार्जन गर्न माग


जेठ १२, २०८२ सोमबार
सहकारी प्राधिकरणद्वारा जारी मापदण्डप्रति नेफ्स्कूनको ध्यानाकर्षण, तत्काल परिमार्जन गर्न माग


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको निर्देशन तथा मापदण्डप्रति आपति जनाएको छ । नेफ्स्कूनले एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन जारी गरेको मापदण्डका कतिपय विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

बचत ऋण सहकारीको विश्वव्यापी मूल्य, मान्यता,सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासको प्रतिकुल हुने सहकारी प्राधिकरणले निर्देशन तथा मापदण्ड जाारी गरेको नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बचत ऋण सहकारी अभियानको संघहरुमा प्रारम्भिक सहकारी संस्थाहरुले राखेको तरलतालाई निर्देशन तथा मादण्ड मार्फत गणनालाई समयसीमा तोकी गणना हुने व्यवस्था गर्नु गलत भएको नेफ्स्कूनको ठहर छ ।

प्रारम्भिक संस्थाहरुको वृद्धि र विकासलाई संकुचन हुने गरी जारी गरेको मापदण्डहरुले समग्र अभियानलाई धरासायी बनाउने उनको भनाई छ । बचत तथा ऋण सहकारीले आफ्नो तरलता एवम् बचत ऋणको कारोबार आफ्नै संघहरु मार्फत् परिचालन गर्ने पद्धतीलाई कमजोर बनाई सहकारको पूँजी विचलित गराउने कार्यको प्रयास गरेको ठहर नेफ्स्कूनको  छ । यसर्थ सहकारी ऐन २०७४ र नियमावली ७५ का व्यवस्था मार्फत् संघ संस्थाहरुलाई प्रद्वत अधिकार कुण्ठित हुने गरी जारी भएको मपदण्ड तत्काल परिमार्जन गर्न नेफ्स्कूनले माग गरेको छ ।

केन्द्रीय संघले बचत तथा ऋण सहकारी अभियानलाई भद्र अवज्ञा गरी दवाव सृजना गर्न सार्वजनिक आव्हान गरेको छ भने सम्पूर्ण संघहरुलाई विचलित नभई अभियानमा ऐक्यवद्धता कायम गर्दै नियमित कारोबारलाई सुचारु गर्न अनुरोध गरेको छ । समग्र बचत ऋण सहकारी अभियानको साझा धारणाका  साथ आगामी कार्यक्रमहरु सार्वजनिक गरिने विज्ञप्ति मार्फत नेफ्स्कूनले जनाएको छ ।