शुक्रबार, कार्तिक ७ गते २०८३

किसान साकोसको आयोजनामा बृहत् निःशुल्क आँखा शिविर सम्पन्न

१७५२ जनाको परीक्षण, १७ को निःशुल्क शल्यक्रिया, ५१ बालबालिकाले पाए निःशुल्क चस्मा


जेठ १२, २०८२ सोमबार
किसान साकोसको आयोजनामा बृहत् निःशुल्क आँखा शिविर सम्पन्न

नवलपुर जिल्लामा रहेको  किसान बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिवशीय निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय रहेको गैंडाकोट नगरपालिका वडा नं. ८ अन्तर्गत कालिका नमुना मा.वि.सँगको समन्वय र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालसँगको प्राविधिक सहजीकरणमा शिविर सञ्चालन भएको हो । जेष्ठ ९ र १० गते सञ्चालित आँखा शिविरमा पहिलो दिन विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा परीक्षण र निःशुल्क चस्मा वितरण गरिएको थियो भने दोस्रो दिन साविक गैंडाकोट नगरपालिका क्षेत्रका आम नागरिकहरुको आँखा परीक्षण गरिएको थियो ।

विद्यालयस्तरमा संस्थाको उपस्थिति र बालबालिकाहरुको दृष्टि स्वस्थ राख्ने उद्देश्यले विद्यालयलाई लक्षित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सिनाले बताए । “हामी समुदायका सबै क्षेत्रमा संस्थाको उपस्थिति प्रभावकारी बनाउन चाहन्छौं । हाम्रो प्राथमिकता हाम्रो समुदायको समग्र विकास हो । संस्थाको स्रोत र क्षमताले भ्याएसम्म आन्तरिक स्रोत एवम् सहकार्य मार्फत स्थानीय आवश्यकताका आधारमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जानेछौं ।” तिमिल्सिनाले बताए । 

विद्यालयको एकदेखि दश कक्षासम्म अध्ययनरत १४०० विद्यार्थीको आँखा परीक्षण गर्दा ६३ जनाको आँखामा समस्या देखिएपछि ५१ जनालाई निःशुल्क चस्मा र औषधि उपलब्ध गराइएको थियो भने १२ जनालाई थप परीक्षणका लागि अस्पताल रिफर गरिएको छ । दोस्रो दिन ३५२ जना स्थानीय समुदायका व्यक्तिहरुको आँखा परीक्षणको क्रममा अधिकांशमा आँखा सुख्खा हुने, चिलाउने, पिरो हुने र दृष्टिमा समेत समस्या देखिएको थियो । परीक्षण गराइएका मध्ये १७ जनाको आँखामा मोतियाविन्दु देखिएकोले संस्थाले भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क शल्यक्रियाको व्यवस्था गर्ने बताइएको छ । 

संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा उद्घाटन भएको आँखा शिविरमा गैंडाकोट–८ का वडा अध्यक्ष प्रेम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई शुभारम्भ गर्दै प्रमुख अतिथि सापकोटाले भने “किसान साकोसले महत्वपूर्ण र आवश्यक कार्यक्रम गरेकोमा वडा कार्यालय सदैव साथमा रहने छ ।” कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा सापकोटाले कार्यक्रमका लागि आफ्नो विद्यालय छनोट गरेकोमा सरोकाारवाला पक्षलाई धन्यवाद दिए । 

कार्यक्रममा विद्यालयका बालबालिकाहरुका साथै स्थानीय जेष्ठ नागरिक र गृहिणीहरुको उल्लेख्य सहभागिता रहेको थियो । ‘समृद्ध सदस्य, दिगो साकोस भन्ने  परिकल्पना अनुरुप अगाडि बढेको किसान साकोसले समुदाय आधारित एवं विद्यार्थीलक्षित कार्यक्रमहरु समयसमयमा गर्दै आइरहेको छ । गैंडाकोट नगरपालिका वडा नं. ८ का ९८ प्रतिशत घरपरिवारबाट संस्थामा सदस्यता कायम रहेकोले पूर्ण घर सदस्य वडा समेत घोषणा गरेको जनाइएको छ । यस अगाडि यसै वडामा प्रतिपरिवार दुई बोट कुरिलोका बिरुवा वितरण गरिएको थियो भने टोलटोलमा फोहर संकलनका लागि डस्टबिनको व्यवस्था संस्थाले गरेको छ । 

491215799_1254032356291205_6566777671559805690_n.jpg