"एकथरि जोसँग केहि छैन र अर्काथरी जोसँग सबै चीज छ, जोसँग केहि छैन उनीहरुलेनै यो समाजलाई बदल्न सक्छन्"- यो भनाई एक प्रसिद्ध इतिहासविद्, पत्रकार, अर्थशास्त्री, राजनीतिक विचारक, समाजशास्त्री, दार्शनिक एवं क्रान्तिकारी व्यक्तित्वको हो, जसको नाम हो कार्ल्स हेनरिच मार्क्स।
विश्वकै प्रभावशाली चिन्तकहरूमध्ये एक कार्ल मार्क्सको जन्म सन् १८१८ मे ५ तारिखका दिन प्रशिया राज्यको ट्रियर नगरमा भएको थियो, जुन अहिलेको जर्मनीमा पर्दछ। उनका बुबा हेनरिच मार्क्स एक वकिल थिए भने आमा हेनरिएट प्रेसबर्ग एक यहूदी धार्मिक परिवारकी सदस्य थिइन्। कार्ल मार्क्स आफ्ना आमाबुवाको दोस्रो सन्तान थिए; पहिलो सन्तान छोरी थिइन्। उनका परिवारमा जम्मा नौ सन्तान थिए।
कार्ल मार्क्सले प्रारम्भिक शिक्षा आफ्ना बाबुबाट घरमानै पाएका थिए । त्यसपछि उनलाई स्थानीय त्रियर हाइ स्कुलमा भर्ना गरियो । विद्यालयका हेडमास्टर ह्युगो विटेन नाम गरेका मार्क्सका पिताका मिल्ने साथि थिए । विटेनले एउटा उदारवादी तथा मानवतावादी भएकाले स्कुलमा आफ्नै विचार मिल्ने शिक्षकहरुलाई नियुक्ति दिने गर्दथे। विद्यालयको पुस्तकालयमा यस्तै विचारका पुस्तकहरु राखिने गरेका थिए। विद्यार्थीहरुले पनि यी पुस्तकहरु पढ्ने गर्दथे। यस्ता साहित्यहरु प्रकाशन तथा वितरण तत्कालिन अनुदार, क्रुर राज्य व्यवस्थामा गैरकानुनी मानिन्थ्यो । यसैले सन् १८३२मा पुलिसले विद्यालयमा छापा मारी यी पुस्तक जफत् मात्र गरेन विद्यालयका हेडमास्टर विटेन लागायत अन्य शिक्षकहरुलाई समेत कठोर दण्ड दिने काम भयो । यो घटनाले मार्क्सको मष्तिष्कमा तत्कालिन राज्यव्यवस्था प्रति अति नराम्रो छाप पर्यो।
मार्क्स युवावस्थामा पाईला टेक्दै गरूनञ्जेलसम्म उनीहरुको आर्थिक स्थिति राम्रो थियो। उनको बाँकी सारा जीवन भने आर्थिक अभावमा नै गुज्रिये । तर आजको विश्वमा सर्वाधिक प्रभावशाली र चर्चित व्यक्तिको रुपमा कार्ल मार्क्स पर्दछन्।
उनको विवाह आफ्नै नगरकी एक सम्भ्रान्त परिवारकी सुशिक्षित सुशील जेनी भोन वेस्टफेलेन नाम गरेकी युवतीसंग सन् १८४३ जुन १९मा भएको थियो। उनको जन्म सन् १२ फेब्रुअरी १८१४ मा भएको थियो, तिनी मार्क्स भन्दा ४ वर्ष जेठी थिइन्। जेनीले हर दुखसुखलाई झेल्दै कार्लमार्क्सको निमित्त प्रेरणाको श्रोत बनिरहिन्।
मार्क्स सानै देखि विविध विषयका पुस्तक पढ्न रुचि राख्थे। जेनीको घरमा एउटा राम्रो पुस्तकालय थियो। मार्क्स र जेनीका पिता दुवै वकिल भएकाले उनीहरु साथी थिए। यसैले मौका मिल्दासाथ मार्क्स जेनीको घरमा गै घन्टौं पुस्तकालयमा बसी पढ्ने गर्दथे। यसरी बाल्यकाल देखिने उनीहरुवीच चिनजान भयो र विस्तारै गाढा प्रेम भएर विवाह गरेका थिए। मार्क्सलाई अध्ययनप्रति सानै देखि रुचि बढाउन जेनीको घरेलु पुस्तकालयको ठुलो हात रहेको छ।
मार्क्सका मातापिता छोरालाई एउटा राम्रो वकील बनोस् भन्ने चाहन्थे। तर छोराको रूचि भने ईतिहास, अर्थशास्त्र र दर्शनमा थियो। कार्ल मार्क्सले सन् १८४१मा जेना विश्वविद्यालयबाट दर्शनमा पीएचडी प्राप्त गरे। उनले विभिन्न मञ्चहरुमा दिएका अभिव्यक्ति र प्रकाशित क्रान्तिकारी लेख रचनाका कारण देश छोड्न बाध्य पारियो र सन् १८४३ मा फ्रान्समा गएर बस्न थाले। फ्रान्समा प्रशियाकै कठपुतली सरकार भएकोले त्यहाँ पनि उनलाई त्यति सहज भएन । सन् १८४९ देखि उनको मृत्युपर्यन्त १८८३ सम्म मार्क्सले बेलायतमा गएर सपरिवार निर्वासित जीवन बिताउन बाध्य भए ।
मार्क्सले सन् १८३० तिर हेन्द्रिक लेविनको नामबाट लेख प्रकाशित गरेका थिए भने जुलियस फिजनको छद्म नाममा पत्रकारिता गरेका थिए। एकपटक उनको आर्थिक स्थिति यस्तो दयनीय भयो कि रेल्वेमा क्लर्कको लागि निबेदन दिन पुग्छन। तर उनको अक्षर यती नराम्रा थिए कि त्यसैको कारण उनि जाँचमा फेल हुन्छन। शायद उनि रेल्वे क्लर्क भएको भए शोषण, अन्याय र असमानताले भरिपूर्ण १९ औं शताब्दीको समाज बदल्नको लागि युगान्तकारी क्रान्तिकारी विचार मुखरित हुन पाउने थिएन होला ।
कार्ल मार्क्सको ग्रिक, ल्याटिन, जर्मन, फ्रेन्च, स्पेनी, अँग्रेजी प्राय: यूरोपमा बोलिने प्रमुख भाषा माथि राम्रो दखल थियो।
सन् १८४४ अगस्त २८का दिन मार्क्सको फेडरिक एंगेल्स नाम गरका धनि तथा बौद्धिक व्यक्तिसंग भेटहुन्छ । उनी मार्क्सका विभिन्न समाज बदल्ने प्रखर क्रान्तिकारी लेखहरुबाट प्रभावित भएका हुन्छन् । एंगेल्सले मार्क्ससँग मित्रताको अनुकरणीय भूमिका निभाउन आफ्नो जीवनभर कुनै कसर बाँकी छाडेनन्। यी दुवै विलक्षण प्रतिभाका धनि थिए, " द होली फ्यामिली" उनीहरुको सह–लेखनको पहिलो कृति हो।
कार्ल मार्क्सको एंगेल्सको सहयोगमा १८४८ फेब्रुअरी २१मा कम्युनिष्ट मेनुफ़िस्टो प्रकाशित गरे। यो घोषणापत्र तयार गर्नको लागि मार्क्स र एंगेल्स दुई जनालाई उनीहरुकै पहलमा गठन भएको कम्युनिस्ट लीगको बैठकले दुई महिना अगाडि मात्र जिम्मेवारी दिएको थियो। यो दस्तावेज कम्युनिष्ट लिगको बैचारिक तथा आधिकारिक घोषणापत्र थियो। कम्युनिस्ट मेनुफ़ेस्टोले सारा विश्वका शोषित, पीडीत, निमुखाहरुको लागि एउटा आशाको किरण मात्र दिएन यसले शोषक, उत्पीडक र पुँजीपतिहरु बिरुद्ध लड्न उत्प्रेणा र शक्ति प्रदान गर्यो। यस घोषणापत्रले आह्वान गरेको थियो "विश्वभरका मजदुर शोषित पीडित एकजूट हौ, शोषण र उत्पीडनका विरुद्ध लड्न उठ, हार्दा तिमीहरुको केहि गुम्ने छैन जित्दा संसार तिम्रो हुनेछ"- यस घोषणापत्रले समाज सुधार गरेर होईन क्रान्तिद्वारा पूर्ण परिवर्तन गरी नयाँ समाजको निर्माण गरेपछि मात्र विपन्न शोषित-पीडितको मुक्ति हुने कुराको वकालत गरेको छ । कम्युनिष्ट घोषणापत्रको प्रकाशनको समय मार्क्स बेल्जियमको ब्रुसेल्समा रहेका थिए।
बेलायत प्रवासमा रहँदा उनले त्यहाँको विख्यात ब्रिटिश म्यूजियम लाइब्रेरीमा गै अध्ययन गरी आफ्नो समय बिताऊन थाले । पूँजीवाद र राजनीतिक अर्थशास्त्रको गहन अध्ययन गरे । यिनको सन १८६७ सितंबर १४मा पूँजीवाद र बुर्जुवा राजनीतिक अर्थतन्त्रको आलोचनाकों रूपमा ब्यापक अनुसंधात्मक "Das Kapital " नामक पुस्तक जर्मनी भाषामा प्रकाशित भएको थियो । यसको पहिलो खण्डको अंग्रेजी संस्करण १८८७ मा प्रकाशित भएको थियो । दास क्यापिटल कार्ल मार्क्सको सबैभन्दा महत्त्वपूर्ण कृति र मार्क्सवादी अर्थशास्त्रको आधारशिला हो, जुन १८६७, १८८५ र १८९४मा गरी तीन खण्डहरूमा प्रकाशित भएका थिए । यसले पूँजीवादको विश्लेषण, शास्त्रीय राजनीतिक अर्थतन्त्रको आलोचना र ऐतिहासिक भौतिकवादको सिद्धान्तको बिज्ञान सम्मत पुष्टि गरेको छ । १८८३ मा मार्क्सको मृत्युपछि दास क्यापिटलको दोस्रो र तेस्रो खण्ड उनको पाण्डुलिपिहरूबाट उतार गरी फ्रेडरिक एंगेल्सले प्रकाशित गरेका थिए।
कार्ल मार्क्सले मानव बिकास ईतिहानसलाई सामाजिक सम्बन्ध र मानव मुक्तिको समय हदको आधारमा विभिन्न चरणहरू विभाजन गरेका छन्, जस्तै आदिम समाज, दास समाज, सामन्ती समाज, पूँजीवादी समाज, र कम्युनिष्ट समाज।
मार्क्सवादले इतिहासलाई आर्थिक शक्तिहरू र उत्पादनका तरिकाहरूको विकासद्वारा सञ्चालित हुने मान्दछ, केवल विचार वा राजनीतिक घटनाहरूद्वारा मात्र होइन। यसको अर्थ सामाजिक संरचना, कानुनी प्रणालीहरू, र सांस्कृतिक मूल्यहरू पनि अन्ततः समाजको आर्थिक आधारद्वारा निर्धारण गरिन्छ।
वर्ग संघर्ष:
मार्क्सवादले समाजलाई उत्पादनका साधनहरूसँगको सम्बन्धको आधारमा वर्गहरूमा विभाजित भएको रूपमा पहिचान गर्दछ, मुख्यत: बुर्जुवा वर्ग (पूँजीका मालिकहरू) र सर्वहारा वर्ग (कामदारहरू)। मार्क्सका अनुसार यो विभाजनले अन्तर्निहित द्वन्द् र शोषण निम्त्याउँछ, किनकि बुर्जुवा वर्गले सर्वहारा वर्गको श्रमबाट अतिरिक्त मूल्य निकाल्छ।
पूँजीवाद र यसका विरोधाभासहरू: ऐतिहासिक भौतिकवाद
मार्क्सवादले पूँजीवादलाई यसको अन्तर्निहित विरोधाभासहरू, जस्तै अत्यधिक उत्पादन र श्रमको शोषणको कारणले गर्दा संकट स्वभाविक निमत्याउने प्रणालीको रूपमा विश्लेषण गर्दछ। मार्क्सका अनुसार यी विरोधाभासहरूले अन्ततः पूँजीवादको पतन र समाजवाद र त्यसपछि साम्यवादले यसको प्रतिस्थापन गर्दछ भन्ने ठहर छ।
क्रान्ति र समाजवादी संक्रमण:
मार्क्सवादले पूँजीवादलाई उखाल्न र समाजवादी प्रणाली स्थापना गर्न समाजको क्रान्तिकारी रूपान्तरणको वकालत गर्दछ, जहाँ उत्पादनका साधनहरू सामूहिक रूपमा श्रमिकहरूको स्वामित्वमा हुनेछन । मार्क्सका अनुसार यो संक्रमणमा वर्गविहीन कम्युनिस्ट समाजको अन्तिम विकास हुनुभन्दा पहिले "सर्वहारा वर्गको अधिनायकत्व" रहेको समाज स्थापना हुनेछ ।
साम्यवाद र वर्गविहीन समाज:
मार्क्सवादको अन्तिम लक्ष्य भनेको कम्युनिष्ट समाजको स्थापना हो, जसको विशेषता निजी सम्पत्तिको उन्मूलन, वर्ग विभाजनको अनुपस्थिति र श्रमको आधारमा होइन, आवश्यकताको आधारमा उपभोग्य बस्तु (सामान)को वितरण हो। कम्युनिष्ट समाजमा, मार्क्सको दृष्टिकोण अनुसार व्यक्तिहरू अलगाव र शोषणबाट मुक्त हुनेछन्।
मार्क्सका उपरोक्त विचारले शुरुका दिनमा खास धारालाई मात्र आकर्षित गर्यो । तर १९औं शताब्दीको अन्त्य र २० औं शताब्दीको सुरुवातमा आईपुग्दा समाजवादी र श्रमिक आन्दोलनहरू विस्तार हुँदै जाँदा यसले प्रमुखता प्राप्त गर्यो। १९५० सम्म आई पुग्दा मार्क्सका क्रांतिकारी बिचारले सारा विश्व तरंगित भयो र मानव मुक्तिका निमित्त कैयन परिवर्तनहरु भए ।
यी आन्दोलनहरूभन्दा बाहिर पनि दास क्यापिटलले आर्थिक विचार र राजनीति विज्ञानमा गहिरो प्रभाव पारेको छ । विश्वमा प्रकाशित सामाजिक विज्ञानमा सर्वाधिक उद्धृत गरिएको पुस्तकमा दास क्यापिटल हो। मार्क्सवादका आलोचकहरूले पनि श्रम गतिशीलता, आर्थिक चक्र र औद्योगिक पूँजीवादको प्रभावका सिद्धान्तहरूको विकासमा यसको महत्त्व स्वीकार गर्छन्। विद्वानहरूले यसका विषयवस्तुहरूमा निरन्तर संलग्न राखेको पाईन्छ, विशेष गरी विश्वव्यापी पूँजीवाद, असमानता र श्रम शोषणको विश्लेषण गरिँदा मार्क्सलाई याद नगरी हुँदैन ।
कम्युनिष्ट घोषणापत्रमा राखिएका अल्पकालीन माग, जसमध्ये प्रगतिशील आयकर; उत्तराधिकार र निजी सम्पत्तिको उन्मूलन; बाल श्रमको उन्मूलन; नि:शुल्क सार्वजनिक शिक्षा; यातायात र सञ्चारका साधनहरूको राष्ट्रियकरण; राष्ट्रिय बैंक मार्फत ऋणको केन्द्रीकरण; सार्वजनिक स्वामित्वमा रहेको जग्गाको विस्तार, आदि समावेश छन् - जसको कार्यान्वयनले राज्यविहीन र वर्गविहीन समाजको आधार तयार गर्नेछ । यी कतिपय मागहरु हाल पूँजीवादी राज्य ब्यवस्थामा समेत लागू हुनुमा मार्क्सका युगान्तकारी विचारको प्रभाव कारकतत्व मान्नु पर्दछ ।
विघ्न क्रांतिकारी विचारका धनी कार्ल मार्क्सको सारा जीवन भने आर्थिक रुपमा विपन्नतामा बित्यो । उनका चार संतान कुपोषण र औषधि नपाएर बाल्यकालमा नै मरेका थिए। जीवनको अंतिम अवस्थामा एक परिचारिकाले सोधीछिन् -” तिम्रो अंतिम शब्द केही छन की ?” मार्क्सले भनेछन् - “अन्तिम शब्द त ती मूर्खका लागि हुन्छ, जसले जीवनमा केही भन्न सकेका छैनन्।”
मार्क्सको १४ मार्च १८८३ मा बेलायत निर्वासनकै क्रममा निधन भएको थियो । उनको शवलाई १५ महिना अगाडि मात्र बितेकी उनकी पत्नी जेनी भोनसँगै बेलायतको उत्तरी लण्डन स्थित हाईगेट पार्क चिहानमा राखियों । दुखको कुरा उनको अंतिम संस्कारमा जम्मा ११ जना उनका परम मित्र एंगेलस, दुई छोरी, दुई जवाई र अरु ६ साथीहरू मात्र थिए । यस बेला एंगेल्सले अति भावपूर्ण श्रद्धाञ्जली दिँदै भनेका थिए – “कार्ल मार्क्सको नाम यूगौयुगसम्म अमर रहने छ, त्यसरी नै उनको कार्य पनि।“
पछि सन् १९५६मा ग्रेट ब्रिटेनको कम्युनिष्ट पार्टीले प्रसिद्ध मूर्तिकार लरेन्स ब्राडशालाई ठूलो अर्धकदको मूर्ति डिजाइन गर्न लगाई हाईगेटको पूर्वी भागको महत्वपूर्ण स्थानमा सारिएको छ । यसको तत्कालीन महासचिव ह्यारी पोलिटकोले एक समारोहमा अनावरण गरेका थिए । यस स्मारकले कार्ल मार्क्स, उनकी अतिप्रिय श्रीमती जेनी भोन वेस्टफालेन र उनको परिवारका अन्य सदस्यहरूको सम्झना गराउँदछ।
चिहानमा मार्क्सको ठूलो अर्ध-प्रतिमा मार्वल स्तम्भमा राखिएको छ। स्तम्भमा मार्क्सका कृतिहरूबाट उद्धरणहरू कुँदिएका छन् । यसको सम्पूर्ण आर्थिक खर्च ग्रेटब्रिटेनको कम्युनिष्ट पार्टीले ब्यवस्था गरेको थियो ।
शालिकको अग्रभागको सिरानमा कम्युनिष्ट घोषणापत्रमा उल्लेख भएको मूल नारा WORKERS OF THE ALL LANDS UNITE- KARL MARKS कुँदिएको छ । त्यसको मुनि JENNY VON WESTPHATEN The beloved wife of Karl Marks जन्म: फेब्रुअरी १२, १८१४, मृत्यु: दिसंबर २, १८८१ लेखिएको छ । यसरिनै यो मुनि मार्क्सको जन्म मृत्यु तिथि लेखिएको छ । र तल मार्क्सको प्रसिद्ध भनाई “दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले व्याख्या मात्र गरेका छन्; तर, मुख्य कुरा यसलाई परिवर्तन गर्नु हो।”
The philosophers have only interpreted the world in various ways; the point, however, is to change it.
यसको निर्माण भएदेखि, मार्क्सवादी सिद्धान्तका अनुयायीहरूको लागि यो स्थल तीर्थस्थल र विरोधीहरूको लागि भने ठूलो टाउको दुखाइको विषय बनेको छ । यसले १९७०को दशकमा यसलाई तोडफोड र बम आक्रमणहरू भोग्नु परेको थियो। यो अति विशिष्ट श्रेणिको संरचना मानिएको छ । अहिले "असाधारण चासो"को रुपमा पर्ने संरचनाहरूको लागि आरक्षित उच्चतम सूची भित्र यो पर्दछ।
लण्डन पुग्ने हामी जस्ताको लागि १० पाउण्ड प्रवेश शुल्क तिरेर भए पनि हाईगेटको चिहानमा पुगि मार्क्सको शालिकमा फूल चढाउने र तस्वीर खिचाउने रहर नै छ । मलाई पनि गतवर्ष २०२४को हिउँदतिर बेलायत पुगेको बेला मेरी कान्छी छोरीज्वाइ ज्ञानेन्द्र रानाको सहयोगमा महान दार्शनिक गुरु कार्ल मार्क्सको शालिकमा पुगि तस्वीर खिचाउने अवसर जूरेको थियो ।
सन् १९९९ मा बीबीसीले गराएको एक सर्वेक्षणमा विश्वका विगत हजार वर्ष भित्रका बहुचर्चित ब्यक्तित्वहरु मध्य डार्विन, आइन्सटाइन, न्यूटन भन्दा पनि माथि कार्ल मार्क्सको नाम रहेको कुरा बताइएको थियो । उनको विचार विश्वभरका शोषित, पीड़ित, अन्यायमा परेका निमुखा, सीमांतकृत भुईंमान्छेहरुका निमित्त एउटा उज्यालो भरोसाको प्रेरणादायी किरण बनिरहेको छ।
शरणबिक्रम मल्ल