शुक्रबार, कार्तिक ७ गते २०८३

"नेपाली कांग्रेसले राष्ट्रियता र प्रजातन्त्रका आदर्श त्यागेमा, यसको अस्तित्व नै अर्थहीन हुनेछ" – बी.पी. कोइराला


जेठ १०, २०८२ शनिबार
"नेपाली कांग्रेसले राष्ट्रियता र प्रजातन्त्रका आदर्श त्यागेमा, यसको अस्तित्व नै अर्थहीन हुनेछ" – बी.पी. कोइराला

 

जननायक बीपी कोइराला (वि.सं. १९७१-२०३९) ले उक्त कुरा नेपाली काँग्रेसको इतिहास लेख्नुपर्ने आवश्यकतामा जोड दिँदै शैलजा आचार्यको उपस्थितिमा बरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्मासँग भन्नुभएको कुरा शर्माले बीपीको डायरी 'जेल जर्नल'को भूमिकामा उल्लेख गर्नुभएको छ ।

बीपीलाई उद्धृत गर्दै स्व. शर्माले भूमिकाको पृष्ठ-संकेत 'ज' मा लेख्नुभएको छ, "म मरेपछि नेपाली काँग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सृजना गर्न प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर इतिहासको गलत ब्याख्या गरिनेछ । नेपाली काँग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाईनेछ । 

मैले नेपाली काँग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडानहरु लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरुको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरा अडानका निरन्तरता छन् । हिन्दूस्थानको बारेमा, राजाको बारेमा र संसारसँगको सम्पर्कको बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरु मैले सँधै उल्लेख गर्ने गरेको छु ।"

"........जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्ने छ, यो निरर्थक भएर जानेछ । र जुन दिन यसले प्रजातन्त्रका आदर्शहरु छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।"