नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आगामी जेठ १८ देखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक ६ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले १९ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
नेपालपत्र संवाददाता