प्रभु मेनेजमेन्ट कम्पनीले सहकारी संस्थाहरुले रेमिटान्स गरे बापतको करोडौ रुपैयाँ फिर्ता गरेको छैन । विदेशबाट पठाएको रकम सहकारी संस्थाहरुले भुक्तानी गरेको भएपनि सो वापतको करोडौं रुपैयाँ कम्पनीले फिर्ता नदिएको हो । विदेशबाट रेमिटान्स गरेका ग्राहकका आफन्तलाई सहकारी संस्थाले रकम भुक्तानी गरे पनि प्रभु मेनेजमेन्टले सो बराबरको रकम भुक्तानी नदिँदा संस्थाहरु अप्ठ्यारोमा परेका छन्।
संस्थाहरुले स्वेदश तथा विदेशबाट रेमिटान्स गरे बापतको रकम फिर्ता नपाएपछि रकम फिर्ताको माग गर्दै संयुक्त रुपमा निवेदन दिएका छन् । प्रभु मेनेजमेन्टको एजेन्ट र सब एजेन्ट बनेर सदस्य तथा ग्राहकलाई रेमिटान्स सेवा दिए पनि कम्पनीले भने रकम भुक्तानी नदिएको सहकारीकर्मीले बताएका छन् । उनीहरुले रकम भुक्तानीको लागि पटकपटक कम्पनीमा धाए पनि ग्राहकलाई भुक्तानी गरेको रकम म्यानेजमेन्टले नदिएको जनाएका छन् ।
प्रभु म्यानेजमेन्टको अध्यक्षमा देवी प्रकाश भट्टचन र सञ्चालकहरुमा विनोद थकाली, कुसुम लामा दक्ष पौडेल सुभाष, रहेका छन् । २०६९ साल बैशाखमा कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वरमा दर्ता भएको उक्त कम्पनीले सहकारी संस्था र एजेन्ट मार्फत देशभर रेमिटान्स कारोबार गर्दै आएको थियो। सञ्चालकहरुबीचको आन्तरिक द्वन्द्व र जम्मा भएको रकमलाई नीजि कम्पनीमा लगानी गरेका कारण आफुहरुले पाउनु पर्ने रकम नपाएको उनीहरुको गुनासो छ । रकम फिर्ता नपाएपछि काभ्रेका सहकारी संस्थाले संयुक्त रुपमा रकम फिर्ताको लागि पहल गरेका हुन् ।
उक्त समुहले प्रभु मनी ट्रान्सफर र प्रभु मेनेजमेन्ट नामक दुई कम्पनी स्थापना गरी रेमिटान्स कारोबार गर्दै आएको पाइएको छ। बैंक तथा वित्तीय संस्थासँग प्रभु मनी ट्रान्सफर र सहकारी तथा एजेन्डसँग प्रभु म्यानेजमेन्टमार्फत रेमिटान्स कारोबार गर्ने गरेको पाइएको छ । प्रभु मनी ट्रान्सफरसँग सम्झौता गरेका बैंक तथा वित्तीय संस्थाहरुको भने नियमित रुपमा भुक्तानी हुँदै आएको छ । तर प्रभु मेनेजमेन्टसँग सम्झौता गरेका संस्थाहरुले भने लामो समयदेखि रकम नपाएको जनाएका छन् । रेमिटान्स बापत भुक्तानी गरेको रकम फिर्ता नपाएपछि काभ्रेका १६ सहकारी संस्थाले रकम फिर्ताको माग गर्दै सामुहिक रुपमा निवेदन दिएका हुन् । निवेदन दिएका सहकारी संस्था मध्ये उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको २५ लाख १७ हजार, बिन्धवासिनी साकोसको १० लाख १७ हजार,आभाष साकोसको ५ लाख, पानस साकोसको ३ लाख ३८ हजार र स्टैण्डर्ड साकोसको ९ लाख ९१ हजार रकम पाउन बाँकी रहेको छ ।
त्यसैगरी ज्योति मिर्मिरे सामुहिक साकोसको ४ लाख ५९ हजार, डाइनामिक युवा साकोसको ९ लाख १७ हजार, जागृत कुशादेवी साकोसको ७ लाख र बासडोल बहुउद्देश्यीय सहकारी संस्थाको ७ लाख ५७ हजार रहेको छ । सहकारी संस्थाहरुले प्रभु मनी ट्रान्सफरको रेमिटान्सको कारोबार गर्ने गरी सम्झौता गरेको र लामो समयदेखि रेमिटान्स भुक्तानीको शोध भर्ना नपाएको जनाएका छन् । पाउनुपर्ने रकम तत्काल भुक्तानीको व्यवस्था मिलाइदिन संस्थाहरुले माग गरेका छन् । प्रभु मनी ट्रान्सफर र प्रभु मेनेजमेन्टसँग भएको रेमिटान्स कारोबार सम्बन्धी सम्झौता अनुसार भुक्तानी पाउनुपर्ने उनीहरुको दावी छ । देश भरका अन्य सहकारी संस्थाले पनि रेमिटान्स बापतको रकम पाउन बाँकी रहेको साे रकम अर्बाैंमा भएकाे बताइएको छ।
नेपालपत्र संवाददाता