शुक्रबार, कार्तिक ७ गते २०८३

क्यै हारेझैं, क्यै बिर्सेझैं / को त्यो पथमा आइरहेको ?--युगकबि सिद्धिचरण


जेठ ९, २०८२ शुक्रबार
क्यै हारेझैं, क्यै बिर्सेझैं / को त्यो पथमा आइरहेको ?--युगकबि सिद्धिचरण


क्यै हारेझैं, क्यै बिर्सेझैं / को त्यो पथमा आइरहेको ?/ सत्य नचिन्ने, झुट अँगाल्ने / गिर्दै तलतल म उठें भन्ने / मान्छे हो तर आत्माहीन / को त्यो पथमा आइरहेको ?
: युगकवि सिद्धिचरण श्रेष्ठ

नेपाल सरकारबाट युगकविको उपाधि पाएका सिद्धिचरण श्रेष्ठ (वि.सं. १९६९– २०४९) को उपर्युक्त कवितापछि नाट्यसम्राट् बालकृष्ण समले त्यसको जवाफमा ‘केही जितेझैं, केही सम्झेझैं, को त्यो पथमा गाइरहेको ? मानिस जस्तै सुरसुरु हिँड्दै, को त्यो पथमा गाइरहेको ?’ भन्ने कविता लेखेका थिए । युगकविका ६ वटा कविता संग्रह र ४ वटा खण्डकाब्य प्रकाशित छन् । प्रकाशित पछिल्लो कृति ‘आँसु’ खण्डकाब्य (२०५०) हो।
सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ र समको ‘प्रतिबिम्बप्रति’ को कवितात्मक वादविवादले नेपालका नवोदित साहित्यकारलाई सिर्जनात्मक बाटोमा प्रेरित गरेको थियो । सिद्धिचरणको यो कविताले राष्ट्रिय जीवनको चरितार्थ गराउँदछ । उनका कविता राष्ट्रिय जागरणप्रति सधैं प्रतिबिम्बित हुन्छन् । जेठ ९ गते युगकविको जन्मजयन्तीको अवसरमा राष्ट्रिय जीवनको चरितार्थ गराउने उनको अर्को कविता स्मरणयोग्य छ, ‘संसारमा अतिबलिष्ठ मनुष्य को छ ? जो आफ्नु पयरमा उभिई खडा छ ।’
संस्थागत शिक्षादीक्षाको बन्दोबस्त नभएको त्यो अन्धकार युगमा फाट्टफुट्ट ब्राम्हण पण्डितका घरमा रुद्री–चण्डी, वेद आदिको पढाई हुने गर्थ्यो । त्यसैले सिद्धिचरणले आफ्नो औपचारिक शिक्षा ढिलो सुरू गरी ७ वर्षमा बाह्रखरी सके ।
ओखलढुङ्गाबाट पिताको सरुवा काठमाडौँमा भएपछि मात्र दरबार स्कूलमा १५ वर्षको उमेरमा ५ कक्षामा भर्ना भए । पाँच कक्षामै पढ्दा उनले ‘सन्ध्या’ शीर्षक कविता लेखे, जुन कविता २०२१ सालमा प्रकाशित कवितासंग्रह ‘कोपिला’ संग्रहित भयो ।
ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा नेपालको पहिलो उपन्यास ‘सुमति’का लेखक पिता विष्णुचरण श्रेष्ठ तथा माता नीरकुमारीका एकमात्र छोराका रूपमा सिद्धिचरणको जेठ ९ गते जन्म भयो भने निधन पनि यसै महिनाको २२ गते भएको हो ।
युगकविप्रति हार्दिक श्रद्धासुमन !
_________________
(साहित्य संग्राहालयमा लेखक दीर्घराज प्रसाईँको ‘सिद्धिचरण श्रेष्ठ : एक युगप्रतिनिधि कवि’, विकिपिडिया र आफ्नै नोटका आधारमा)